दल

मेरो नाम जोडेर अनावश्यक रूपमा समाचार लेखियो मानहानिको मुद्दा हाल्छु : ​पूर्व महानिरीक्षक खनाल

इकागज |
चैत २, २०८० शुक्रबार १८:४१ बजे

काठमाडौँ- नेकपा एमालेका नेता तथा पूर्व महानिरीक्षक सर्वेन्द्र खनालले कान्तिपुर दैनिकले आफूलाई सुन तस्करी प्रकरणमा अनावश्यक रूपमा नाम जोडेर समाचार लेखेको भन्दै मानहानिको मुद्दा हाल्ने बताएका छन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले आफूलाई सुन तस्करी प्रकरणमा अनावश्यक रूपमा नाम जोडेर समाचार लेखेको भन्दै कान्तिपुर दैनिकलाई मानहानिको मुद्दा हाल्ने बताएका हुन् । खनालले कान्तिपुरको भ्रमपूर्ण समाचारले आफूमाथि मानसिक दबाब र मानवअधिकारको पनि हनन भएको बताउँदै आफूले देश र जनताको लागि ३० वर्षे प्रहरी करियरमा राम्रोमात्रै काम गरेको दाबी गरे ।


आफूले एमालेका नेताहरू कसैलाई पनि आफूमाथि अनुसन्धान नगर भनेर नभनेको जिकिर गरे । उनले अहिले सुन तस्करी प्रकरणमा गठित छानबिन आयोगले बुझाएको प्रतिवेदनमा भएका सबैलाई कारबाही गर्नुपर्ने माग गरे ।

खनालले अब आयोगको प्रतिवेदन आइसकेपछि दोषीहरूलाई कारबाही गर्न गृहमन्त्रीलाई सोधिरहनुपर्ने कुनै आवश्यकता नरहेको दाबी गरे । उनले तथ्यहीन, भ्रमपूर्ण र हुँदै नभएको कथाहरू बुनेर समाचार सम्प्रेषण गरिएको प्रति आफूले घोर भर्त्सना गरेको उल्लेख गरे ।


Author

थप समाचार
x