दल

लगातार दुई चुनाव हारेका सिटौलालाई राष्ट्रिय सभाको टिकट 'उपहार'

इकागज |
पुस २३, २०८० सोमबार १०:५० बजे

काठमाडौँ- गत निर्वाचनमा पराजित भएका नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला राष्ट्रिय सभाबाट उम्मेदवार बनेका छन् । यसअघि भएका प्रतिनिधि सभाका दुई निर्वाचनमा पराजित उनी राष्ट्रिय सभामार्फत सदनमा पुग्ने निश्चित जस्तै छ । कांग्रेस संसदीय बोर्डको आइतबार बसेको बैठकले सिटौलालाई टिकट दिएको छ । 

उनी २०७४ र २०७९ सालमा भएको प्रतिनिधि सभा निर्वाचनमा झापा क्षेत्र नम्बर ३ बाट पराजित भएका थिए । २०७९ मा उनी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसँग पराजित भएका थिए । उनलाई सत्ता गठबन्धनबाट नेपाली कांग्रेसले कोशी प्रदेशबाट राष्ट्रिय सभामा लैजाने भएको छ । कोशीमा सत्ता गठबन्धनको मतभार बलियो भएकाले सिटौला सदनमा जाने निश्चित जस्तै भएको हो । 


राष्ट्रियसभा सदस्य निर्वाचनका निम्ति कोशी प्रदेशमा २७४ स्थानीय तहका प्रमुख, उपप्रमुख र ९३ प्रदेशसभा सदस्य गरेर कुल मतदाता संख्या ३६७ छ । प्रदेशसभा सदस्यको प्रतिमतभार ५३ र स्थानीय तहका प्रमुख/उपप्रमुखको मतभार १९ रहने व्यवस्था छ । 

सत्ता गठबन्धनको मतभार पाँच हजार ४८३ छ भने एमालेको मतभार चार हजार २९० छ ।


Author

थप समाचार
x