प्रमुख समाचार

वैकल्पिक राजनीतिको विवाद

दोस्रोपटक फुट्दै विवेकशील साझा

इकागज |
भदौ १७, २०७८ बिहीबार २२:५६ बजे

फाइल फोटो

काठमाडौँ : संयोजक मिलन पाण्डेले समानान्तर गतिविधि नरोके कारबाही गर्ने चेतावनी अध्यक्ष रवीन्द्र मिश्रले दिएपछि विवेकशील साझा दोस्रोपटक फुट्ने संघारमा पुगेको छ । बिहीबार संयोजक पाण्डे र अध्यक्ष मिश्रले छुट्टाछुट्टै बैठक बोलाएर फुटको प्राविधिक पक्ष मात्रै बाँकी रहेको निष्कर्ष निकालेका छन् ।

अध्यक्ष मिश्र पक्षको बैठकले समानान्तर गतिविधि नरोके पाण्डेसहितका नेताहरुलाई कारबाही गर्ने ‘धम्की’ दिएपछि फुट निश्चित भएको एक नेताले बताए । उनका अनुसार मिश्रले नै मिल्ने सम्भावना कम हुँदै गएकाले अब पार्टी फुटाएर आ-आफ्नो बाटो लाग्नुपर्ने बताइसकेका छन् । सोही अनुसार पछिल्लो गतिविधि भइरहेको पनि ती नेताले दाबी गरे ।


‘पार्टी एकता भएको नौ महिनासम्म त्यस्तो कुनै उपलब्धी र सैद्धान्तिक सहमति भएको छैन,’ उनले नाम नखुलाईदिन आग्रह गर्दै इकागजसँग भने, ‘मिश्रजीले पेल्दै पेल्दै सँगै बस्नै नसक्ने अवस्था ल्याएपछि अब हामी पनि बाध्य भएर आफ्नो पक्षको बैठक गर्न थालेका हौँ । सम्भवतः दोस्रो फुटको प्राविधिक पक्ष मात्रै बाँकी छ । सैद्धान्तिक रुपमा पार्टी फुटिसकेको छ ।’

बिहीबार बसेको मिश्र पक्षको बैठकले संयोजक मिलन पाण्डेलाई पार्टी हित विपरीतका गतिविधि रोक्न निर्देशन दिएको छ । बैठकपछि पनि ती गतिविधि नरोकिए संयोजक पाण्डेसहितका केही नेताहरुलाई तत्कालै कारबाही गर्ने विषयमा छलफल समेत भइसकेको छ । तर पार्टी एकताको सम्भावना बाँकी राख्न मात्रै कारबाही नगरिएको बताइएको छ । 

यस्तै अध्यक्ष मिश्र पक्षको बैठकले पार्टीको केन्द्रीय समितिको अर्को बैठकमा असन्तुष्ट सदस्यहरूलाई पनि सहभागी गराउन प्रयास गर्ने निर्णय गरेको छ भने केन्द्रीय समिति बैठक सञ्चालन कार्यविधिको मस्यौदा पनि पेश गर्ने तयारी छ । 

दुई पार्टीबीच बैठक सञ्चालन कार्यविधिको मस्यौदाकै विषयमा पनि विवाद छ । पार्टी एकतापछिका नौ महिना अध्यक्ष मिश्रकै मनोमानीमा बैठक बसिरहेकाले सैद्धान्तिक रुपमा एकताको मर्म पनि बाँकी नरहेको पाण्डे पक्षको दाबी छ । पाण्डे पक्षका नेता हरिश भट्टले पार्टी एकताको भविष्य अध्यक्ष मिश्रकै कार्यशैली र व्यवहारमा निर्भर रहेको बताए ।

‘सैद्धान्तिक रुपमा विगतदेखि नै धेरै कुरामा सहमति हुन सकेको छैन’ उनले भने, ‘अब प्राविधिक रुपमा पनि मिल्न कठिनाई देखिएपछि भन्न सकिन्न । हामी एकता होस भन्ने चाहन्छौँ ।’

पार्टीमा रहेको आन्तरिक कलह मिलाउन पाण्डे पक्षले न्याय तथा सुशासन आयोग गठन गर्ने निर्णय गरेको छ । तर त्यसप्रति मिश्र पक्षको चर्को आपत्ति छ । आयोग गठन गरे अध्यक्षविरुद्ध नै उजुरी पर्ने र छानबिन गर्नुपर्ने भएकाले त्यता जान नहुने मिश्र पक्षको भनाइ छ ।

पार्टी एकता गर्ने, विवाद समाधान गर्नेभन्दा वैकल्पिक राजनीतिलाई नै ओझेलमा पारेर आफ्नो एजेन्डा मात्रै लाद्ने रणनीति मिश्रले लिएकाले दोस्रो विभाजनतर्फ पार्टी उन्मुख भएको नेताहरुको भनाइ छ । यद्यपि, विवाद समाधान गरेर सहमतिको प्रयास गरिने मिश्र र पाण्डे पक्षको भनाइ छ ।

यता मिश्र पक्षले गरेका बैठकका निर्णय सार्वजनिक गर्दै प्रवक्ता शरदराज पाठक समानान्तर गतिविधि नरोके कारबाही गर्ने पार्टीले निर्णय गरिसकेको बताए । 

‘अवैध र समानान्तर गतिविधि सञ्चालन गर्दै पार्टी हित विपरीतका क्रियाकलापमा संलग्न केन्द्रीय सदस्यहरूलाई त्यस्ता गतिविधि तत्काल रोक्न बैठकले कडा निर्देशन दिएको छ,’ उनले भने, ‘त्यस्ता कदम तत्काल नरोकिए केन्द्रीय समितिले आवश्यक कारबाही गर्ने निर्णय गरेको छ।’

यसअघि २०७५ सालमा पनि पार्टी एकता गरेको १५ महिनापछि विवेकशील साझा फुटेको थियो । 


Author

थप समाचार
x