संसद्

सांसदको प्रश्न

नीति तथा कार्यक्रम कार्यान्वयन गर्न पैसा कहाँ छ ?

इकागज |
जेठ ९, २०८० मंगलबार १७:३२ बजे

काठमाडौँ- सांसद लीलानाथ श्रेष्ठले सरकारलाई नीति तथा कार्यक्रम कार्यान्वयनका लागि आवश्यक बजेटको स्रोत कहाँ छ भन्दै प्रश्न गरेका छन् ।

प्रतिनिधि सभाको मंगलबारकाे बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा सांसद श्रेष्ठले राजस्व सङ्कलनभन्दा खर्च बढी भएको भन्दै नीति तथा कार्यक्रम कार्यान्वयन सम्भव नहुने जिकिर गरे ।


'सरकारले प्रस्तुत गरेको आगामी आवको नीति तथा कार्यक्रमअनुसार अङ्क उल्लेख गरी बजेट प्रस्तुत गर्न सक्छ ? यसका लागि सरकारसँग पैसा कहाँ छ ?' उनले प्रश्न गरे ।

सांसद शेरबहादुर कुँवरले नीति तथा कार्यक्रमको समर्थन गर्दै विश्वासको वातावरणबाट पुँजी निर्माणको कार्यक्रम सफल बनाउनुपर्नेमा जोड दिए । सांसद रणेन्द्र बरालीले सरकारको नीति तथा कार्यक्रम फिर्ता लिने नजिर नभएको भन्दै कार्यान्वयनका लागि शुभकामना व्यक्त गरे ।

सांसद रेखा यादवले नीति तथा कार्यक्रममा आवश्यकताका आधारमा कार्यक्रम दोहोरिएको बताइन् । सांसद हृदयराम थानीले नीति तथा कार्यक्रममा राम्रा विषय समेटेको भन्दै विरोधको औचित्य नभएको बताए । 

सांसद आरजु देउवाले सरकारको नीति तथा कार्यक्रममा समर्थन जनाउँदै आगामी आवको बजेटमा महिलाको आर्थिक सबलीकरणमा जोड दिनुपर्ने बताइन् । उनले नीति तथा कार्यक्रममा आमा सुरक्षा कार्यक्रम नछुटाउन सुझाव राखे ।  

सांसद अनिशा नेपालीले नीति तथा कार्यक्रममा पुरानै कुरा उल्लेख गरिएको भन्दै समेटिएका विषय पनि कार्यान्वयनमा चुनौतीपूर्ण देखिएको बताए । 

सांसद हरि ढकालले सरकार नीति तथा कार्यक्रममा चुकेको बताए । उनले नीति तथा कार्यक्रम तय गर्दा सबैको सुझाव नसमेटिएको भन्दै गुनासो गरे । 'सरकारले रचनात्मक सुझाव लिन इच्छुक देखिएन र युवा सांसदहरूको भावना बुझ्ने प्रयास गरिएन ।' 
    
सांसद अच्युतप्रसाद मैनालीले तराई-मधेश समृद्धिका विषय सरकारको नीति तथा कार्यक्रमले समेट्न नसकेको बताए ।


Author

थप समाचार
x