दल

जनताले अब कुनै राजालाई स्वीकार्दैनन् : अध्यक्ष नेपाल

इकागज |
पुस २३, २०८० सोमबार २२:१ बजे

वीरगञ्ज (पर्सा)- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाली जनताले अब कुनै पनि राजा वा महाराजालाई नस्वीकार्ने बताएका छन् । 

नेकपा (एकीकृत समाजवादी) पर्साद्वारा आज यहाँ आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष नेपालले नेपाली जनताको बलिदान र त्यागबाट प्राप्त भएको गणतन्त्र बलियो भइसकेकाले अब कुनै पनि राजा वा महाराजा स्वीकार्य नहुने बताए ।


शिथिल बनेको मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन अहिलेको भन्सार नीतिमा सुधार ल्याउनुपर्नेमा जोड दिँदै उनले उद्योगी व्यवसायीलाई सहुलियत प्रदान गर्नुपर्ने धारणा राखे । 

अर्थतन्त्रलाई मजबुत बनाउन कृषिमा आधुनिकीकरण आवश्यक रहेको उल्लेख गर्दै अध्यक्ष नेपालले कृषि उत्पादनलाई उद्योगसँग जोड्न सकिए मुलुकको अर्थतन्त्रले फड्को मार्ने र बेरोजगारी समस्या समाधान हुने दाबी गरे । 

भ्रष्टाचार देशकै महारोग भएकाले यसबाट मुलुकलाई जोगाउनुपर्ने बताउँदै उनले भ्रष्टाचारको अन्त्य र सुशासन प्रवर्द्धन नभएसम्म विकास र सम्बृद्धि सम्भव नभएको जिकिर गरे । 

सो पार्टीका नेता तथा पूर्वमन्त्री नागेन्द्र चौधरी, प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री किसान श्रेष्ठले पार्टी सङ्गठनलाई सुदृढ पार्न जनता केन्द्रित अभियानका साथ गाउँगाउँ पुग्न नेता कार्यकर्तालाई निर्देशन दिए । विभिन्न पार्टी परित्याग गरेका नेता कार्यकर्तालाई अध्यक्ष नेपालले अबिर, माला लगाएर पार्टी प्रवेश गराए ।


Author

थप समाचार
x