दल

कांग्रेस-एमाले मिलेर सरकार चलाए म खुसी हुनेछु : गच्छदार

बाबुराम भण्डारी |
मंसिर २२, २०७९ बिहीबार १८:५ बजे

विराटनगर - संसदीय निर्वाचनमा पहिलो पटक हार व्यहोरेका कांग्रेसका पूर्व उपसभापति विजयकुमार गच्छदारले भावी सरकार नेपाली कांग्रेस र एमाले मिलेर बनाउनु पर्ने बताएका छन् । चुनावमा पराजयपछि पत्रकारहरुसँग पहिलो पटक नजिकिएका गच्छदारले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन नै आयोजना गरेर कांग्रेस–एमाले नेतृत्वको नयाँ गठबन्धनको आवश्यकताबारे बोलेका हुन् ।

गच्छदारले विगतमा एमाले र माओवादीबीच गठबन्धन भएर झण्डै दुईतिहाई ल्याएपनि त्यो सरकार टिक्न नसकेको, अहिले फेरि कांग्रेसको नेतृत्वमा पाँच दलीय गठबन्धनको सरकार बनेर चुनाव भएपनि बहुमतका लागि धौधौ परेको भन्दै अब कांग्रेस–एमालेबीच सहकार्य हुनुपर्नेमा जोड दिए ।


‘प्रचण्ड–ओलीबीच पनि झण्डै दुई तिहाईको सरकार बनेर चल्न सकेन, देउवा नेतृत्वको गठबन्धनले पनि राजनीतिक स्थिरता दिन सकेन, बहुमत ल्याउन धौ धौ पर्यो’ गच्छदारले भने, ‘अब फेरि एक पटक कांग्रेस एमाले मिलेर सरकार चलाए म धेरै खुसी हुनेछु ।’
पहिलो र दोस्रो दल मिलेर सरकार चलाउँदा तेस्रो वा चौथो दल प्रतिपक्षमा हुने भएकोले संसदीय व्यवस्थालाई कुनैपनि अप्ठेरो नहुने उनले तर्क गरे । सरकार बनेपछि पाँच बर्षसम्म हल्लाउन नसकिने गरी बन्नुपर्ने बताए । तर मुलुकमा राजनीतिक स्थिरता कायम हुन नसकेप्रति उनले चिन्ता व्यक्त गरे । नयाँ उदाएका राजनीतिक शक्तिहरुले राष्ट्रलाई सर्वोपरी ठानेर स्थिरताका लागि सहयोग गर्नुपर्ने बताए । 

निर्वाचनमा पहिलो चोटी हारेको स्वीकार्दै गच्छदारले आफ्नो हारको मुख्य कारण जसपा भएको बताए । सुनसरी–३ मा रहेको जसपाको करिव पाँच हजार भोट एमालेका उम्मेदवारलाई थपिएका कारण आफु पराजित भएको बताए । उनले चुनावमा हारजित हुने कुरालाई भने आफुले सामान्य रुपमै लिएको सुनाए ।
कांग्रेसभित्र पुस्तान्तरणको कुरा चलेपनि त्यसका लागि नेतृत्वमा देखिने उदारतामा भर पर्ने गच्छदारले बताए । उनले पार्टी सभापति शेरबहादुर देउवाले नचाहिकन पुस्तान्तरणको सम्भावना नदेखिएको ठोकुवा गरे ।

‘देउवाले नचाहिकन पुस्तान्तरणको सम्भावना देख्दिन’ त्यसको पुष्ट्याँईका लागि उनले थपे, ‘शेर बहादुर जी फेरी प्रधानमन्त्री बन्दै हुनुहुन्छ ।’ 

गच्छदारले २०८९ सालदेखि मात्रै राजनीतिबाट सन्यास लिने जानकारी गराए ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x