प्रमुख समाचार

कर्णाली प्रदेश अस्पताल संघ मातहत लैजाने तयारी

लक्ष्मी भण्डारी |
जेठ ४, २०७८ मंगलबार २१:१५ बजे

सुर्खेत : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुर्खेत प्रादेशिक अस्पताललाई संघअन्तर्गत राख्‍न मन्त्रिपरिषद्‍मा प्रस्ताव लैजाने भएको छ । मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपतकालीन कार्यसञ्‍चालन केन्द्रको सोमबार बसेको बैठकले मन्त्रिपरिषद्‍मा प्रस्ताव लैजाने निर्णय गरेको हो ।

केही दिनअघि सुर्खेत प्रादेशिक अस्पतालका निर्देशक डा. डम्बर खड्काले अक्सिजनको कमि भएको भन्दैं नयाँ बिरामी भर्ना नलिने सार्वजनिक सूचना जारी गरेका थिए । सो सूचनाको चौतर्फी आलोचना भएको थियो । 


त्यसैगरी बैठकले अस्पतालहरूले बिरामीलाई अक्सिजन लिएर आउने भएमात्रै उपचार गर्ने कबुलियतनामा गराउने गरेको जानकारी आएको भन्दै त्यस्तो कार्य नगर्न र गरेको पाइएमा नियमानुसार कारबाही गर्ने सार्वजनिक सूचना जारी गर्ने निर्णय पनि गरेको छ ।

प्रदेश सरकार गठन भएलगत्तै संघको मातहतमा रहेको अस्पताल प्रदेश सरकारको मातहतमा आएको थियो । प्रदेशको सबैभन्दा ठूलो अस्पताल केन्द्र सरकार मातहत लैजाने निर्णयलाई कर्णालीबासीले ‘संघीयताविरोधी’ भन्दै सामाजिक सञ्‍जालमा विरोध जनाएका छन् । कतिपयले भने यसलाई स्वागतयोग्य काम भएको प्रतिक्रिया दिएका छन् ।  

कर्णाली प्रदेश एमाले संसदीय दलका नेता यामलाल कँडेलले संघ मातहतमा रहेको क्षेत्रीय अस्पताललाई प्रदेश मातहतमा ल्याउन मेहनत गरेर ल्याएको भन्दै कर्णाली सरकारको उदासिनताको कारण संघले आफ्नो मातहतमा लाने प्रक्रिया सुरुवात गर्न लागेको बताए ।

अस्पतालका व्यवस्थापन समितिका पूर्व सदस्य हरिमाया शर्माले संघियता विरोधी काम भएको बताउँछिन् । अस्पताल प्रदेशकै मातहतमा हुनुपर्ने उनको भनाइ छ ।


Author

थप समाचार
x