दल

विश्व सामाजिक मञ्चको १६औँ संस्करण काठमाडौँमा

इकागज |
माघ २६, २०८० शुक्रबार १४:५६ बजे

काठमाडौँ- बागमती प्रदेश सभा सदस्य एवं नेपाल बुद्धिजीवी परिषद्का अध्यक्ष दिनेशचन्द्र देवकोटाले विश्वका बुद्धिजीवीहरूलाई एउटै मञ्चमा गोलबन्द गर्नुपर्ने बताएका छन् । यही फागुन ३ देखि ७ गतेसम्म काठमाडौँमा विश्व सामाजिक मञ्चले गर्ने कार्यक्रमको पूर्वतयारीका लागि आयोजित छलफलका क्रममा उनले यस्तो बताएका हुन् ।

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा नेपालमा लेफ्ट टु सेन्टर, शान्तिपूर्ण रूपमा गणतन्त्र स्थापना, सशस्त्र युद्ध र सोको शान्तिपूर्ण अन्त्य, धर्म निरपेक्ष, समावेशीकरण, नेपालको समाजवाद उन्मुख संविधान, प्यालेस्टाइन युद्ध, जलवायु परिवर्तन, शान्ति र निःशस्त्रीकरण, सीमान्त र पिछडिएको वर्ग, तेस्रो लिंगी, भूराजनीतिलगायत विषयमा छलफल हुनेछ ।


यसैगरी विभिन्न मुलुकका फोरम, सभा, सम्मेलन, संवाद, अन्तर्क्रियाका साथै झाँकी र आन्दोलनका स्वरूपहरूसमेत प्रदर्शन हुनेछन् ।

सो क्रममा प्रतिनिधिसभा सदस्य तथा नेपाल बुद्धिजीवी परिषद्की इन्चार्ज विद्या भण्डारीले सोसोलिस्टहरूले विकल्पसहितको रूपान्तरणको विषय बोकेर हिँड्नुपर्ने बताइन् । शासकीय व्यवस्थामध्ये गणतन्त्र सबैभन्दा उत्तम विकल्प भएको उनको भनाइ छ । विश्वलाई एकीकृत गर्ने विषय मूल चुनौतीको रूपमा रहेको बताउँदै उनले भनिन्, ‘विश्वलाई एकीकृत गर्ने विषय चुनौतीको रूपमा छ । विश्व अर्थतन्त्रको नेतृत्व गर्ने विभिन्न पोलहरू खडा भएका छन् ।’

यस्तै कार्यक्रमको संयोजक डाक्टर नेत्र तिमल्सिनाले विश्व सामाजिक मञ्चले काठमाडौँको भृकुटीमण्डपमा हुन लागेको जानकारी दिए । उनले नवउदारवाद, भूमण्डलीकृत पुँजीवाद, जलवायु संकट, पितृ सत्ता, जाति तथा रंगभेद, नश्लभेद एवं लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायविरुद्ध हुने हिंसा, विभेद, द्वेषका विरुद्धमा एकजुट भएर गरिने विश्वभरका आन्दोलन र नागरिक समाजका संगठनहरूको सामूहिक शक्तिलाई प्रतिनिधित्व गर्ने बताए ।

‘विश्व सामाजिक फोरमले गर्ने कार्यक्रममा ३७० वटा कार्यक्रम हुनेछन् । श्रीलंका, पाकिस्तान, ल्याटिन अमेरिका, अमेरिका, ब्राजिललगायत ९१ देश र संयुक्त राष्ट्र संघ, आइएलओलगायत विभिन्न संघ संस्थाको सहभागिता हुनेछ,’ उनले भने, ‘कार्यक्रममा १३०० वटा मुभमेन्ट हुनेछन् । विभिन्न देशका कला तथा संस्कृति प्रदर्शन पनि हुनेछन् । र्याली पनि हुनेछ ।’

परिषद्का उपमहासचिव शुशील विकले कम्युनिष्ट आन्दोलन र समाजवादको विकास, नेपालको मौलिक विषयवस्तुलगायत कार्यक्रमको आयोजना गरिएको बताए ।
बुद्धिजीवी परिषद्का महासचिव गजेन्द्र थपलियाले कार्यक्रम सञ्चालन गरेका थिए ।

कार्यक्रममा सहभागी हुन संसारभरबाट सामाजिक आन्दोलनका प्रतिनिधिहरू नेपाल आउने क्रम सुरु भइरहेको छ। मजदुर आन्दोलनबाट अन्तर्राष्ट्रिय ट्रेड युनियनकै अध्यक्ष, महासचिव आउने भएका छन् ।

सन् २००१ मा ब्राजिलबाट सुरु भएको हो । त्यसमा महिला अधिकार आन्दोलन, किसान अधिकार आन्दोलन, मजदुर, युवा, यौनिक तथा लैंगिक अल्पसंख्यक, दलित अथवा जातीय विभेदमा परेका वर्ग समुदायका आवाज उठाइन्छ ।


Author

थप समाचार
x