संसद्

पशुपतिको जलहरीको विषयमा छानबिन गर्न समिति गठन गर्नुपर्छ : सांसद दाहाल

इकागज |
जेठ १२, २०८० शुक्रबार १६:४२ बजे

फाइल तस्बिर

काठमाडौँ- नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले पशुपतिको जलहरीको विषयमा छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेका छन् । शुक्रबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले पशुपतिनाथ मन्दिरमा जलहरी लगाउँदा सुन कम भएको कुरा आएको भन्दै सो विषयमा छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेका हुन् ।

आफूले जलहरीको कुरामात्रै संसदमा नउठाएको भन्दै उनले केपी ओली नेतृत्वको सरकारमा भएका भ्रष्टाचारका विषयहरू उठाएको र तत्कालीन प्रधानमन्त्रीको हैसियतले ओलीले जिम्मेवारी लिनुपर्ने भनेको उल्लेख गरे । आफूले ओलीलाई व्यक्तिगत रूपमा किटान नगरेको उनको भनाइ छ । उनले आफूले संसदीय मर्यादा उल्लंघन नगरेको स्पष्ट पारे । 

नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले सभामुखले प्रतिनिधि सभा बैठकमा मन्त्रीलाई जवाफ दिन रुलिङ गरेको भए संसद बैठक चल्ने धारणा राखे । उनले संसद् नचलाउने नियत देखिएको बताए । उनले भुटानी शरणार्थी मुद्दालाई विषयान्तर गर्न अन्य विषयलाई संसदमा ल्याउनु जरुरी नभएको बताए । 

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले पशुपतिको जलहरी प्रकरणको छानबिन गर्न संसदीय छानबिन समिति बनाउन माग गरे । उनले आजै छानबिन समिति गठन गर्नुपर्ने बताए । उनले पशुपतिनाथ मन्दिरको जलहरीको विषयमा संसदमा प्रश्न उठाएर धार्मिक आस्था माथि प्रहार भएको पनि बताए ।



Author

थप समाचार
x