दल

अध्यक्ष ओलीको प्रतिवेदनमाथि छलफल गर्न समूह विभाजन

इकागज |
भदौ १०, २०७९ शुक्रबार २०:६ बजे

काठमाडौँ- नेकपा एमालेको जारी केन्द्रीय कमिटीको चौथो बैठकको पहिलो दिन आज अध्यक्ष केपी शर्मा ओलीबाट प्रस्तुत राजनीतिक प्रतिवेदन र आसन्न निर्वाचनमा उम्मेदवार चयनका लागि प्रस्तावित मापदण्डबारे छलफल गर्न विभिन्न नौ समूह विभाजन गरिएको छ । समूहगत छलफलबाट प्राप्त सुझावका आधारमा टोली नेताले गरेको प्रस्तुतिमाथि अध्यक्ष ओलीले अर्काे बैठकमा जवाफ दिएपछि प्रतिवेदन पारित हुनेछ ।

सो पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा भएको बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदनका विषयमा केन्द्रित रहेर वर्तमान राष्ट्रिय राजनीति, आगामी निर्वाचन, स्थानीय तह निर्वाचनको समीक्षालगायत विषयमा सम्बोधनसहित प्रतिवेदन प्रस्तुत गरेका थिए । सम्बोधनका क्रममा उनले वर्तमान सरकार देश र जनतालाई सेवा गर्ने भावको दिशामा नगएको आरोप लगाउँदै एमालेलाई घेराबन्दी पार्ने प्रयासलाई आउने निर्वाचनबाट असफल बनाइने जिकिर गरे ।
  
बैठकमा स्थानीय तह निर्वाचनमा भएका आन्तरिक कमीकमजोरीको छानविनका लागि उपाध्यक्ष विष्णुप्रसाद पौडेलको संयोजकत्वमा गठित समितिको प्रतिवेदन प्रस्तुत र सचिवालय बैठकबाट भएका निर्णयहरूको अनुमोदन हुनेछ । सचिवालयले अध्यक्ष ओलीको संयोजकत्वमा घोषणापत्र मस्यौदा कार्यदल र निर्वाचन परिचालन कमिटी गठन गरेको थियो ।


बैठकमा केन्द्रीय कमिटीमा मनोनयन गरिएका चार केन्द्रीय कमिटी सदस्यहरूको शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । बैठकमा अध्यक्ष राजनीतिक प्रतिवेदन, कार्यविभाजन, सचिवालयका निर्णय अनुमोदन, निर्वाचनमा उम्मेदवारको छनोट प्रक्रियाको मापदण्ड, स्थानीय निर्वाचन छानबिन कमिटीको प्रतिवेदनलगायत पेश गर्ने कार्यसूची रहेको छ ।

बैठकमा सदस्यता अभिलेख व्यवस्थापन, सल्लाहकार परिषद् र तीनै आयोगका प्रतिवेदन, भारत प्रवासको कामका सम्बन्धमा नियमावली, पार्टीका कामसँग सम्बन्धित केही नियम निर्माण तथा समसामयिक प्रस्ताव रहेका छन् । एमालेको केन्द्रीय कमिटीको बैठक शनिबार बिहान १०ः३० बजे पुनः बस्नेछ ।


Author

थप समाचार
x