दल

कार्यकर्ता रिहाइको माग गर्दै जनमत पार्टीद्वारा ९ दिने आन्दाेलनकाे घाेषणा

सुभाष कर्ण |
कात्तिक ८, २०७८ सोमबार ९:५६ बजे

जनकपुरधाम - प्रहरी हिरासतबाट आफ्ना कार्यकर्ताकाे रिहाइकाे माग गर्दै डा. सिके राउत नेतृत्वको जनमत पार्टीले ९ दिने चरणबद्ध आन्दोलनकाे घाेेषणा गरेको छ । जनमत पार्टीको आइतबार बसेकाे बैठकले कार्यकर्ताकाे रिहाइका लागि दबाव बनाउन सिटी जुलुसदेखि आरपार आन्दाेलनकाे घाेषणा गरेको हो ।

गत बिहीबार खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरधामका निमित्त प्रमुख राजेश कुशवाहालाई अर्धनग्न बनाइ बजार घुमाउनेसहितका दुर्व्यवहार गरेकाे आराेपमा प्रहरीले जनमत पार्टीका १७ जना नेता कार्यकर्तालाई पक्राउ गरी मुद्दाकाे तयारी गरेको छ । 


जनमतले पहिलो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत कार्तिक ८ गते सोमबार जिल्ला स्तरीय बैठक राख्ने, जिल्लामा आन्दोलन समिति बनाउने, जिल्ला कार्यकारिणी समितिबाट हरेक पालिकालाई आन्दोलनका लागि तयार गर्न अनुगमन अधिकारी तोक्ने र हरेक जिल्लाको सदरमुकाममा सिटी जुलुस निकाल्ने कार्यक्रम छ।

त्यस्तै, कातिक ९ गते गाउँपालिका स्तरीय बैठक राख्ने, पालिका स्तरीय आन्दोलन समिति बनाउने, पालिकामा बाइक रैली गर्दै नारा माइकिंग गराउने, बुधबार हरेक वडामा आन्दोलन समिति बनाउने, वडामा कोणसभा गर्ने र मशाल जुलुस निकाल्ने, बिहीबार वडामा युवा दस्ता प्रशिक्षण दिने, आरपार आन्दोलन गर्न तयारी गर्ने, शुक्रबार जिल्ला सदरमुकाममा मसाल जुलुस निकाल्ने पार्टीले जनाएको छ ।

कातिक १० गते वडाहरूमा आन्दाेलन समिति बनाई काेणसभा तथा जुलुस निकाल्ने, कातिक ११ गते वडाहरूमा युवा दस्तालाई आरपारकाे आन्दाेलनका लागि प्रशिक्षण दिने र कातिक १२ गते जिल्लाका सदरमुकामहरूका मसाल जुलुस निकाल्ने कार्यक्रम तय गरेकाे छ ।

जनमतले कार्तिक १३ गते शनिबार अधिवेशनका कार्यक्रमहरू सम्पन्न गर्ने, कार्तिक १४ गते आइतबार केन्द्रीय कार्यकारिणी समिति र जिल्ला कार्यकारिणी समितिको बैठकले आन्दोलन समीक्षा गरी आन्दोलनको थप कार्यक्रम ल्याउने, कार्तिक १५ गते गाउँपालिकाको ठूलो बजार र हटियाहरूमा कोणसभा गरेर आन्दोलनका मागहरू जनता समक्ष अवगत गराउने र कार्तिक १६ गते मंगलबार वडा तथा टोलहरूमा कोणसभा र अन्तरक्रिया कार्यक्रमहरू गरेर माग जनता समक्ष अवगत गराउने निर्णय गरेकाे छ ।

यता पक्राउ परेका जनमतका १७ जना नेता कार्यकर्तामाथि अनुसन्धानगरी सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालत धनुषामा अपराधी प्रवेश तथा राज्य उपद्रव शीर्षकमा मुद्दा चलाइने तयारी भइरहेकाे जिल्ला प्रशासन कार्यालय धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद वास्ताेलाले जानकारी दिए । पक्राउ परेकाहरुमध्ये सिरहाका ७ जना, धनुषाका ६ जना, महोत्तरीका ३ जना र सर्लाहीका एकजना जनमतका कार्यकर्ता छन् ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x