प्रमुख समाचार

लालु ल्हासाको 'फोक्सो'

अजय अलौकिक |
असार ९, २०७८ बुधबार ६:५२ बजे

ल्हासा : बौद्ध संस्कृति तथा प्रकृतिमा धनी तिब्बतको सदरमुकाम सहर ल्हासाको बीचमा एउटा राष्ट्रिय प्रकृति आरक्षण क्षेत्र अवस्थित छ । यो सहरबस्ती भित्रको विश्वकै सबैभन्दा ठूलो तथा उच्च भागमा अवस्थित सिमसार आरक्षण क्षेत्र पनि हो । समुद्री सतहबाट औसत ३,६४५ मिटरको उचाइमा रहेको यसले ल्हासा सहरको १,२२० हेक्टर क्षेत्रफल ओगटेको छ । 

सिमसार एउटा उत्पादनशील पारिस्थिकीय प्रणाली हो । साथै सिमसारले जल परिचालन तथा शुद्धीकरण प्रकिया चालिरहेको हुन्छ । ल्हासा सहरभित्र अवस्थित यो सिमसार क्षेत्रले ल्हासाको मौसम नियमन गर्दै स्वच्छ बनाउन र बालुवाको संरक्षण गर्दै सुन्दर शहरी वातावरण बनाउन सहयोग गरिरहेको छ । उच्च स्थानमा अवस्थित ल्हासामा आद्रर्ता बढाउन, अक्सिजनको पूर्ति गर्न र पर्यावरणीय सन्तुलन कायम गर्न यसको ठूलो महत्त्व छ । यसैकारण यस लालु राष्ट्रिय प्रकृति आरक्षण क्षेत्रलाई ल्हासाको 'फोक्सो' मानिन्छ । 


तिब्बत स्वायत्त प्रदेशीय सरकारले यस क्षेत्रको संरक्षणका लागि सन् १९९५ मा वृहत् कदम चालेको थियो । सन् १९९९ मा स्थानीय सरकारले लालु सिमसार क्षेत्र प्रकृति आरक्षण क्षेत्रको रूपमा विकास गरेको थियो । साथै सन् २००५ मा केन्द्र सरकारबाट यो राष्ट्रिय आरक्षणको रूपमा सूचिकृत गरिएको छ । 

सम्बन्धित अधिकारीका अनुसार, ल्हासा सहर योजना निर्माणको आरम्भकालदेखि नै स्थानीय सरकारद्वारा यस लालु सिमसार आरक्षण क्षेत्रलाई उच्च महत्त्व दिई उर्वर जमिनलाई कृषि जग्गामा परिवर्तन नगरी पर्यावरणीय र वातावरणीय संरक्षणलाई प्राथमिकता दिइएको थियो । यस क्षेत्रको निर्माण तथा संरक्षण गर्ने क्रममा वरिपरिका खानीहरू बन्द गरेको थियो । 

सन् २००१ देखि यो ल्हासाको फोक्सो यस सिमसार आरक्षण क्षेत्रमा पर्यावरणीय पुनःस्थापनाका लागि १५ करोड चिनियाँ युआनभन्दा बढी लगानी गरिसकेको छ । हाल, यस आरक्षण क्षेत्रलाई मूल, बफर र प्रयोगात्मक क्षेत्र गरी तीन भागमा विभाजन गरिएको छ । यो तेस्रो चरणको परियोजना हो । 

यो लालु सिमसारले स्थानीय तथा प्रवासी जलचरलाई एक उत्कृष्ट वास प्रदान गरेको छ र सहरभित्र ६० भन्दा बढी प्रजातिका असङ्ख्य चराको गुँड बनेको छ । यसै आरक्षण क्षेत्रभित्र सर्वसाधारणलाई खुला गरिएको एउटा पार्क क्षेत्रबाट शानदार पोताला दरबारको पछाडिको भाग पनि देख्‍न सकिन्छ । 
 


Author

थप समाचार
x