संसद्

सरकारले कृषि अनुसन्धानलाई प्राथमिकता नदिएसम्म कृषिमा प्रगति हुँदैनः सभापति राणा

इकागज |
कात्तिक १४, २०८० मंगलबार १८:३८ बजे

फाइल फोटो

काठमाडौँ - कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा.आरजु राणाले कृषि अनुसन्धानमा सरकारले प्राथमिकता नदिएसम्म कृषिमा प्रगति हुन नसक्ने बताएकी छिन् । 

मंगलवार प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा बोल्दै सभापति राणाले यस्तो बताएकी हुन् । उनले सरकारले छुट्टै बजेट छुट्याएर कृषि अनुसन्धानमा जोड दिन आवश्यक रहेको बताइन् । उनले कृषिमा नयाँनयाँ प्रविधि र ल्यावहरुको समेत व्यवस्था गरी कृषिलाई आधुनिकीकरण गर्न आवश्यक रहेको बताइन् ।  उनले सरकारले दुध उत्पादन गर्ने किसान तथा अन्य किसानहरुको भुक्तानीमा सरकारले प्रमुख प्राथमिकता दिन आवश्यक रहेको बताइन् । 


उनले भनिन्, ‘कृषि मन्त्रालयले माछा उत्पादनको विकासलाई विशेष ध्यान दिनुपर्छ । उखु उत्पादनलाई पनि सरकारले विशेष ध्यान दिनुपर्ने हुन्छ । एउटा लडाईं हुँदा ठूलो समस्या भयो अर्को लडार्इं होला जस्तो छ त्यसपछि हामीले के खाने भन्ने हुन्छ । हाम्रो १० लाख हेक्टर जमिनमा अहिलेसम्म खेती नै छैन । त्यो बाँझो जमिनलाई हामीले कसरी प्रयोग गर्ने भन्ने मापदण्ड तयार बनाउनुपर्छ । सरकारले किसानहरुको भुक्तानी सबैभन्दा पहिला गर्नुपर्छ । दुध वा अन्य किसानहरुलाई प्रमुख प्राथमिकतामा राखेर भुक्तानी गर्न ध्यानाकर्षण गराउँछौं । कृषि क्षेत्रको अनुसन्धानमा पैसा छैन । कृषि क्षेत्रको अनुसन्धान नभएसम्म नेपालमा कृषि क्षेत्रको प्रगति गर्न सक्दैनौं । सरकारले कृषि अनुसन्धानको लागि छुटै बजेटको व्यवस्था गर्नुपर्छ । यसमा कृषि ल्याव, नयाँ प्रविधि ल्याउने र बोर्डरको लागि ड्रोन प्रयोग गर्नु मिल्छ भने दुबै देशसँग समन्वय गरेर ड्रोन उडान आवश्यक छ ।’

 

 


Author

थप समाचार
x