दल

एमसीसीबारे नेकपा एसका तीन थरी कुरा

सन्दिप कुमार बैश्य |
फागुन ७, २०७८ शनिबार २०:५ बजे

काठमाडाैँ – अमेरिकी अनुदान सहयोग सम्झौता (एमसीसी) का विषयमा सत्ता गठबन्धन दल नेकपा एकीकृत समाजवादीका तीन नेताले तीन थरीका अभिव्यक्ति दिएका छन् । आज बसेको एकीकृत समाजवादीको स्थायी कमिटी बैठकपछि एमसीसीका विषयमा सोही पार्टीकी सचिव तथा सहरी विकास मन्त्री रामकुमारी झाक्री, सम्मानित नेता झलनाथ खनाल र पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले फरक–फरक अभिव्यक्त दिएका छन् ।

एकीकृत समाजावादीका प्रवक्ता खतिवडाले एमसीसी संसद्‍मा पेस भए यथास्थितिमा पारित गर्न नसकिने निर्णय बैठकले गरेको बताए । उनले भने, ‘यथास्थितिमा एमसीसीलाई पारित गर्न नसकिने स्थायी कमिटीले सर्वसम्मत रुपमा निर्णय गरेको हो ।’ यसलाई संशोधन गरेरमात्र पारित गर्न सकिने पार्टीको धारणा रहेको उनले स्पष्ट पारे । 


‘टेबल गर्ने कुरामा हाम्रो धेरै आपत्ति छैन । संसद्मा छलफल गर्न पाउनुपर्छ । तर यसका केही विषयहरू स्पष्ट हुनुपर्छ । जबरजस्ती टेबुल गरिने छैन,’ उनले भने, ‘यसका लागि सहमति हुनुपर्छ । संसद्को अवरोध हट्नुपर्छ । अनि मात्र टेबल गर्ने वातावरण बन्नसक्छ ।’ 

यसबारे थप निर्णय गर्नुपरे बैठकले थप अधिकार केन्द्रीय सचिवालयलाई दिएको पनि खतिवडाले जानकारी दिए । जबरजस्ती टेबल गर्न नदिन आफूहरूको कोसिस रहने तर त्यसो गरिए त्यसबारे आवश्यक निर्णय सचिवालयले गर्ने खतिवडाको भनाइ छ ।

त्यस्तै सोही स्थायी कमिटी बैठकपछि सहरी विकास मन्त्री तथा पार्टी सचिव झाँक्रीले एमसीसी सम्झौतालाई संसद्‍मा टेबल गर्न बैठकले निर्णय गरेको बताइन् । झाँक्रीले स्थायी समिति बैठकले एमसीसी सम्झौतालाई संसद्‍मा टेबल गर्नबाट नरोक्ने सहमति भएको विभिन्न सञ्चार माध्यमलाई बताएकी छन् ।

उनले भनेकी छन्,‘टेबल गर्न दिने तर एमसीसी सम्झौताको संशोधन, स्वीकार या अस्वीकार गर्ने जिम्मा सार्वभौम संसद्को हो।' लोकतान्त्रिक प्रणालीका पक्षमा संविधानको रक्षाका लागि बाध्यतापूर्वक बनेको गठबन्धनले एमसीसी संसदमा जसरी पनि पेस गर्ने बताइन् ।

उनले एससीसीबारे अझ प्रष्ट पार्दै भनेकी छन्, ‘ हाम्रो विदेश नीतिमा प्रष्ट छौं। परराष्ट्र सम्बन्धका कुरामा पनि प्रष्ट छौं। पञ्चशीलका सिद्धान्त र असंलग्न परराष्ट्र नीति भित्रै रहनेगरी यसलाई अघि बढाउनु पर्छ।  हाम्रो भूमिलाई कसैको विरुद्ध वा कसैको पक्षमा प्रयोग हुन नदिने कुरामा हामी प्रतिबद्ध छौं।’  साथै उनले एमसीसी सम्झौता नेपालले पहिले नै गरिसकेको अन्तर्राष्ट्रिय प्रतिबद्धता भएकोले यसलाई अघि बढाउनुपर्ने बध्याता रहेको बताएकी छिन् ।
 
पूर्वप्रधानमन्त्री एवं समाजवादीका सम्मानित नेता खनालले आज बसेको पार्टी स्थायी कमिटी बैठकले एमसीसी सम्झौता संशोधनविना नस्वीकार्ने सर्वसम्मत निर्णय भएको भन्दै सम्झौता टेबल गर्न दिने या नदिने भन्ने कुनै निर्णय नगरेको बताएका छन् ।  

उनले गठबन्धनमा सहमतिबिना सरकारले सम्झौता कुनै हालतमा संसदमा टेबल गर्नै नसक्ने दाबी गरेका छन् । उनले भने, ‘स्थायी कमिटी बैठकले एमसीसीको विषयमा ठोस निर्णय गरेको छैन । हाम्रो अडान यथास्थितिमा एमसीसी नस्वीकार्ने भन्ने नै हो ।’ उनले त्यसबाहेकका प्रक्रिया र निर्णयका बारेमा गठबन्धनमा रहेका दलहरूसँग छलफल गरेर जाने निर्णय भएको बताए । 

नेकपा एसका नेतापिच्छेका फरक कुरा मात्र होइन, विज्ञप्ति नै पनि फरक फरक जारी भएका थिए । यसरी धेरैथरी धारणा आएपछि पार्टीका महासचिव बेदुराम भुसालले जारी गरेको विज्ञप्ति आधिकारिक भएको नेकपा एसले जनाएको छ । 


Author

सन्दिप कुमार बैश्य

बैश्य इकागजका संवाददाता हुन् ।


थप समाचार
x