संसद्

विष्णु पौडेललाई मिनेन्द्र रिजालको व्यङ्ग्य : उहाँसँग नाता पर्छ यतिभन्दा कति भन्‍नु !

इकागज |
जेठ १७, २०७९ मंगलबार १२:५९ बजे

काठमाडौँ- नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले नेकपा एमालेका नेता तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलमाथि व्यङ्ग्य गरेका छन् । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा पौडेलमाथि व्यङ्ग्य गरेका हुन् ।

'म यति मात्र भन्छु २०७८ जेठ ८ गते प्रतिनिधि सभा विघटन भयो । पूर्वअर्थमन्त्रीले जेठ १५ गते बजेट प्रस्तुत गर्नुभयो । प्रतिनिधि सभाभन्दा बाहिर बजेट प्रस्तुत गर्नुभयो । निर्वाचन घोषणा गरेपछि तपाईंले ल्याएको बजेट र अहिलेको बजेट तुलना गनुस् न । अहिले प्रतिनिधि सभा यहीँ छ । बजेट प्रतिनिधि सभाले पारित गर्ने हो' रिजालले भने 'तपाईंले संसद्‌ छलेर संसद्‌ विघटन गरेर ल्याएको बजेट पनि भन्न नमिल्ने गरी सार्वजनिक खर्चको जानकारी भनेर प्रस्तुत गर्नुपर्ने बेलाको बजेट र अहिलेको बजेटको तुलना गर्नु उचित भएन ।'


'मैले यति चैं भन्नुपर्छ पूर्वअर्थमन्त्रीसँग मेरो मित्रता लामो छ । मेरो नाता पनि पर्छ । त्यसैले समकालीन नेपालमा नाता पर्ने ठाउँमा त्यति चर्को तिखो आलोचना पनि गर्नु हुँदैन्' रिजालले भने 'त्यसैले यत्तिमा मैले छुटाएँ उतातिर जान्न म । नाता चाहिँ जोगाउनैपर्छ ।'

‘गत वर्ष संसद्‌ बाहिर बजेट प्रस्तुत गर्दा अहिले संसद्मा बोलेकै विषय सम्झेको भए हुन्थ्यो’ रिजालले भने 'एउटा विचार र तरंग उठ्‍यो । पोहोर साल बजेटको विवरण संसद्‌ होइन संसद्‌ बाहिर प्रस्तुत गर्दा आज बोलेकै कुरा सम्झिएर प्रस्तुत गरेको भए कति राम्रो हुने थियो । उहाँले त्यसबेला अर्थतन्त्र ६.५ प्रतिशतले वृद्धि हुने भन्नु भएको थियो । त्यतिबेला मुल कोभिड-१९ ले थला परेको थियो । खोप लगाउन सुरु पनि गरेको थिएन । त्यतिबेला ६.५ प्रतिशतले आर्थिक वृद्धिदर भन्नुभयो आज ८ प्रतिशतभन्दा नि उहाँलाई अचम्म लाग्यो । म यति भन्छु भूमिका बदलिएको छ । बदलियो भन्दैमा आकाश र जमिनको फरक पार्ने कुरा पनि गर्नु हुँदैन् ।'


Author

थप समाचार
x