दल

कांग्रेस महासमिति बैठक : मटन करीदेखि चिकेन रोष्टसम्म खाँदा सकिन्छ दैनिक १८ लाख (फोटो फिचर)

अतिन आचार्य |
फागुन ९, २०८० बुधबार १२:४२ बजे

ललितपुर- नेपाली कांग्रेसले महासमिति बैठकमा सहभागी सदस्यलाई खाजा र खानाको व्यवस्था गरेको छ । 

तीन दिनसम्म चल्ने महासमिति सदस्यको बैठकमा सहभागी सदस्यलाई अनुपम फुडल्याण्डले खाना खुवाइरहेको छ । फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा महासमिति सदस्य बैठक चलिरहेको छ । 


महासमिति सदस्यलाई बिहान साढे ७ बजेदेखि ११ बजेसम्म खाजा खाने समय छुट्टयाएको अनुपम फुडल्याण्डका सेफ ध्रुव आचार्यले जानकारी दिए । खानाको समय १२ बजेदेखि सुरू हुने उनले बताए ।

उनका अनुसार बिहानी खाजामा दैनिक मेन्यु परिवर्तन हुन्छ । पुरी तरकारी, छोला मसाला, जेरी, चिया-कफी । चना तारेको, बोइल एग, ब्रेड बटर जाम, चिया-कफी । खानामा जिरा राइस , कालो दाल जिम्बुले झानेको, आलु बोडी, तामा, मिक्स तरकारी, तावा रोटी, अचार सलाद, मटन करी नेपाली शैली, चिकेन रोष्ट र दही छन् ।

बिहानदेखि बेलुकासम्म चिया, कफी र कुकीज सहभागी सदस्यलाई उपलब्ध गराइरहने उनले जानकारी दिए । भेजिटिरिय खाना, हलाल खाना र नर्मल खाना उपलब्ध छन् । 

महासमिति सदस्यलाई खाना तथा खाजा खुवाउन अनुपम फुडल्याण्ले १५० देखि १७० जना स्टाफको व्यवस्था गरेको छ । उनले दैनिक २५ सय देखि ३ हजार सहभागीले खाना तथा खाजा खाइरहेको बताए । 

महासमिति सदस्य बैठकमा सहभागी सदस्यलाई खाना खुवाउँदा दैनिक १८-१९ लाख खर्च भइरहेको उनले जानकारी दिए । पार्टीका सदस्यलाई  खाना खुवाएर सहयोग गरिरहेको उनको भनाइ छ ।

किचन र सर्भिसका प्रत्येक स्टाफ कम्तीमा १८ घण्टा खटिरहेको आचार्यले बताए । उनका अनुसार सरसफाइमा महिला कर्मचारी राखिएको छ । सर्भिसमा महिला र पुरूष वेटर छन्। किचनमा सबै पुरूष छन् ।

पार्टीका सदस्यलाई खाना खुवाउन पाउनु हाम्रो लागि सौभाग्य रहेको उनले बताए । 'नि:स्वार्थ भावना राखी र नाफा नराखी पार्टीका सदस्यलाई खाना खुवाएका हौँ,' उनले भने ।

पार्टीको १४औँ महाधिवेशनमा पनि अनुपम फुडल्याण्डले खाना खुवाएको आचार्यले जानकारी दिए ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x