दल

कांग्रेस कोशी प्रदेशले पठायो इलाम २ का लागि आकांक्षीहरुको नाम‚ आचार्य पहिलो नम्बरमा

इकागज |
चैत १२, २०८० सोमबार १३:२ बजे

फाइल तस्बिर

काठमाडौं - नेपाली कांग्रेस कोशी प्रदेशले इलाम क्षेत्र नम्बर २ काे उपनिर्वाचनका लागि आकांक्षीहरुको नाम पठाएको छ । प्रदेश सभापति उद्धव थापाका अनुसार चैत ११ गतेको मिति राखेर आकांक्षी उम्मेदवारहरूको नाम केन्द्रीय समितिमा पठाइएको हो ।

प्रदेश समितिले पहिलो नम्बरमा भेषराज आचार्यको नाम सिफारिस गरेको छ । दोस्रोमा पूर्वसांसद केशव थापा र तोस्रोमा जिल्ला सभापति डम्बर खड्काको नाम सिफारिस गरेको छ । 


“कांग्रेस इलाम कार्य समितिले पठाएको सात जनाको नाम जस्ताको त्यस्तै प्रदेश समितिले निर्णय गरेर केन्द्रमा पठाएका छौं । बाँकी विषयमा केन्द्रीय समितिले नै निर्णय गर्छ‚” उनले भने । 

कांग्रेस इलाम जिल्ला कार्य समिति इलामले पनि चैत्र ७ गते नै आकांक्षी उम्मेदवारहरूको नाम प्रदेश समितिलाई पठाइसकेको कांग्रेस इलामका सचिव पूर्ण गौतमले जानकारी दिए । जिल्ला पनि क्षेत्रीय समितिले पठाएको नाम जस्ताकै त्यस्तै प्रदेशलाई पठाएको गौतमको भनाइ छ । 

कांग्रेसको क्षेत्रीय कार्यसमितिले गएको मंगलबार इलामको चुलाचुलीमा बसेको पार्टी क्षेत्रीय कार्यसमितिको बैठकले उमेदवारको नाम सिफारिस गरेको हो । क्षेत्रीय सभापति डिकेन्द्र इदिङ्गोका अनुसार विधानले दिएको अधिकार र व्यवस्था अनुसार आकांक्षीहरुको नाम पठाइएको हो ।

“क्षेत्रीय समितिको बैठकबाट पहिलो नम्बरमा महासमिति सदस्य एवं महाधिवेशन प्रतिनिधि भेषराज आचार्यको नाम समावेश गरेर पठाएका छौं । दोस्रो नम्बरमा पूर्वसांसद केशव थापाको नाम सिफारिस गरेका छौं‚” उनले भने । 

समितिले  तेस्रोबाट क्रमशः जिल्ला सभापति डम्बर खड्का‚ संविधानसभा सदस्य नगेन्द्र कुमाल र नेता रमेश लिङ्देनको नाम सिफारिस गरेको उनले जानकारी दिए । बैठकले आकांक्षीद्वय चन्द्रमाया लिम्बू र चन्द्रकला राईको नाम पनि सिफारिस गरेर पठाइएको उनले बताए । 

एमाले उपाध्यक्ष तथा उक्त क्षेत्रका सांसद सुवासचन्द्र नेम्वाङको गत भदौमा निधन भएको थियो । त्यसैले निर्वाचन हुन लागेको हो । कांग्रेसबाट मुख्य गरी आचार्य, थापा, सभापति खड्का र कुमाल मुख्य आकांक्षीको रुपमा दौडधुपमा छन् । इलाम क्षेत्र नम्बर २ कांग्रेसको बलियो क्षेत्र मानिन्छ ।

 


Author

थप समाचार
x