प्रमुख समाचार

यादव हत्यामा संलग्‍न भएको आरोपमा पाँच युवा पक्राउ

इकागज |
जेठ २७, २०७८ बिहीबार १४:३८ बजे

बुटवल : रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका-४ मनौराका ३५ वर्षीय महेन्द्र यादवको हत्यामा संलग्‍न रहेको आरोपमा पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुपन्देहीको लुम्‍बिनी सांस्कृतिक नगरपालिका-४ मनौराका २२ वर्षीय बलजित पासी, सोही स्थानका ३० वर्षीय दुर्गेश पासवान, २४ वर्षीय राकेश यादव, २० वर्षीय संजय पासी र २३ वर्षीय सर्वजित विश्‍वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले जनाएको छ ।

२३ जेठको बिहान साढे ६ बजे मनौरा बन्दरगढबाट यादवको हत्या गरेको अवस्थामा शव फेला परेको थियो । घटनाबारे सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक रबिन्द्र महतको कमाण्डमा खटिएको टोलीले टाउको, छाती, घाटी र गुप्तांगमा धारिलो हतियार प्रहारबाट अनुहार र टाउकोसमेत रगतले लतपतिएको अवस्थामा शव फेला परेको थियो ।


घटनाको अनुसन्धान गर्ने क्रममा पक्राउ परेका आरोपितहरूले पुरानो रिसइबीको कारण बदला लिने सोचका कारण योजनाबद्ध रूपले यादवलाई उनकै गाउँमा हत्या गरी खेतमा लगि फालेको भन्‍ने प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका निमित्त प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक भाष्कर चन्दले बताए । चन्दका अनुसार यादवको जेठ २२ गते राती साढे १२ बजे हत्या भएको थियो ।

जेठ २५ गते मंगलबार नियन्त्रणमा लिइएका पाँच जना प्रतिवादीलाई बुधबार रुपन्देही जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा १० दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको उनले जानकारी दिए । हत्यामा प्रयोग भएको धारिलो हतियार (फलामको दाउ) १ थान, पानी तान्‍ने चापाकलको ह्याण्डर (हत्ता) १ थान र हत्यामा प्रयोग भएको हरियो बाँसको घारा १ थान समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।


Author

थप समाचार
x