दल

काठमाडौँमा बालेनको 'नाम भजाएर' भोट माग्दै पुकार बम

भाेट माग्दै बम: बालेन हाम्राे साथमा हुनुहुन्छ, मतदाता : रविकाे मान्छे भएर तपाईंले ढाँट्नुभाे

इकागज |
असोज ११, २०७९ मगलवार १४:४७ बजे

काठमाडौँ - आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन तयारीमा दलहरू जुटेका छन् । राजनीतिक दलहरू उम्मेदवार छनोटमा लागिरहेका छन् । आकांक्षी धेरै हुँदा प्रमुख दलहरूलाई उम्मेदवार छान्न समस्या परिरहेको छ । 

तर साना दल र स्वतन्त्र उम्मेदवारहरू भने मतदाता रिझाउन थालिसकेका छन् । उनीहरू चुनावी एजेण्डा बोकेर घरघर पुगिरहेका छन् । नेताहरू गाउँ फर्कने र जिल्लाका नेताहरू टिकट माग्न काठमाडौँ आउन थालेका छन् । 


केही समयअघि स्वतन्त्र उम्मेदवार घोषणा गरेका पुकार बम काठमाडौँ क्षेत्र नम्बर १ बाट उम्मेदवारी घोषणा गरेपछि मतदाताको घरघर पुगिरहेका छन् । सुरुमा उनी वैकल्पिक राजनीति सुरुवात गर्ने भन्दै विवेकशील नेपाली दल र विवेकशील साझामा आवद्ध थिए ।

स्वतन्त्र उम्मेदवारहरू निर्वाचित हुने लहर बढेसँगै उनले पनि केही समयअघि उम्मेदवारी घोषणा गरे । बम अहिले राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन् । पार्टीबाट उम्मेदवार बनेका बम आफू विगतमा विभिन्न अभियानमा संलग्न रहेको भन्दै मत मागिरहेका छन् । आफ्नो क्षमतालाई आधार बनाएर भन्दा विगतमा यति वर्ष अभियान चलाएको र निर्वाचित उम्मेदवारको नाम लिँदै मत माग्दै उनी हिडिरहेका छन् ।

आफूलाई स्वघोषित अभियन्ता दाबी गर्ने बमलाई स्वतन्त्रको भूतले भने छोडेको छैन । उनले स्थानीय तह निर्वाचनमा स्वतन्त्रबाट चुनाव जितेकाहरूको नाम भजाएर प्रचार-प्रसार गरिरहेका छन् । आफूलाई सक्षम युवा भन्दै अरुको सहारामा उनी मतदाताको घरआँगनमा पुग्‍ने गरेका छन् ।

क्षेत्र नम्बर १ का विभिन्न क्षेत्रमा प्रचारमा पुग्ने गरेका उनले काठमाडौँका मेयर बालेन्द्र शाहको नाम समेत भजाएर भोट मागिरहेको भिडियो भाइरल बनेको छ । भिडियोमा उनले काठमाडौँ महानगरका मेयर बालेन शाह पनि आफ्नो टिममा रहेको भोट माग्दै हिँडिरहेको देखिन्छ ।

तर एक मतदाताले बालेनको नाम लिएर भोट माग्ने उनको चलाखीमा प्रश्न उठाएका छन् । त्यसपछि भने बम हजुर हजुर भन्दै हिँडेको भिडियो क्लिपमा देखिन्छन् । 

यस्तो छ संवाद :

पुकारले मतदातासँग भोट माग्दै भन्छन,' नमस्कार म पुकार बम, उम्मेदवार । घण्टी चुनाव चिन्ह । रविजी र बालेनजी हामीसँगै छौ । सँगै एउटै टिममा छौ ।
 
मतदाताले बमलाई भन्छन्,' त्यो गलत हो । बालेन स्वतन्त्र उम्मेदवार हो । रविजीको स्वतन्त्र पार्टी हो । कि बालेन स्वतन्त्र पार्टीमा प्रवेश गरेको देखाउनु परो ।'

बमले पुनः थप्छन्,' बालेनको टिममा जो हिड्नु भएको थियो । उहाँहरू हामीसँगै हुनुहुन्थ्यो मैले भन्न खोजेको हो। 

मतदाताले बमलाई जवाफ फर्काउँछन्,' तपाईँ जत्तिको युवा र आशा लागेको मानिसले जे हो त्यहीँ बोल्नुपर्छ ।'

यतिखेर बम १ नम्बर क्षेत्रमा मत मागिरहेका छन् । उनी केही दिन अघि बानेश्वरको शंखमुल क्षेत्रमा मतदाताको घरदैलोमा पुगेका थिए । मतदाताकै घरको गेटमा उनले मेयर बालेन शाह पनि आफ्नो टिममा रहेको भन्दै उनले झूठ बोलेका थिए । उनले झूठ बोलेको मतदाताले औल्याएका थिए ।

आफ्नो लागि मत माग्दा मतदातासँग किन झूठ बोल्नु परेको भन्ने प्रश्नमा उनी भन्छन्,' बालेनको नाम हामीले बिम्बको रुपमा लिएका हौ । बालेनको कोर टिमहरू हाम्रोमा छन् । मैले त्यसरी भनेको हुँ ।'

बालेन हाम्रो टिममा हुनुहुन्छ जस्तो गरी तोडमोड गरेर भिडियो बनाएको बमको भनाइ छ । बालेनजीलाई स्थानीय तहको निर्वाचनमा सहयोग गरेको उनले दाबी गरे ।

'बालेनजीको टिममा हिड्नु भएका साथीहरू हामीसँग हिडिरहनु भएको छ,' उनले अगाडि थपे,' चुनाव चिन्हको हिसाबले रविजी हामीसँग जोडिनु भएको छ । टिमको हिसाबले बालेनजी हामीसँग भएकाले मेयर शाहको नाम लिएको हुँ ।'


Author

थप समाचार
x