दल

जनतालाई केन्द्रमा राखे कांग्रेस बलियो हुन्छ : सभापति देउवा

इकागज |
माघ ९, २०८० मंगलबार २१:४६ बजे

फाइल तस्बिर

​गण्डकी- नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली जनतालाई केन्द्रमा राखेर उनीहरूको हितमा काम गर्दा नै कांग्रेस बलियो हुने बताएका छन् । नेपाली कांग्रेस कास्कीको जिल्ला सम्मेलनको आज पोखरामा उद्घाटन गर्दै उनले लोकतन्त्रमा जनता नै सर्वेसर्वा हुने बताए । 

सभापति देउवाले कांग्रेस नेपाली जनताको काम गर्न स्थापना भएको पार्टी भएको उल्लेख गर्दै देशका जुनसुकै कुनामा रहेका सर्वसाधारणको बीचमा पुगी उनीहरूको सुख दुःखमा साथ दिनुपर्नेमा जोड दिए । 


'कांग्रेसलाई ठूलो पार्टीको रूपमा स्थापित गर्न पार्टीभित्रको एकता बलियो हुनु आवश्यक छ,' उनले भने, 'राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र पार्टीलाई बचाउन कांग्रेस एक ढिक्का भएर अगाडि बढ्नै पर्छ ।' नेपाली कांग्रेसलाई ठूलो पार्टीको रूपमा विकास गर्न विभिन्न पार्टीसँग निर्वाचनमा गठबन्धन गर्दै अघि बढेको र देशको राजनीतिक परिस्थितिलाई हेरेर गठबन्धन गर्नुपरेको उनले बताए ।

लोकतान्त्रिक संविधानमाथि आक्रमण भइरहेको बेला लोकतन्त्रवादी एक भएर त्यसलाई बचाउन जरुरी भएको उल्लेख गर्दै सभापति देउवाले माओवादीलाई शान्ति सम्झौतामार्फत लोकतान्त्रिक प्रक्रियामा ल्याएको बताए । 'नेपालको संविधानले सबै जातजातिलाई समान सहभागिताको व्यवस्था गरेको छ, राज्यका हरेक तहमा ३३ प्रतिशत महिला सहभागिताको व्यवस्था गरिएको छ,' उनले भने । हरेक पालिकामा प्रमुख वा उपप्रमुख महिला हुनैपर्ने व्यवस्था नेपालको संविधानले गरेको उल्लेख गर्दै सभापति देउवाले यस्तो व्यवस्था अन्य कुनै पनि राष्ट्रको संविधानमा नभएको दाबी गरे ।

पोखरा पर्यटकीय सहर भएकाले यहाँको ताल संरक्षण र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित रूपमा सञ्चालन गर्न कांग्रेस सक्रिय रूपमा लाग्ने भन्दै सभापति देउवाले यहाँको पर्यटनको विकासमा पार्टीले ध्यान दिने बताए ।
   


Author

थप समाचार
x