दल

त्रुटिपूर्ण नयाँ भाष्यले देश समस्याको दलदलमा भासियाे : कमल थापा

इकागज |
साउन २१, २०८० आइतबार १८:२ बजे

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा जबर्जस्त ढङ्गले त्रुटिपूर्ण नयाँ भाष्य निर्माण गर्न खोज्दा मुलुक नयाँ नयाँ समस्याको दलदलमा भासिएको विचार व्यक्त गरेका छन् ।

आज काठमाडौँमा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले देशले भोग्नु परेको सम्पूर्ण समस्याको मुल जड सनातन धर्म, संस्कृति, राजसंस्था र एकात्मक राज्यप्रणाली भएको, अन्धविश्वास, रुढीवादी र विभेदमा आधारित हिन्दूधर्म, धर्म निरपेक्षता, गणतन्त्र र जातीय पहिचानमा आधारित संघीयता सम्पूर्ण रोग, भोक, अशिक्षा, गरिबी र पछ्यौटेपनको अचुक औषधि हो भन्ने भाष्य गलत भएको जिकिर गरे ।


मुलुकमा हाल विद्यमान संकट समाधान गर्न राप्रपा नेपालसँग वैकल्पिक मार्गचित्र रहेको भन्दै थापाले सुशासनको माध्यमबाट आर्थिक विकास र समृद्धिको लक्ष्य हासिल गर्न सम्बर्द्धनवादको वैचारिक धरातलमा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्नुपर्ने आवश्यकतामा जोड दिए ।

सुदृढ स्थानीय स्वायत्त शासन प्रणाली लागू गरी प्रदेश तहको संरचना तत्काल खारेजी गर्नुपर्ने आवश्यकता औल्याउँदै थापाले आत्मसमर्पणवादी मानसिकताले गर्दा मुलुकको स्वाधीनतामाथि गम्भीर प्रश्न चिह्न उठिरहेको बताए ।

बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्न छरिएर रहेका सबै शक्ति एकै ठाउँमा आउनुपर्ने र त्यो वातावरण निर्माण गर्न आफू कृयाशील भइरहेको समेत थापाले बताए ।

उक्त प्रशिक्षणमा हिन्दुत्वको विषयमा पार्टीका उपाध्यक्ष डाक्टर विष्णु भण्डारी, संगठन निर्माण सम्बन्धमा पार्टीका महामन्त्री राजाराम बर्तौलाले प्रशिक्षण दिएको विभागका प्रमुख सुशील श्रेष्ठले जानकारी दिए ।


Author

थप समाचार
x