संसद्

संक्रमणकालीन न्यायसम्बन्धी कानुनलाई छिटो टुङ्गोमा पुर्‍याउन आग्रह

इकागज |
चैत १, २०८० बिहीबार १४:१४ बजे

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का सांसद अमनलाल मोदीले सत्ता समीकरण परिवर्तन हुँदैमा राष्ट्रिय मुद्दाहरूलाई ओझेलमा पार्न नहुने बताएका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकको विशेष समयमा बोल्दै मोदीले सत्ता समीकरण फेरिए पनि जनता र राष्ट्रका मुख्य मुद्दाको प्रगतिशील रूपमा सम्बोधन गराउनु सबैको दायित्व भएको बताएका हुन् । उनले शान्ति प्रक्रियालाई टुंग्याउने सर्वोच्च अदालतले दिन तोकेर आदेश दिएको भन्दै सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनलाई छिटो टुङ्गोमा लान आग्रह गरे ।


त्यस्तै एमाले सांसद ठाकुरप्रसाद गैरेले देशमा देखा परेका समस्याहरूलाई सुशासन र समृद्धिका माध्यमबाट आशा र भरोसामा रुपान्तरण गर्नुपर्ने बताए । जिम्मेवार राजनीतिक दलका बीचमा नयाँ सहकार्य भएकाले पुनःगठित सरकार देशका यावत् समस्या समाधान गरी समाजवादोन्मुख अवस्था विकास गर्न सफल हुनुपर्ने उनको भनाइ छ ।

त्यस्तै कांग्रेसका सांसद रामकृष्ण यादवले उनले सहकारी ठगी र सुन तस्करीका घटनामा जोडिएका सत्तागठबन्धन निकटका व्यक्तिहरूलाई जोगाउने प्रपञ्च भएको आरोप लगाए । उनले सत्ता समीकरण परिवर्तन भएसंगै मुलुकको सुशासन र समृद्धिको यात्रा सहज रूपमा अगाडि बढ्नुपर्ने धारणा राखे ।

त्यस्तै सांसद अमरबहादुर थापाले नयाँ सरकार बनेको अनुभूति जनताले गर्न पाउनुपर्ने बताए । जनमत पार्टीका सांसद अब्दुल खानले मन्त्रिपरिषदमा ए कजना पनि दलित समुदाय नपरेको जनाउँदै यसरी समानुपातिक समावेशीताको सिद्धान्त लागू हुन नसक्ने टिप्पणी गरे ।


Author

थप समाचार
x