प्रमुख समाचार

पीएसजीको च्याम्पियन्स लिग सपना

इकागज |
बैशाख २, २०७८ बिहीबार ६:४३ बजे

काठमाडौँ : पेरिस सेन्ट जर्मेन (पीएसजी) सन् २०१२/१३ यता प्रत्येक सिजन च्याम्पियन्स लिगमा छनौट हुँदै आएको छ । गत सिजन त फाइनलसम्मै पुग्यो । त्यसअघिका तीन सिजन भने पीएसजी अन्तिम १६ बाटै बाहिरिएको थियो ।

कतारले स्वामित्व लिएपछि पीएसजीले सरुवा बजारमा ठूलो रकम खर्च गरेको छ । तर ठूलो खर्चको बावजुद पीएसजीले आफूलाई युरोपियन क्लब फुटबलको शत्ति बनाउन सकेको छैन । यस पटकको च्याम्पियन्स लिगमा भने पीएसजीले राम्रो संकेत दिएको छ । बलियो बायर्न म्युनिखलाई क्वार्टरफाइनलमा हराएर ।  


गत सिजन पनि पीएसजी र बायर्नको भेट भएको थियो । लिस्बनको त्यस च्याम्पियन्स लिग फाइनलमा पीएसजी निराश बन्यो । यस पटक पीएसजीले बदला लियो । अन्तिम आठमा । डिफेन्डिङ च्याम्पियन बायर्नलाई हराउँदा पीएसजीको नेतृत्वकर्ता बने माउरिसियो पोचेटिनो । 

टोटनहमबाट बर्खास्त भएका अर्जेन्टिनियन पोचेटिनोको प्रशिक्षणमा पीएसजीले पहिलो लेगमा ३-२ को जित दर्ता गर्‍यो । दोस्रो लेगमा बुधबार १-० को हार ब्यर्होयो । संयोगले गोल गर्ने खेलाडी थिए कुनैबेला पीएसजीबाटै खेलेका एरिक म्याक्सिम चोपु मोटिङ । 

पछिल्ला सिजनहरूमा पीएसजी ठूला क्लबविरुद्ध खेल्दा दबाबमा रहन्थ्यो । यस सिजन भने पीएसजी निर्णायक क्षणमा पनि सम्हालिएको देखियो । पीएसजीले च्याम्पियन्स लिगमा पहिलो लेगमा प्राप्त अग्रता खेर फालेको इतिहास छ । ‘अवे’ गोलका आधारमा प्रतियोगिताको नकआउट चरणबाट बाहिरिएको छ । एकपटक होइन, बारम्बार ।

सन् २०१४ मा चेल्सीविरुद्धको क्वार्टर-फाइनल । सन् २०१७ मा बार्सिलोनासँग अन्तिम १६ को दोस्रो लेगमा ब्यहोरेको ६-१ को हार । दुई वर्षपछि म्यानचेस्टर युनाइटेडसँगको पराजय । यसपटक भने पीएसजीले गल्ती दोहोर्‍याएन । कप्तान तथा रक्षक मार्किनयोस र प्रभावशाली मिडफिल्डर मार्को भेराटीको अनुपस्थितीमा पनि पीएसजीले बायर्नलाई एक भन्दा बढी गोल गर्न दिएन । 

पीएसजी उपाधितर्फ लम्कनु कतारी लगानीकर्ताका लागि सुखद खबर हो । किनकि पीएसजीले च्याम्पियन्स लिग जित्नु कतारीले लगानीको प्रतिफल पाउनु हो । फ्रेन्च लिग वान त पीएसजीले लगातार जित्दै आइरहेकै छ ।

अब सेमी-फाइनलमा पीएसजीले म्यानचेस्टर सिटी वा बोरुसिया डर्टमन्डको सामना गर्नेछ । अन्तिम चारमा स्थान पक्का गरेको पीएसजीसँग फेरि पनि च्याम्पियन्स लिग उपाधिमाथि आफ्नो दाबेदारिता प्रस्तुत गर्ने मौका छ । पीएसजी उपाधितर्फ लम्कनु कतारी लगानीकर्ताका लागि सुखद खबर हो । किन की पीएसजीले च्याम्पियन्स लिग जित्नु कतारीले लगानीको प्रतिफल पाउनु हो । फ्रेन्च लिग वान त पीएसजीले पछिल्ला सात सिजनदेखि लगातार जित्दै आइरहेकै छ नि । 

बायर्नलाई हराउनु अघि पीएसजीले अन्तिम १६ मा बार्सिलोनालाई पन्छाएको थियो । त्यो पनि बार्सिलोनाकै मैदानमा भएको पहिलो लेगमा चार गोल गरेर । बार्सिलोनाले दुबै लेगमा गरी जम्मा दुई गोल मात्रै गर्न सक्यो । ती गोल लियोनल मेस्सीको नाममा रहे । बार्सिलोनालाई समग्रमा ५-२ ले हराएर पएिसजीले बदला त लियो नै, सन्देश पनि दियो । यसपटक मानसिकता फरक छ भनेर । समूह चरणमा पीएसजीले युनाइटेडलाई हराएर त्यसको छनक दिइसकेको थियो । 

ठूला क्लबहरूलाई पराजित गरे पनि पीएसजी च्याम्पियन्स लिग उपाधि दाबेदार भइनसकेको दाबी छ, पोचेटिनोको । ‘हो हामी बायर्नविरुद्धका दुबै लिग जित्न लायकका थियौँ । तर त्यसो भन्दैमा म आफ्नो टिमलाई च्याम्पियन्स लिग जित्न सकने टिमका रुपमा लिन्‍न,’ पोचेटिनाको प्रतिक्रिया थियो । 

महादेशिय प्रतियोगितामा प्रशंसा बटुलिरहे पनि घरेलु लिगमा भने पीएसजीको अवस्था सोचेअनुरुपको छैन । जारी फ्रेन्च लिग वानमा पीएसजी शीर्षस्थानको लिलभन्दा तीन अंकले पछि छ । लिगमा अब छ खेल बाँकी रहँदा पीएसजीको लगातार आठौँ पटक लिग जित्ने लक्ष्य सजिलै पुरा हुनेवाला छैन ।   

यद्यपि च्याम्पियन्स लिगमा सफल भए, पीएसजीलाई घरेलु लिगको असफलताले पिरोल्ने छैन । किनभने च्याम्पियन्स लिग जिते नेयमार र किलियान एमबाप्पेसँग पेरिस छाड्न चिक्त बुझ्दो कारण हुनेछैन । कम्तिमा पीएसजी प्रशासन यही ठान्छ ।

सन् २०१७ मा पीएसजी आएका दुबै स्टारको क्लबसँगको सम्झौँता सन् २०२२ को जुनमा सकिँदैछ । त्यसैले दुबै फरवार्ड स्पेन जाने हल्ला चल्न बन्द भएको छैन । बार्सिलोनाले नेयमारलाई फर्काउन चाहेको छ भने रियल म्याड्रिड एमबाप्पेलाई खरिद गर्न चाहन्छ । तर पीएसजी अध्यक्ष नासेर अल खेलैफी नेयमार र एमबाप्पेले पीएसजी छाड्नु पर्ने कारण देख्दैनन् । ‘हामीसँग च्याम्पियन्स लिग जित्न बलियो टिम छ । पर्याप्त स्रोत छ । यस्तो अवस्थामा नेयमार र एमबाप्पेले पीएसजी किन छाड्नु पर्‍यो?’ खेलैफीको प्रश्न छ ।


Author

थप समाचार
x