प्रमुख समाचार

सफलताको कथा

प्रहरीको जागिर छाडेर पशुपालन व्यवसायमा, वार्षिक १५ लाखसम्म आम्दानी

कृषि र पशुपालनमा युवाले क्रान्ति ल्याउने विश्वास

विष्णु विश्‍वकर्मा |
असार १४, २०७८ सोमबार २१:५ बजे

काठमाडौँ : स्कुल पढ्दा धेरैको सपना हुन्छ, देशको सेवा गर्ने । देशका लागि लड्ने । देशको नाम चिनाउने । आफ्नो नाम सारा संसारमा फैलाउने ।

सपना जति मीठो हुन्छ । प्रिय हुन्छ । त्यसलाई प्राप्त गर्न त्यत्तिकै कठिन संघर्ष पनि गर्नुपर्छ । रामेछापको लालबहादुर माझीको सपना पनि यस्तै प्रिय थियो । त्यसमाथि बुवा ‘इन्डियन’ लाहुरे । रगतमै देशका लागि लड्ने बुवाको ‘जीन’ छदैँ थियो । अब सपना, सपना मात्रै रहेन । 


२०६३ सालमा नेपाल फिरेपछि लालबहादुर नेपाल प्रहरीमा भर्ना भए । त्यो समयमा सशस्त्र द्वन्द्वका कारण प्रहरीमा भर्ना खुल्थ्यो । भर्ना हुन सजिलो पनि थियो । हुन त लालबहादुरमा कमी नै के थियो र ?
खाइलाग्दो ज्यान देशको सेवामा समर्पण गर्ने उनको सपना विपनामा परिणत भयो । सशस्त्र द्वन्द्व पनि सकिएको थियो । ढुक्कले देशको सेवा गर्ने लालबहादुरले प्रण गरे । सकेको गरे पनि ।

देश र जनताको सुरक्षाका लागि ज्यान फाले । तर सुरक्षाकर्मीको पीडा कहाँ कम छ र ? कसले बुझिदिन्छ ? त्यसमाथि ज्याँदै न्यून तलब । महिनाभरको तलबले राम्रोसँग परिवार पाल्न पनि हम्मेहम्मे ।

त्यसपछि लालबहादुरको देशको सेवा गर्ने प्रण कमजोर बन्यो । रहर भए पनि पेट पाल्न गाह्रो भएपछि उनको मनमा निराशा छायो । बन्दुक बोकेर देशको सेवा गरे पनि परिवारको सेवा गर्न गाह्रो थियो । त्यसमाथि महंगी । अचाक्ली महंगी । परिवार बढ्दै गयो । आवश्यकता थपिदै गयो । 

एकदिन लालबहादुरलाई लाग्यो, यसरी जिन्दगी चल्दैन । चलोस् पनि कसरी ? २०/२५ हजारको तलबले ३० दिनको छाक मात्रै टारिन्थ्यो । जीउमा च्यातिएको कपडा टाल्न गाह्रो ।

लालबहादुरले राजीनामा पत्र लेखे । दुई चार दिन त गोजीमै राखे । बुझाउने कि नबुझाउने ? दुःखले खाएको जागिर फेरि पाइने हो कि नाई ? 

अलमलमै बित्यो सात दिन । त्यसपछि उनले हिम्मत गरे । राजीनामा पत्र गोजीबाट निकाले । हाकिमको टेबलुमा राखे । नेपाल प्रहरीको बर्दी खोले । बन्दुक बिसाए । घरतिर लागे ।

२०७१ सालमा प्रहरीको जागिर छाडेका लालबहादुरलाई सुरुमा अलमलै थियो । केही वर्ष अलमलमै बिते । विस्तारै सोचे, गाउँघर प्यारो लाग्‍नेलाई कृषि र पशुपालन व्यवसाय राम्रै होला । 

‘दुःख धेरै, पैसा थोरै । त्यही भएर जागिर छाडेको थिए’ उनले भने, ‘तर के गर्ने ? भनेर सुरुमा अलमलमा परे । पछि बंगुर पाल्ने आइडियो आयो ।’

जागिर छाड्दा उनको गोजी गरम थियो । अलिकति पैसा जोगाएकै थिए । १० वटा बंगुर किने । त्यसका लागि पहिल्यै खोर बनाएका थिए । रामेछाप घर भएका उनी बंगुरपालनका लागि सिन्धुलीको खुर्कोट पुगे । उसो त उनी पहिल्यैदेखि खुर्कोट बस्थे । 

खोरमा बंगुर हाले । दाना किने । यो उनका लागि विशुद्ध नौलो व्यवसाय थियो । अनुभव नभएको व्यवसाय गरे जोखिम हुन्छ । क्षति पनि व्यहोर्नुपर्छ । यो उनले थाहा पाएका थिएनन् ।

तर आफैले भोगे । बंगुरपालन सुरु गरेको दुई महिनामै दुई वटा मरे । एउटा बिरामी परेर । एउटा हावापानी नमिलेर । झण्डै १० लाखमा बंगुर किनेर सुरु गरेको व्यवसायमा पहिलो गासमै ढुंगा लाग्यो । दाना ल्याउन धरान पुग्‍नुपर्थ्यो । बंगुर बिरामी भए छटपटी हुन्थ्यो ।

उनले हार खाएनन् । बाँकी आठ वटाले बच्चा जन्माए । माउ र पाठापाठीको राम्रोसँग हेरचाह गरे । उनको व्यवसाय फस्टायो । काम थपियो । एक्लैलाई हम्मे हम्मे नै परेपछि मान्छे राखे । २०७५ सालदेखि थालेको उनको व्यवसायबाट अहिले तीन जनाले रोजगारी पाएका छन् । वार्षिक खर्च कटाएर १५ लाख बराबर आम्दानी हुन्छ । अहिले उनी बंगुरपालन व्यवसायबाट खुशी मात्रै छैनन् । मनग्य आम्दानी हुँदा दंग पनि छन् ।

‘जागिर छाडेपछि के कसो हुने हो ? अन्यौल थियो’ व्यवसाय फस्टाएपछिको खुशी बाँड्दै उनले भने, ‘गरेपछि राम्रो हुने रहेछ । गरेको लगानी खेर गएको छैन । बरु फाइदै भएको छ । काम गरे राम्रै हुन्छ । पैसो कमाइन्छ भन्‍ने कुरा सिकेको छु ।’

अनुदानले प्रोत्साहन, व्यवसायमा सफलता

उनी आफ्नो साहसले व्यवसायमा जोडिए । सुरु पनि गरे । तर सफल हुने नहुने उनको हातमा थियो । भाग्यमा थिएन । उनले कर्म गर्ने हातलाई विश्वास गरे । त्यसमा सही थाप्‍ने काम सरकारले पनि गरिदियो ।

उनले अनुदान पाइन्छ भन्‍ने सुनेका थिए । लिएका थिएनन् । व्यवसाय सुरु गरेपछि बागमती प्रदेश सरकारसँग अनुरोध गरे । बागमती प्रदेश सरकारको कृषि मन्त्रालय अन्तर्गतको बंगुरपालन विकास तथा विस्तार कार्यक्रमबाट पाँच लाख अनुदान पाए ।

उनले सजिलै पाउँछु भन्‍नेमा विश्‍वास गरेका थिएनन् । तर व्यवसाय गरेको सबै कागजात पेश गरेपछि पाए । धेरै भनसुन गर्नुपरेन । उनलाई व्यवसायमा आँट मिल्यो । परिश्रम गर्न बल पुग्यो । बंगुरपालन फस्टायो । त्यही व्यवसायबाट उनले भैँसी व्यवसाय पनि सुरु गरे । 

बंगुरकै नजिक फार्म बनाएर बाख्रा पाल्न पनि थाले । हाँस पनि थपे । व्यवसाय झन् फस्टायो । कृषि अनुदानले व्यवसाय गर्न आँट पलाउने उनको विश्‍वास छ । तर यसका लागि सही किसानले अनुदान पाउनुपर्छ ।

‘अनुदान पाइन्छ भन्‍ने सुनेको थिए । तर पाएको थिएन । एकपटक प्रयास गरेपछि मिल्यो’ उनले भने, ‘धेरै आलोचित र विवादित बनेको भएपनि अनुदान पाएपछि मलाई व्यवसाय गर्न आँट मिल्यो । यो राम्रो कुरा रहेछ । तर सही किसानले अनुदान पाउनुपर्छ ।’

खुर्कोटमा राम्रो व्यवसाय गरिरहेका माझीले अहिले होटल पनि सुरु गरेका छन् । लकडाउनले गर्दा होटल व्यवसाय राम्रो नचले पनि यसले विस्तारै गति लिने उनको विश्‍वास छ । बंगुर, बाख्रा, भैँसी, केही हाँस तथा कुखुरा पालन व्यवसायबाट उनको आम्दानी अहिले लाखौ हुन्छ । त्यसमाथि होटल पनि थापेका छन् । होटल राम्रोसँग चलेमा उनी  वार्षिक आधा करोड बराबरको कारोबार गर्ने सुरमा छन् । 

जागिरको भर पर्नुभन्दा व्यवसाय गरेमा आम्दानी मात्रै नभई आफ्नो आवश्यकता र अरुलाई रोजगारी दिन सकिने पाठ पनि माझीले सिकेका छन् । तर यसका लागि सरकारले अनुदान वितरण प्रक्रिया पारदर्शी गर्नुपर्ने उनको सुझाव छ ।

‘जागिरभन्दा व्यवसाय राम्रो । तर सुरुमा गाह्रो पर्छ’ व्यवसाय गर्दाका चुनौति र अवसरबारे  सारमा उनले भने, ‘सरकारले अनुदान दिएर सहज गर्नुपर्छ । तर त्यसका लागि पारदर्शी र सहज प्रक्रिया चाहिन्छ । भनसुन गर्नुपर्ने, कमिसन खुवाउनुपर्ने, नाताको हुनुपर्ने प्रवृत्तिको अन्त्य गरेपछि युवाहरु कृषि तथा पशुपालन व्यवसायमा क्रान्ति ल्याउन सक्छन् ।’


 


Author

थप समाचार
x