प्रमुख समाचार

कांग्रेस प्रदेश २ को निर्वाचन भोलि बिहान ८ बजेमात्रै सुरु हुने

सुभाष कर्ण |
पुस ७, २०७८ बुधबार १८:२६ बजे

जनकपुरधाम – कांग्रेस प्रदेश २ अधिवेशनको निर्वाचन आजको लागि स्थगित भएको छ । मतपत्र समयमा नछापिएको कारण भोलि बिहीबार बिहान ८ बजेदेखि मतदान हुने निर्वाचन समितिका संयोजक प्रल्हाद गौतमले बताएका छन् ।

इकागजसँग कुरा गर्दै उनले भने, ' ढिलो गरी अन्तिम नामावली प्रकाशन भएको कारण मतपत्र नछापिएको कारण स्थगित गर्नु परेको छ ।'  उनले थप्दै भने, ‘प्रेसमा छाप्नका लागि दिएको मतपत्र पुरा छपाइ नभएको कारण स्थगित भएको हो, रातिसम्म मतपत्र छापिएपछि भोलि बिहान ८ बजेदेखि निर्वाचन हुन्छ ।’ 


निर्वाचन तालिका अनुसार आज बिहान ८ बजेदेखि नै निर्वाचन हुने थियो । तर उम्मेदवारको अन्तिम नामावली ढिलो गरी प्रकाशन भएपछि निर्वाचनका अन्य कार्यक्रमहरु प्रभावित भए ।  निर्वाचन हुन नसकेपछि मतदान स्थल जनकपुरधामको गोपाल धर्मशाला क्षेत्र अहिले तनावग्रस्त रहेको छ । सुरक्षाका लागि प्रहरी बाक्लो रुपमा परिचालन गरिएको छ ।   

यसअघि सभापतिका उम्मेदवार रामसरोज यादव र कृष्ण यादव प्यानलबीच आजै निर्वाचन गराउने नगराउने विषयमा विवाद हुँदा कुटाकुटसमेत भएको थियो ।  रामसरोज समूहले बिजुली बत्तिलगायतका व्यवस्थापन नरहेको कारण भोलि निर्वाचन गराउन माग गर्दै आएको थियो । कृष्ण समूहले जसरी भए पनि आजै निर्वाचन गर्न माग गरेका थियो ।

सोही विषयलाई लिएर दुवै पक्षबीच मतदान स्थल जनकपुरधाम स्थित गोपाल धर्मशालामा कुटाकुट भएको थियो ।  


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x