दल

लुम्बिनी : केन्द्रीय नेताको 'लविङ'का कारण एमाले-कांग्रेसलाई दलको नेता छान्‍न सकस

बिक्रम खड्का |
पुस १७, २०७९ आइतबार १३:२५ बजे

बुटवल - लुम्बिनी प्रदेशमा नवनिर्वाचित प्रदेश सभा सदस्यहरूले आज शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख अमिक शेरचनमार्फत् स्थायी राजधानी भालुवाङको प्रदेश सभा भवनमा शपथ ग्रहण गरेका हुन् । शपथ ग्रहण गरिसक्दा पनि लुम्बिनीका मुख्य दलहरूले दलको नेता छनोट गर्न सकेका छैनन् ।

प्रदेशका मुख्य दुई दल नेकपा एमाले र नेपाली कांग्रेसमा दलको नेता छनोटको अन्तिम कसरत जारी छ । ठूलो दल नेकपा एमालेमा लिला गिरी, भोज प्रसाद श्रेष्ठ र चेतनारायण आचार्यले दाबी गरिरहेका छन् । गिरी र श्रेष्ठ रुपन्देहीबाट तथा आचार्य अर्घाखाचीवाट प्रदेश सभामा निर्वाचित हुन् । 


उनीहरू तीनै जना यसअघि प्रदेश सरकारका मन्त्री भैसकेका छन् । एमाले २९ सिटसहित प्रदेश सभामा पहिलो दल छ । एमाले उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोख्रेलको आन्तरिक लविङका कारण सहमति जुट्न सकेको छैन । 

पौडेल गिरी या श्रेष्ठलाई दलको नेता बनाउन चाहन्छन् भने पोख्रेल आचार्यको पक्षमा लागेका छन् । एमालेले सोमबार बिहानसम्म दलको नेता छनोट गर्ने पार्टीका प्रदेश उपाध्यक्ष भोजप्रसाद श्रेष्ठले बताए । 

२७ सिटसहित दोस्रो ठूलो दल नेपाली कांग्रेस सत्ताबाट बाहिरिए पनि दलको नेता बन्न नेताहरूबीच रक्कसाकस्सीमा छ । संस्थापन र ईतर पक्षको लविङका कारण कांग्रेसभित्र दलको नेता छनोटका लागि चुनावी प्रतिस्पर्धा हुने आँकलन छ ।

संस्थापन पक्षबाट डिल्ली चौधरीको नाम चर्चामा छ । त्यस्तै सोही समूहबाट अब्दुल रज्जाक पनि आकांक्षी देखिएका छन् । अहिलेका ग्रामीण तथा शहरी विकास मन्त्री समेत रहेका चौधरी दाङबाट निर्वाचित सांसद हुने भने रज्जाक रुपन्देहीबाट निर्वाचित पार्टीका केन्द्रीय सदस्य हुन् ।

त्यसो त ईतर समुहबाट पाल्पाबाट निर्वाचित वीरबहादुर रानाको चर्चा छ । दलको नेता बन्न आफू पनि तयार रहेको रानाले बताउँदै आएका छन् । तर सहमतिबाट नेता चयन गर्नु पर्ने मत पनि उनको छ । 

लुम्बिनीमा कांग्रेसभित्र संस्थापन पक्ष बलियो देखिएको छ । कांग्रेसले प्रदेश सहमहान्त्री खगराज पाण्डेको संयोजकत्वमा निर्वाचन समिति गठन गरेको छ ।

कांग्रेस प्रदेश सदस्य विष्णु पोख्रेलले कांग्रेसमा दलको नेता छनोटका लागि सोमबार निर्वाचन कार्यक्रम तय भएको बताए । उनका अनुसार निर्वाचन समितिले सोमबार कांग्रेस संसदीय दलको कार्यलयमा निर्वाचन कार्यक्रम तय गरिसकेको छ । 

संसद्‌को तेस्रो शक्ति माओवादीमा भने दलको नेता बन्नका लागि खासै विवाद देखिएको छैन । ९ सिटसहित तेस्रो ठूलो दल माओवादीमा रोल्पाबाट निर्वाचित जोखबहादुर महरा निर्विरोध दलको नेता बन्ने माओवादीले जनाएको छ ।
 


Author

बिक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x