प्रमुख समाचार

त्रिवि शिक्षण अस्पतालको भुईमा बिरामी

हुन्डरी काँडाले घोचेको घाउ काठमाडौँको अस्पतालले दुखायो

अतिन आचार्य |
भदौ २२, २०७८ मंगलबार २१:६ बजे

काठमाडौँ - बालुवाटारबाट करिब एक किलोमिटर टाढा छ, त्रिवि शिक्षण अस्पताल । बालुवाटारमा सत्ता गठबन्धन र मन्त्रीपरिषद बिस्तारको बैठक चलिरहन्छ । तर छेवैमा रहेको अस्पतालमा उपचार गर्न आएकाहरूको अवस्था जान्‍न सरकारको कहिलै बैठक बस्दैन । उनीहरूको प्राथमिकतामा बिरामी र अस्पताल पर्दैनन् । 
अझ सरकारलाई दूरदराजमा उपचार नपाइ बसेका बिरामीका दु:खमा त झनै चासो छैन । किनभने त्यहाँ कार्यकर्ता भन्दा बढी जनता बिरामी भएका हुन्छन् । जनता भन्दा बढी सरकारलाई कार्यकर्ताको जरुरी हुन्छ । जनता श्रम बगाउन खेतबारी जान्छन तर कार्यकर्ता झण्डा बोकी सडकमा टायर बाल्न साथ दिन्छन् । 

ग्रामीण भेगमा अस्पताल स्थापना नहुँदा उपत्यका बाहिरका मानिसहरू उपचार गर्न दुःखदायी यात्रा गरेर आउन बाध्य छन् । यात्रामा मात्रा सास्ती छैन । अस्पतालको गेट प्रवेश गरेदेखि उनीहरूलाई दुःखले निम्तो दिन थाल्छन् । लमजुङको नौथर गाउँपालिकामा सुविधा सम्पन्‍न अस्पताल भएको दुई महिना अघि च्याङ्ग्री सार्की महाराजगञ्‍जको त्रिवि शिक्षण अस्पतालमा आउँदैन थिए । ६७ वर्षीय सार्की बाँया खुट्टाको दुई वटा औंला काट्न अस्पतालमा ४ सय नम्बरको बेडमा भर्ना भएका थिए । अहिले भने उनी अस्पतालको बेडमा होइन, चिसो भुँईमा रात काट्न बाध्य छन् ।


खुट्टाको शल्यक्रिया गरेर घर फर्केका सार्की अस्पताल आउँदा बेड नपाएर अस्पतालको टिकट काउण्टरको अगाडि सोमबार राती चिसो भुँइमा सुते । पहिलोपटक खुट्टाको शल्यक्रिया गर्न आए जस्तो गरेर फेरि काठमाडौँ आए तर उनले अस्पतालमा बेड पाएनन् । अस्पतालमा उपचार मात्र होइन सास्ती पनि उत्तिकै पाएका छन् ।

सोमबार बिहान सार्की अस्पताल परिसरमा छिरे तर दुई महिना अगाडि उपचार गर्दा सुतेको बेड र डाक्टरसमेत पाएनन् । उनी खुटामा लगाएको ब्यान्डेज खोल्न र नियमित परीक्षण गर्न आएका थिए । '‌ओपीडीमा परीक्षण गर्न जाँदा शल्यक्रिया गरेको डाक्टर बाहिर जानु भएकाले मेरो तत्कालै उपचार हुँदैन भन्ने जवाफ पाएँ,' उनले भने ।

सार्कीको जीवनमा परिवार मात्र सहारा छैनन् । अहिले उनका लागि अतिरिक्त सहाराका वैशाखी पनि थपिएको छ । उनले दुई वटा वैशाखी लिएर हिंडन थालेको दुई महिना भयो । छिमेकीलाई सहयोग गर्न जाँदा बाटोमा सार्कीको खुट्टामा काँडा बिझेको थियो । आफू जस्तै वृद्ध थिए उनका छिमेकी । दुःखीको सहारा दुःखी हुन्छ भने जस्तै छिमेकीलाई सहयोग गर्न गएका थिए ।

काँडा बिझेको एक सातामा उनको दुखाइ कडा हुँदै गयो । दुखाई सामान्य भएकाले उनले वास्ता गरेनन् । हुन्डरी काँडा एकदम विषालु भएकाले बाँया खुट्टाको साइली र कान्छी औलामा च्याङग्रीलाई असर गर्‍यो ।

सार्की उपचार गर्न यसपटक दुई जना बुहारीसँग आएका छन् । जेठी र कान्छी बुहारीको साथमा आएका उनले चिसो भुँइमा रात कटाए पनि मध्यान्हमा भने फलामे बेञ्‍चमा बसेका छन् । गाउँबाट आएको पहिलो दिन उनले अप्रेसन गर्ने डाक्टर नभएको थाहा पाए । कहिलेसम्म चिसो भुँइमा सुत्‍नुपर्ने हो उनलाई थाहा छैन ।

'बुहारी अस्पतालमा सोध्‍न गएका छन, अस्पतालले बेड भर्ना नलिएमा पुनः भुइँमा सुत्‍नुपर्ने बाध्यता छ,' सार्कीले भने,' बिहान होटलबाट ल्याएको खाना खाएँ । बेलुका रोटी खाएँ ।'

यतिखेर अस्पतालमा सार्कीको उपचारमा संलग्‍न मुख्य डाक्टर छैनन् । उनका सहयोगीले हेरेर उपचारको प्रक्रिया अगाडि नबढाएकोमा उनले गुनासो गरे । अस्पतालले वास्ता नगर्दा सार्कीको उपचार प्रक्रिया अगाडि बढेको छैन । उनको उपचार प्रक्रिया अगाडि नबढ्दा पुनः भुँईमा सुत्‍नुपर्ने बाध्यताले उनलाई पछयाउने छ ।

खुट्टाको मात्र शल्यक्रिया गरेको भए पनि च्याङग्रीलाई केही हुँदैन थियो । खुट्टाको औला काटेसँगै उनलाई मधुमेहले पनि च्याप्‍न थालेको छ । मधुमेहका कारण अप्रशेन गरेको घाउ छिटो निको हुन नसकेको उनको भनाइ छ ।

लमजुङको प्राथमिक अस्पतालदेखि काठमाडौँको त्रिवी शिक्षण अस्पतालसम्म आइपुग्दा च्याङ्ग्रीको दुई लाख खर्च भइसकेको छ । उनले ऋण खोजेर उपचार गर्न थालेको चार महिना पुगेको छ । 'साहुहरूले ऋण दिएको पैसा माग्‍न थालेका छन, छोराले कमाएर दिएमा ऋण तिर्ने वाचा गरेको छु,' उनले सुनाए ।

सार्कीका जेठा छोरा कतार र कान्छा छोरा मलेसियामा छन् । मलेसियामा भएका छोराले कोभिड लकडाउनका कारण खर्च पठाउन नसकिरहेको सार्की बताउँछन् । अहिले छोरा नभए पनि बुहारीको सहारामा उपचार गर्न आएका छन् ।

उनको दुई वटा छोरा रहे पनि बुढेशकालमा साथमा दुवै भएनन् । दुई वटा छोरा छुट्टिएर उनीहरू बसेका छन् । 'हामी अहिले बुढेसकालमा बुढाबुढी चार वटा बाख्रा हेरेर बसेका छौ,' उनले आफ्नो दुःख सुनाए ।

सार्कीको पाँच मुरी फल्ने धानखेती छ । आफ्नो जमिन भए पनि अब उनी सधैँभरीका लागि खेती गर्न नसक्ने अवस्थामा पुगेका छन् । उनले अलिअलि भएको खेत पनि दुवै छोरालाई सुम्पिसकेका छन् ।

'कमाएर दिए खाउँला नत्र यसै बसिन्छ, अस्पताल जान सक्ने भएसम्म जाउँला नत्र ओछयानमा थला परुँला,' अस्पताल प्राङ्गणमा राखिएको फलामे बेञ्‍चमा बसिरहेका सार्कीले भने ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x