प्रमुख समाचार

तनहुँमा चितुवा आतंक

आमाको काखमै बालबालिका खोस्‍न आउँछ चितुवा

विनोद ढुंगाना |
कात्तिक ५, २०७८ १७:३५ बजे

तनहुँ - तनहुँमा चार वर्षको अवधिमा ११ जना बालबालिका चितुवाको आहारा बने । २५ असोजमा बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्जयाङकी ९ वर्षीया बालिका स्वीकृति थापाको नरभक्षी चितुवाको आक्रमणमा परी मृत्यु भयो । साँझपख पसलबाट मासु लिएर घर फर्कंदै गरेकी उनलाई बाटैमा चितुवाले झम्टिएर जंगलमा फ्याँक्दियो । चितुवाले आक्रमण गरेको स्थानबाट तीन सय मिटर पर जंगलमा बालिकाको शव गाउँलेले फेला पारे । उक्त दिन गाउँमा चितुवाले बाख्रालाई आक्रमण गरेको थियो । बाख्राको रगत पूरा पिउन नपाउदैँ लेखेटिएको झोकमा चितुवाले मासु लिएर आएकी बालिकालाई आक्रमण गरेको स्थानीय भीमबहादुर मगरले बताए । 

मगरका अनुसार गएको सोमबार पनि गाउँबाट चितुवाले बाख्रा आक्रमण गरी जंगलतिर लगेको थियो । मान्छेलाई नै आक्रमण गर्ने पो हो कि भन्ने डरले बाख्रा खोज्न गाउँले जंगल पस्न सकेनन् । बारम्बार चितुवा गाउँ बस्न थालेपछि गाउँले त्रासमा रहेका उनले बताए । लोहीआरे खेत्रके सामुदायिक वन गाउँसँगै जोडिएको छ । सामुदायिक वनका अध्यक्षसमेत रहेका मगरका अनुसार दिनादिनु वन घना हुँदै छ । वस्ती घट्दैछ । उनी भन्छन्, ‘गाउँमा चितुवा बारम्बार आइरहन्छ । बाख्रालाई आक्रमण गरिरहन्छ । कहिलेकाहीँ मान्छेलाई पनि झम्टिन्थ्यो । २५ गते त मान्छे नै मार्‍यो ।’ 


चितुवाले मान्छेलाई आक्रमण गरेर मारेपछि गाउँलेले असुरक्षित महसुस गरेको उनले बताए । ‘घाम अस्ताएपछि झ्यालढोका थुनेर घरभित्र बस्न थालेका छौँ । केटाकेटीलाई कसरी जोगाउने भन्ने चिन्ता छ । घाँसदाउरा काट्न जंगल जान पनि छोडियो’, भीमबहादुरले सुनाए । 

चितुवा आक्रमणमा बालिकाको मृत्यु भएको यो घटना तनहुँमा पहिलो होइन । चितुवाको आक्रमणमा परी हालसम्म ११ जना बालबालिकाको मृत्यु भएको छ । १ फागुन २०७४ मा पहिलोपटक भानु नगरपालिका–३ दोरदोरका ६ वर्षीय बालक विशाल श्रेष्ठलाई चितुवाले सिकार बनायो । त्यसपछि चितुवाले श्रृखंलाबद्ध बालबालिकालाई आक्रमण गरिरहेको छ । झण्डै चार वर्षसम्म पनि चितुवाको आक्रमण रोकिएको छैन ।  ज्यान गुमाएका सबै डेढ वर्षदेखि १२ वर्षसम्मका बालबालिका हुन् । यो अवधिमा १२ जना चितुवाको आक्रमणमा परी घाइते भएका छन् । घाइते एकाध मात्रै बयस्क हुन्, अधिकांश घाइते बालबालिका नै छन् ।

गएको ३० जेठमा व्यास नगरपालिका–१२ कमलवारीकी साढे २ वर्षीया अनुष्का परियारलाई चितुवाले घरमै आक्रमण गर्दा उनी घाइते भएकी थिइन् । २४ फागुन २०७७ मा बन्दीपुर गाउँपालिका–१ भुजेलगाउँका अक्कलबहादुर चेपाङलाई चितुवाले आक्रमण गर्दा घाइते भएका थिए । २१ भदौ २०७७ मा शुक्लागण्डकी नगरपालिका–२ मसारका १९ महिने नारायण रानालाई घरकै पिँढीबाट चितुवाले आक्रमण गरेर लगेको थियो । 

आमाको काखमै बालबालिका खोस्न आउँछ चितुवा

चार वर्षको अविधमा जिल्लाको भानु नगरपालिकामा चितुवाको आक्रमण बढी भयो । भानुमा चितुवाको आक्रमणबाट ६ जनाको मृत्यु र सात जना घाइते भएका छन् । बन्दीपुर गाउँपालिकामा मृत्यु र घाइते हुनेको संख्या दुई÷दुई छ । शुक्लागण्डकी नगरपालिकामा दुई जनाको मृत्यु र एक जना घाइते भएका छन् । आँबुखैरेनीमा एक÷एक जना मृत्यु र घाइते भएका तथ्याङ्क डिभिजन वन कार्यालय तनहुँले जनाएको छ । व्यास नगरपालिकामा पनि चितुवाको आक्रमणमा परेर एक जना घाइते भएका छन् ।  

भानुमा पछिल्लो डेढ वर्षदेखि चितुवाको आक्रमण रोकिएको छ । तर, जिल्लाको कुनै ठाउँमा चितुवाको आक्रमणको खबर सुनेपछि होसहवास उड्छ भानुवासीको । ‘एक वर्षदेखि आक्रमण त भएको छैन ।  अन्त कतै चितुवाले आक्रमण ग¥यो भन्ने सुन्ने बित्तिकै डर बढ्छ । त्यसपछि सर्तक बनिहाल्छौँ’, भानु नगरपालिका–२ की शान्ति अधिकारीले बताइन् ।

अहिलेसम्म चितुवाले केहीलाई घरमै आएर त केहीलाई घर वरपरको बाटोमा आक्रमण गर्ने गरेको छ । जंगल छाडेर चितुवाको पाइला वस्तीतिर लम्किएको छ । जंगलमा आहाराको कमि हुँदा चितुवा वस्ती छिर्ने गरेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्ले बताउँछन् । 

काफ्लेका अनुसार चितुवा जंगली जीवजन्तुमा आश्रित जनवार हो । मृग, बादर, खरायोजस्ता जनवारलाई शिकार गरेर चितुवाले आफ्नो आहारा बनाउँछ । कहिलेकाही वस्तीतिर पसेर घरपालुवा कुकुर, बाख्रा, भेडा, गाईको बाच्छाबाच्छी र भैंसीको पाडापाडीलाई पनि शिकार गर्ने जनवार हो चितुवा । तर, तनहुँमा भने घरपालुवा जनावारलाई कम शिकार गर्ने र मान्छेलाई नै बढी आक्रमण गर्ने गरेको पाइन्छ । 

‘वन जंगलमा चितुवाको आहारा प्रजाति कम छन् । वस्ती रित्तिएर झाडी भएका छन् । झाडी उनीहरूको वासस्थान हो । वस्ती वरपरको झाडीमा वासस्थान बनाएर बसिरहेका छन् । आहारा नभएपछि मान्छेलाई आक्रमण गर्ने गरेका छन्’, उनी भन्छन्, ‘घाइते, बुढो भएर वन्यजन्तुको शिकार गर्न नसक्ने चितुवाले वस्तीमा पसेर बालबालिकालाई आक्रमण गर्ने गरेको छ ।’  प्रतिकार गर्न नसक्ने हुँदा चितुवाले बालबालिकामाथि आक्रमण गर्ने उनी बताउँछन् ।

चितुवाको आक्रमण रोक्न उसले आहारा बनाउने वन्यजन्तुको चोरी शिकारी रोक्न सर्वसाधारणले भूमिका खेल्नुपर्ने उनले बताए ।  चितुवालाई एक ठाउँबाट नियन्त्रणमा लिएर अर्को ठाउँमा लगेर छोड्दैमा आक्रमणको सिलसिला नरोकिने काफ्लेको भनाइ छ  । एउटा चितुवालाई नियन्त्रणमा लिएपछि अर्को चितुवाले त्यो क्षेत्रलाई आफ्नो बनाउने उनले बताए । 

‘आक्रमणबाट बच्नलाई सावधानी अपनाउनुपर्नेछ । टोलटोलमा अब हामी एक्लै हिँड्न हुन्न, बच्चालाई विशेषगरी साँझको समयमा एक्लै छोड्न हुदैन । घर वरपरको झाडी फाँड्नुपर्छ भन्ने चेतना हुन जरुरी छ’, उनले भने ।

जंगलमा वासस्थान विनाशसँगै खण्डीकरण, आहाराको अभाव, पानीको अभाव र वन डढेलको कारण चितुवा वस्तीमा पसेर आक्रमण गर्ने गरेको विज्ञहरू बताउँछन् । वन कार्यालय तनहुँले जंगलमा पोखरी बनाउने अभियानसमेत चलाएको छ । 

जिल्लामा नरभक्षी चितुवालाई नियन्त्रणमा लिन विभिन्न प्रयास गरिएको छ । चितुवाको आतंक अचाक्ली बढेपछि जंगलमा फुट ट्रयाप, क्यामेरा ट्रयापिङ, बाख्रासहितको फलाम र काठको  परम्परागत खोर राखेर चितुवा नियन्त्रणमा लिने प्रयास भए । सुटर र विज्ञसहितको टोलीले सर्च अपरेसन चलायो । परम्परागत काठको खोरमा थापिएको पासोबाहेक अरु विकल्प त्यति प्रभावकारी भएन । चितुवा आक्रमण भएको स्थानमा तत्कालै फलामे खोरको वन कार्यालयले राख्ने गरेको छ । क्यामेरा ट्रयापिङ गर्दा चितुवा वस्तीको आसपासमा बढी भेटिएको वन कार्यालयका कर्मचारी बताउँछन् ।

चितुवा र मानवबीचको द्वन्द्व बढ्दो पाइन्छ । पछिल्लो चार वर्षमा जिल्लाका विभिन्न स्थानमा २२ चितुवा मृत भेटिएको छ । चितुवाको आक्रमण बढेपछि १७ वटालाई समातेर जिल्लावाहिर लगेर छाडिएको छ । उद्धार गरिएको चितुवा मानव वस्तीमा आएका र नियन्त्रणमा लिन पासो थाप्दा परेका हुन् ।न्युज कारखाना



Author

थप समाचार