दल

देउवालाई प्रश्‍न : जयसिंहको परिवारलाई न्याय दिने कि, न्याय माग्‍नेलाई धम्क्याउने ?

विश्‍लेषक भन्छन् : देउवा भारतसामू लम्पसार परे

सन्तोष अधिकारी |
भदौ २०, २०७८ आइतबार १७:१९ बजे

काठमाडौँ -  २०७४ कात्तिक १४ गते कांग्रेस केन्द्रीय कार्यालय सानेपामा भएको एक कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले भनेका थिए, ‘भोलि कम्युनिष्ट शासन आयो भने फेरि डर–त्रासकै शासन हुनेछ । कम्युनिस्ट शासनमा कहाँ पाउँछ अधिकार, पाउँछ ? अन्याय भयो भन्न पाइन्न, बोल्न  त के रुन पनि पाइन्न ।’

अहिले देउवाकै नेतृत्वमा देशको बागडोर छ, उनी प्रधानमन्त्री छन् । त्यसो त उनकै विश्वासपात्र मानिएका बालकृष्ण खाण गृहमन्त्री छन् । कम्युनिष्ट शासन आयो भने बोल्न नपाइने अभिव्यक्ति दिने देउवाले नै गृहमन्त्रालयमार्फत अभिव्यक्तिमा लगाम लगाउने धम्की दिएका छन् । हुन त अहिले उनको सरकार कम्युनिष्टहरुकै भरथेगमा अडिएको सरकार हो । यो कुरा देउवाले बिर्सेको हुनुपर्छ । 


सरकारले गृहमन्त्रालयका प्रवक्ता तथा सहसचिव फणिन्द्रमणि पोखरेलको हस्ताक्षरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध बोल्न, विरोध नगर्न र त्यस्तो गरेको प्रति आपत्ति जनाउँदै विज्ञप्ति नै जारी गरेको छ । 

दार्चुलास्थित व्यास गाउँपालिका २ का जयसिंह धामी महाकाली नदीमाथिको तुइन तर्नेक्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी)का जवानले तुइन काटिदिँदा महाकालीमै बेपत्ता छन् । सरकारले उक्त घटनाको छानबिनको लागि भन्दै समिति बनायो । समितिले घटना भएको महिना दिनपछि बल्लतल्ल प्रतिवेदन सरकारलाई बुझायो । प्रतिवेदनमा जयसिंह बेपत्ता हुनुमा भारतीय फौजको संलग्न रहेको भनिएको छ । उक्त घटनालाई लिएर देउवा नेतृत्वको सरकारको आलोचना भइरहेको छ । घटना भएको महिना दिनसम्म पनि कुनै ठोस निर्णय हुन नसकेको भन्दै आलोचना र विरोध भएको हो । 

विभिन्न राजनीतिक दलसम्बद्ध संगठनहरुले देउवा नेतृत्वको सरकार, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विरोध गरेका हुन् । विरोधमा उत्रिएकाहरुले जयसिंह धामीलाई न्याय माग्दै, भारतीय हस्तक्षेप अन्त्य हुनुपर्ने माग राखेका छन् । विरोधमा उत्रिएकाहरुले भारतीय प्रधानमन्त्री मोदीको पुत्ला जलाउनेदेखि उनीविरुद्ध नाराबाजी गरिरहेका छन् । 

तर, देउवा नेतृत्वको सरकारले जयसिंहका परिवारलाई न्याय दिन छोडेर उल्टै भारतीय प्रधानमन्त्री मोदीविरुद्ध लगाइएको नारा बन्द गर्न र बन्द नगरे कारबाही गर्ने धम्की दिएको छ । ‘विगत केही दिनयता छिमेकी मित्रराष्ट्रका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी नाराबाजी गर्ने, जुलुस प्रदर्शन गर्ने र पुत्ला दहन गर्ने गतिविधि प्रति गृहमन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ । यस्ता उच्छृंखल र निन्दनीय गतिविधि प्रति मन्त्रालयको गम्भीर आपत्ति प्रकट गर्दछ’ मन्त्रालयको विज्ञप्तिमा भनिएको छ । 
सरकारले धम्की दिँदै सोही विज्ञप्तिमा भनिएको छ, ‘मित्रराष्ट्रहरु विरुद्ध लक्षित हुने गतिविधिलाई नियन्त्रण गर्न र त्यस्ता गतिविधिमा संलग्न भई कानुन हातमा लिनेलाई कारबाही गरिने व्यहोरा जानकारी गराइन्छ ।’ 

कस्ले जलाएको थियो मोदीको पुत्ला ? 

जयसिंह धामी प्रकरणलाई लिएर नेपालमा भारतको चर्काे विरोध भइरहेको छ । मोदीको पुत्लासमेत जलाइएको छ । मोदीको पुत्ला जलाउने सत्ता गठबन्धनमा सहभागी माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)निकट विद्यार्थी संगठन हो । संगठनका विद्यार्थीले बिहीबार प्रदर्शनी मार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पस अगाडिको सडकमा विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले जयसिंह धामीलाई न्याय देऊ, सीमा अतिक्रमण बन्द गर, नेपालमा भारतीय हस्तक्षेप बन्द गर भन्दै मोदीको पुत्ला जलाएका थिए । प्रशर्दनमा उत्रिएका विद्यार्थीलाई प्रहरीले दमनको प्रयास गरेको थियो । प्रहरी दमनमा नेकपा एसका विद्यार्थी संगठन अध्यक्ष सुदेश पराजुली सामान्य घाइतेसमेत भएका थिए । 

भारतसामू लम्पसार परे : विश्लेषक श्याम श्रेष्ठ 

आफ्नो वचन, चरित्र बिर्सिए । नेपालको संविधानले नकरात्मक कुराको विरोध गर्न रोकछेक गर्ने, अभिव्यक्ति स्वतन्त्रतालाई ताला लगाउने भनेर भन्दैन । जस्ले रोक्छ खोज्छ उसलाई यो त अदालतमा मुद्दा लाग्ने विषय हो । भारतसामू लम्पसार परेको हो ।

जयसिंह धामीको विषयमा सिंगो राष्ट्र एक ढिक्का भएर बोल्नुपर्ने हो नि त ।  सरकार, बाहिर के, मिडिया के, पुरै देश एक ढिक्का हुनुपर्ने विषय हो । नेपाली जनता रिझाउन पर्दैन, भारतलाई रिझाएपछि मेरो कुर्सी पक्का हुन्छ भन्ने देउवाको मानसिकता हो ।   

एमसीसीविरुद्ध बोल्नेलाई पनि सरकारी धम्की 

सरकारले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरोधमा उत्रिनेलाई पनि धम्की दिएको छ ।  एमसीसीको नाम उल्लेख नगरी गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले भदौ १८ गते जारी विज्ञप्तिमा भनिएको छ, ‘हालैका दिनमा मित्रराष्ट्रहरुको सहयोगमा सञ्चालित विकास आयोजना, त्यहाँ कार्यरत कर्मचारी, विदेशी नागरिक र तिनको सम्पत्तिलाई लक्षित गरी प्रत्यक्ष वा परोक्ष रुपमा सञ्चार माध्यम र सामाजिक सञ्जालमा नकरात्मक टिकाटिप्पणी गर्ने, धम्कीपूर्ण अभिव्यक्ति दिने जस्ता गतिविधिहरु प्रति नेपाल सरकारको गम्भीर ध्यानाकर्षण भएको छ । 

विज्ञप्तिमा यस्ता गतिविधि गर्ने, अभिव्यक्ति दिनेमाथि गृहमन्त्रालयले सुक्ष्म रुपमा निगरानी राख्‍ने, विश्लेषण गर्ने गरिरहेको र त्यस्ता गतिविधि गर्नेलाई कडा कारबाही गरिने धम्की दिइएको छ । एमसीसीको विषयमा सरकार आफैँ स्पष्ट छैन । त्यसैले त सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को सम्झौताका ‘विवादित विषय’बारे स्पष्ट गर्न अमेरिकी सरकारलाई आग्रह गर्दै पत्र पठाएको छ ।  

अर्थमन्त्रालयले अमेरिकी सरकारलाई एमसीसी सम्झौतामा रहेका अस्पष्ट बुँदाबारे थप स्पष्ट पार्न भनिरहेको बेला सरकार भने त्यसको विरुद्ध बोल्नेलाई लगाम लगाउने प्रयास गरिरहेको छ । सरकारले पत्रमा एमसीसी अमेरिकाको ‘इन्डो–प्यासेफिक रणनीति’को अंग हो वा होइन प्रष्ट पार्न आग्रह गरेको हो ।  

देउवाले यो सबै किन गरिरहेछन् ?

देउवालाई पार्टीको १४ औँ महाधिवेशन जसरी पनि जित्‍नु छ । पद हासिल गर्नका लागि देउवा जुन सुकै तल्लो तहसम्म झर्न सक्छन् । अहिले देउवाले गरेको पनि त्यही हो । नेपालको आन्तरिक राजनीति तथा नेपालका दलको भित्रि राजनीतिमा सहजै हस्तक्षेप गर्ने एक छिमेकी रिझाउने र अर्कोलाई बिझाउने काम गरेका छन् । अहिले उनी जुनसुकै हालतमा पनि दोस्रो कार्यकालका लागि सभापति बन्ने लाेभमा जुनसुकै सम्झौता गर्न पछि पर्दैनन् ।

अहिले देउवाका लक्ष्य आफ्ना भन्दा भन्दा पहिले आफ्नो लागि सभापति पद कसरी सुनिश्चित गर्ने र त्यसका लागि पार्टीभित्र संस्थापन इतर र बाहिर पनि भारतलाई कसरी खुसी बनाउने भन्नेमै छ ।  भारतलाई रिझाउन देउवाले भारत लाई रिझाउन अभिव्यक्ति स्वतन्त्रमा अंकुश लगाउनेमात्र होइन, पीडितलाई अझै अन्याय गरेका छन् । 

भारतलाई रिझाउन अभिव्यक्ति स्वतन्त्रमा अंकुश लगाउनेमात्र होइन, पीडितलाई अझै अन्याय गरेका छन् । एसएसबीका कारण अन्यायमा परेका जयसिंह धामीलाई उनले न्याय दिलाउँछन् भन्नेमा अब कसैलाई आशा छैन । आम नेपालीको नजरमा देउवाको छवि धुमिल भएको छ र उनीमाथि यो सवालमा सधैं औंला उठीरहनेछ । 


Author

सन्तोष अधिकारी

अधिकारी राजनीति तथा अन्य समसामयिक विषयमा कलम चलाउँछन् ।


थप समाचार
x