दल

एमाले उदयपुरमा अध्यक्षका आकांक्षी बढ्दै, चार जनाको उम्मेदवारी घोषणा

इकागज |
पुस २३, २०७८ शुक्रबार २१:२ बजे

उदयपुर - नेपाल कम्युनिष्ट पाटी (एमाले) उदयपुरको आठौं जिल्ला अधिवेशन शुक्रबारदेखि सदरमुकाम गाईघाटमा सुरु भएको छ । अधिवेशनबाट सर्बसम्मत नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ । आठौं जिल्ला अधिवेशनमा अध्यक्षमा दाबी गर्दै चार जनाले उम्मेदवारी घोषणा गरेको छ । 

गुटबन्दी अन्त्य गर्नका लागि सर्बसम्मत नेतृत्व चयन गर्ने भन्दै पार्टी नेतृत्व लागेको भए पनि आकांक्षीहरु बढ्दै जाँदा व्यवस्थापनमा समस्या देखिन थालेको छ । अधिवेशन सुरु नहुँदै आधा दर्जन बढीले अध्यक्षको दाबी गरेको पाइएको छ । अधिवेशन हुनु भन्दा महिनादिन अघिदेखि नै नेताहरुले नेतृत्व दाबी गरिरहेका थिए । 


कोही सर्बसम्मत पाए मात्र नेतृत्व लिने दाउमा छन् भने कतिपय चुनाबी प्रतिस्पर्धा गरेरै भए पनि नेतृत्वमा पुग्ने होडमा छन् । केहीले समूह बनाएर उम्मेदवारी घोषणा गरि सकेको हुँदा समग्र परिस्थितिले एमाले उदयपुरमा सर्बसम्मत नेतृत्व चयनको सम्भावना कमै रहेको नेता कार्यकर्ताहरु बताउँदै आएका छन् ।

अघिवेशन सुरु हुन अघि नै ४ जनाले अध्यक्षको उम्मेदवारी घोषणा गरेका छन् । वर्तमान सचिव प्रमेश्वर घिमिरे र सचिवालय सदस्य कुशलबाबु बस्नेतले प्यानलसहित अध्यक्षको उम्मेदवारी घोषणा गरेका छन् भने अर्का सचिवालय सदस्य कालु लामाले टेकबहादुर राउतलाई सचिव बनाएर अध्यक्ष उम्मेदवारी घोषणा गरेका छन् । त्यसैगरी जिल्ला समन्वय समिति उदयपुरका प्रमुख खड्गबहादुर परियारले आफ्नो उम्मेदावारी घोषणा गरि सकेका छन् । अन्य आकांक्षीहरुमा अध्यक्ष ईश्वरमणि राउत, उपाध्यक्ष बिमल कार्की, दुर्गाकुमार थापा, गोपाल खत्री रहेका छन् । 

राउत, थापा र खत्री सर्बसम्मत पाए मात्र अध्यक्ष बन्ने बताइरहेका छन् ।  कार्की सर्बसम्मत वा चुनाव कुनै पक्षमा नदेखिए पनि अध्यक्ष हुने वातावरण आफ्नो भागमा पार्ने गरी ‘रिजर्भ’ रहेको उनी निकट कार्यकर्ताहरु बताउँछन् । परियारले पार्टीलाई दलित अधिकारको पैरवी अभियानसँगै ३० वर्षदेखि अनवरत योगदान गरेकोले आफूलाई अध्यक्षको सबल दाबेदार रहेको बताउँछन् । 

अहिलेसम्म आकांक्षीहरु कोही पनि पछि हट्ने अवस्थामा देखिएका छैनन् ।  बेलका नगर प्रमुख समेत रहेका र केपी शर्मा ओली पक्षधर दुर्गाकुमार थापा चुनाब नलड्ने तर, अध्यक्षको कुर्सी आफ्नो पक्षमा पार्ने दाउमा लागेका छन् । थापा, लामा, परियार, बस्नेत र भागवत राउत सुरुवाती समयदेखि ओली पक्षधर हुन् । चुनाबी प्रतिस्पर्धा जानका लागि कालुमान लामा, प्रमेश्वर घिमिरे, कुशलबाबु बस्नेत, खड्गबहादुर परियारले आफनो उम्मेदवारी घोषणा गरेको जनाएका छन् ।


Author

थप समाचार
x