प्रमुख समाचार

‘कर्णालीका ६० प्रतिशत जनप्रतिनिधि एकीकृत समाजवादीमा’

लक्ष्मी भण्डारी |
भदौ १२, २०७८ शनिबार २०:२९ बजे

सुर्खेत – कर्णाली प्रदेशका स्थानीय तहका अधिकांश जनप्रतिनिधिले आफूहरू माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा रहेको बताएका छन् । कर्णाली प्रदेशका अधिकाश गाउँपालिका, वडा र नगरपालिकाका जनप्रतिनिधिहरू नेपाल नेतृत्वको एस पार्टीमा खुलेसँगै कर्णालीमा एसको उपस्थिति सफल रहेको उनीहरूको दाबी छ ।

जिल्ला तहका धेरैजसो नेता र कार्यकर्तासमेत एसमै खुलेसँगै आफूहरूमा उत्साह बढेको उनीहरू बताउँछन् । प्रदेशका करिब ६० प्रतिशत जनप्रतिनिधि एसमा खुल्ने कर्णालीका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री अम्मरबहादुर थापाको दाबी छ । ‘प्रदेशका कमरेडहरू नयाँ पार्टीमा खुल्ने क्रम बढेको छ’ मन्त्री थापाले भने, ‘एमालेले जितेका स्थानीय तहमध्ये ६० प्रतिशतभन्दा बढी हाम्रो पार्टीमा आउनुहुने देखिन्छ, त्यो भन्दा कमी हुँदैन ।’ उनले एस पार्टीमा आउनेको यकीन संख्या भने दुई सातापछि मात्र पत्ता लाग्ने बताए ।


कर्णालीका १० जिल्लामध्ये पाँच जिल्लामा एकीकृत समाजवादीको संख्या बढी हुने अनुमान गरिएको प्रदेश सांसद एवम् एसका केन्द्रीय सदस्य देवी वलीले बताइन् । कर्णालीको कालिकोट, डोल्पा, जुम्ला, रुकुम (पश्चिम) र मुगुमा नयाँ पार्टीमा आउने संख्या बढ्ने उनको भनाइ छ । धेरैजसो जिल्लामा नयाँ पार्टीको प्रभाव पर्ने अनुमान गरिएको उनले बताइन् । एसमा आउनका लागि कार्यकर्ताहरूको उत्साहित रहेको उनको भनाइ छ ।

‘पछिल्लो समय समाजवादीमा प्रवेश गर्नेको उत्साह देखिन्छ’ उनी भन्छिन्, ‘निर्वाचन आयोगले दल रोज्नको लागि छुट्याइएको समय २१ दिनभित्रमा समाजवादीमा धेरैभन्दा धेरै जनप्रतिनिधि, नेता र कार्यकर्ता आउनुहुनेछ ।’  

यस्तो छ कर्णालीका स्थानीय तहमा समाजवादी प्रभाव

कर्णाली प्रदेशमा ७९ वटा स्थानीय तहहरू छन् । स्थानीय तहको निर्वाचनमा २९ वटा स्थानीय तहमा एमाले विजयी भएको थियो । जसमध्ये ६० प्रतिशत स्थानीय तहका जनप्रतिनिधि समाजवादी रोज्ने दाबी गर्छन् मन्त्री थापा । उनका अनुसार दैलेखका ११ स्थानीय तहमध्ये सात वटामा एमाले विजयी भएको थियो जसमध्ये चारवटा स्थानीय तहका प्रमुख र पाँच वटा स्थानीय तहका उपप्रमुख समाजवादीमा खुलेको थापाले बताए ।

यस्तै कालिकोटमा पनि एमाले विजयी भएका अधिकांश स्थानीय तहका जनप्रतिनिधिहरू समाजवादीमा खुलेको उनको भनाइ छ । ६७ सदस्यीय जिल्ला कमिटी सदस्यमध्ये ४० जनाभन्दा बढी एकीकृत समाजवादीमा खुलेका छन् । यस्तै धेरै जनप्रतिनिधि पनि एकीकृत समाजवादीमै लागेका छन् । एमालेले जितेका तीन स्थानीय तहका अध्यक्ष एवम् उपाध्यक्ष गरी चारजना र २४ वडाध्यक्षमध्ये १३ जना एकीकृत समाजवादीमा खुलेका छन् ।

उनकाअनुसार मजंग बम, दन्त बम, होविन्द सन्ज्याल, रन रोकाया, डबल वोगटी एसमा खुलेका छन् । मनिराज बराल, गोरख शाही प्रतीक, भुपेन्द्र बम, मनिराम सिम्खाडा, ललितजंग बम, अग्रबहादुर बोगटी, कृष्णकला पाण्डे पनि एसको जिल्ला भेलामा सहभागी भएका छन् । यता कालिकोटमा फ्लोरक्रस गरेर मन्त्री भएका कुर्मराज शाहीको प्रभाव देखिएको छ । यसैगरी डोल्पा, मुगु र रुकुम (पश्चिम)मा पनि जनप्रतिनिधिको उत्साह राम्रो देखिएको समाजवादीका नेताहरूले दाबी गरेका छन् ।

दलको नेता पनि चुनिँदै 

बुधबार निर्वाचन आयोगबाट दल दर्ताको प्रमाण पत्र पाएको एसले संघीय राजधानी काठमाडौंसहित मुख्य सहरहरूमा पार्टीकेन्द्रीत कार्यक्रमलाई तीव्र पारेको छ ।शुक्रबार मात्रै एसले पाँच सदस्यीय अन्तरिम स्थायी कमिटी गठन गरेको छ भने आइतबार संसदीय दलको बैठक बसेर दलको नेता चयन गर्ने र चाँडै उपनेता, प्रमुख सचेतक, सचेतक पनि चुन्ने बताएको छ ।

तत्कालीन समयमा नेकपा एमालेभित्र विवाद रहेका बेला समानान्तर कमिटी गठन गरेका काठमाडौं, मोरङलगायतका जिल्लाका कमिटी पनि एसमा समाहित भइसकेका छन् । 


Author

थप समाचार
x