प्रमुख समाचार

राजनीतिक गतिविधि शून्य

प्रदेश-१ मा नेकपाका दुवै समूह कांग्रेस फकाउँदै

लीलावल्लभ घिमिरे |
माघ १२, २०७७ सोमबार २०:२ बजे

विराटनगर : गएको बुधवार ३ मिनेट चलेर प्रदेशसभा बैठक अनिश्चित कालका लागि स्थगित भएपछि प्रदेश-१ को राजनीति सेलाएको छ । प्रदेश सभा स्थगन भएपछि सांसदहरू जिल्ला तिर लागेका छन् ।
 
मुख्यमन्त्री शेरधन राई आइतबारमात्र वैवाहिक बन्धनमा बाधिएका छन् । काठमाडौँमा विवाह गरेका उनले माघ १६ गते प्रदेश राजधानी विराटनगरमा विवाहको शुभकामना आदान–प्रदान र विवाह भोजको आयोजना गरेका छन् । 

मुख्यमन्त्री नै विवाहमा व्यस्त भएपछि ओली समूहको विराटनगरमा सकृयता कम भएको छ भने, दाहाल-नेपाल समूहका नेताहरू पनि आफ्नै निर्वाचन क्षेत्रतिर लागेका छन् । नेपाली कांग्रेस पनि केन्द्रको निर्णय नआएका कारण मैन देखिएको छ । 


पुस १२ गते दाहाल-नेपाल समूहले आफ्नै पार्टी नेकपाका ओली समूहका मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव गर्दा गराएका थिए । त्यसपछि प्रदेश सरकारको संरचनाबारे विभिन्‍न कोणवाट टिप्पणी भइरहेको छ । 

नेकपामा देखिएको विभाजनसँगै प्रदेशमा दुवै समूहलाई कांग्रेसको सहयोग आवश्यक पर्छ । दुवै समूहले विपक्षी दलका नेता राजिव कोइरालालगायतसँग पटक-पटक अनौपचारीक कुरा गरिरहेका छन् । तर कांग्रेस नेताहरूले पार्टीको केन्द्रबाट निर्णय नआएसम्म बचन दिन नसकिने बताएपछि दुवै समूहका नेताहरू कांग्रेसको केन्द्रीय नेताहरूसँग लविङ गरिरहेका छन् । 

दुवै समूहले सकभर आफ्नो पक्षमा केन्द्रबाट निर्णय गराउन प्रदेशबाट कांग्रेस केन्द्रीय समितिमा रहेका नेताहरूलाई फकाइरहेका छन् । ‘निकै समय भयो । हामीसँग कुरा भएको छैन्,’ कांग्रेस प्रदेश दलका नेता कोइरालाले भने, ‘उहाँहरू केन्द्रीय नेताहरूतिर सोझिनु भएको होला । हामी पनि केन्द्रकै निर्णय कुरिरहेका छौं ।’ 

प्रदेश-१ को सरकारबारे कांग्रेसको केन्द्रमा पनि दुइ धार देखिएको छ । पार्टी संस्थापन प्रधानमन्त्री केपी शर्मा ओली समूहप्रति नरम देखिएको छ भने नेता रामचन्द्र पौडेल समूह (दाहाल–नेपाल समूह)प्रति नरम छ ।
 
शनिबार विराटनगर आएका कांग्रेसका नेता रामचन्द्र पौडेलले प्रदेशमा अविश्‍वासको प्रस्तावको पक्षमा मतदान गर्नु पर्ने बताएका थिए । 

प्रदेश-१ मा प्रत्यक्षतर्फ ५६ र समानुपातिकतर्फ ३७ सिट गरी ९३ सिट छ । तत्कालीन एमालेका ५१, माओवादी केन्द्रका १६ गरी ६७ हुन्छ । जनता समाजवादीका ३, राप्रपा १ र संघीय लोकतान्त्रिक मन्चको १ सिट छ । प्रदेशमा सरकार बनाउन ४७ सिट आवश्यक पर्छ ।
 


Author

लीलावल्लभ घिमिरे

घिमिरे इकागजका प्रदेश १ प्रतिनिधि हुन् ।


थप समाचार
x