दल

जनयुद्धमा योगदान गर्ने सम्पूर्ण परिवर्तनका पक्षधरलाई एकताबद्ध हुन प्रचण्डको अपिल​

इकागज |
फागुन १, २०८० मंगलबार १४:५० बजे

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले जनयुद्धमा योगदान गर्ने सम्पूर्ण परिवर्तनका पक्षधरलाई एकताबद्ध हुन अपिल गरेका छन् ।

मंगलबार काठमाडौँमा जनयुद्ध दिवस र पार्टीको विधान सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले जनयुद्धका कारण भएको परिवर्तनमाथि षडयन्त्र भइरहेको भन्दै जनयुद्धमा योगदान गर्ने सम्पूर्ण परिवर्तनका पक्षधरहरू एकताबद्ध हुनुपर्ने बताएका हुन् । उनले जनयुद्धकै कारण मुलुकमा ठूलो परिवर्तन भएको भन्दै परिवर्तनका लागि बलिदान गर्ने योद्धाहरूलाई आरोपित गर्ने अधिकार कसैसँग नभएको उल्लेख गरे ।


प्रचण्डले यसअघि भएका कमीकमजोरीको समीक्षा गरी माओवादी मोर्चालाई एकताबद्ध गर्न ढिलाइ गर्न नहुने जिकिर गरे । जनयुद्ध नेपालको इतिहासको दूरगामी महत्त्वको रहेको र आगामी दिनमा पनि रहने उनले बताए । अध्यक्ष प्रचण्डले नेपालमा जनयुद्ध सम्भव छ भन्ने निष्कर्षसहित आफूहरू अगाडि बढेको र सोहीअनुसार जनताले अभियानमा सहयोग प्रदान गरेको स्मरण गरे ।

तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा एक हजार दुई सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहेको छ । सम्मेलनमा केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, तीन केन्द्रीय आयोगका सदस्य, सात भौगोलिक र तीन गैरभौगोलिक प्रदेशका पदाधिकारी तथा जनवर्गीय सङ्गठनका पदाधिकारीको सहभागिता रहेको छ।  

पार्टीलाई व्यवस्थित रूपमा सञ्चालनका निम्ति आवश्यक विधान बनाउन सम्मेलन आयोजना गरिएको माओवादीले जनाएको छ । पार्टीले विधानको मस्यौदा तयार गर्न उपाध्यक्ष पम्फा भुसालको संयोजकत्वमा विधान मस्यौदा समिति गठन गरेको थियो । समितिले यसअघि नै पार्टी अध्यक्ष प्रचण्डलाई विधानको मस्यौदा बुझाएको थियो ।


Author

थप समाचार
x