राजनीति

आफूले आफैँलाई ९० अंक दिएर मन्त्री पदबाट बिदा भए आले

कमल विष्ट |
असार १२, २०७९ आइतबार १९:२१ बजे

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले राजीनामा घोषणा गरेका छन् । नेकपा एकीकृत समाजवादीको तर्फबाट मन्त्री बनेका आलेले आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा घोषणा गरेका हुन् । 

पत्रकार सम्मेलनमा आलेले २ सय ६३ दिन मन्त्री हुँदा आफूले गरेको कामको बेलिविस्तार लगाएका थिए । सुरुमै उनले आफू एक्सनमा विश्‍वास गर्ने भएकाले आफूलाई कामको छिटो नतिजा चाहिने बताएका थिए । उनले भने, ‘म प्रक्रियाभन्दा एक्सनमा विश्‍वास गर्दै हुर्केको राजनीतिक कार्यकर्ता हुँ । मलाई चाँडै रिजल्ट चाहिन्छ ।’ यस्‍तै उनले स्वदेश तथा विदेशमा रहेका नेपालीहरूले आफूलाई ‘एक्सन मन्त्री’को उपमा समेत दिएको दाबी गरे । 


त्यसपछि उनले कोही पत्रकारले आफ्नो कामलाई आफैँले कति दिनुहुन्छ भनेर सोध्यो भने ९० अंक दिने पनि जिकिर गरे । ‘मलाई यदि कसैले तपाई आफ्नो कामबाट कतिको सन्तुष्ट हुनुहुन्छ भनेर पत्रकार साथीहरूले सोध्नुभयो भने मेरो उत्तर हुनेछ ९० प्रतिशत । मैले यो अवधिमा ९० प्रतिशत अंक ल्याएको ठानेको छु,’ उनले आफ्नो कामको वास्तविक मूल्यांकन जनताले गर्ने छन् भन्‍दै भने । 

करिव आधा घण्टा आफ्नो कामको चर्चा गरेका उनले आफ्नो कार्यकालमा थुप्रै काम भएको दाबी समेत गरे । आफू मन्त्री हुँदा वायुसेवा निगम, नारायणहिटी, पशुपति, पर्यटन बोर्डलगायतका क्षेत्रमा गलत काम गर्नेलाई कारबाही गरेको उल्‍लेख गर्दै त्यसरी काम गर्दा आफूलाई अन्तर्राष्ट्रिय शक्तिसम्मको दबाब झेल्नु परेको बताए । आफूलाई विभिन्न ठाउँबाट काम नरोक्न प्रलोभनसमेत आएको उनको जिकिर थियाे । 

आलेले पशुपतिनाथ मन्दिरका खाली भित्ताहरूमा कलात्मक चित्र बनाउन निर्देशन दिएको पनि जानकारी दिए । अन्य वर्षको तुलनामा यस वर्षको महाशिवरात्रि भब्‍य र सभ्य तरिकाले सम्पन्‍न भएको उनले दाबी गरे । 

त्यस्तै, २०७२ को महाविनाशकारी भूकम्पका कारण क्षतविक्षत भएका सम्पदाहरूको पुनर्निर्माण पनि आफैले गरेको उनकाे भनाइ छ । उनले भने, ‘भूकम्पबाट क्षति भएका ९ सय सम्पदाहरूमध्ये २०७८ देखि हालसम्म ६५६ वटा सम्पदाहरूको संरक्षण तथा पुनर्निर्माण कार्य सम्पन्‍न भएको छ ।,’

साेही क्रममा आलेले आफ्नो कार्यकालमा क्यासिनोबाट ९३ करोड १० लाख बक्यौता असुल गरेको पनि बताए । त्यस्तै, आफ्नो ८ महिने कार्यकालमा १४ वटा स्टार होटल र ६ वटा रिसोर्ट दर्ता भएको पनि उल्लेख गरे । 

त्यस्तै, आलेले आफू मन्त्री रहेको समयमा पर्यटन क्षेत्रमा धेरै सुधार आएको दाबी गरे । उनले देशका विभिन्‍न हिमाल आरोहण गर्नेहरूको संख्यामा उल्लेख्य वृद्धि भएको जनाए । यस सिजनमा मात्र ७ सय ७३ पुरुष र २ सय १३ महिला गरी जम्मा ९ सय ८६ पर्वतारोही सहभागी भएको बताए । र, उनीहरूबाट ४९ करोड ३ लाख ७२ हजार रुपैयाँ शुल्क संकलन गरिएको जानकारी दिए ।

उनले आफ्नो कार्यकालमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थुप्रै दर्जनौ सुधारका काम भएको जिकिर गरे । उनले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पनि आफू मन्त्री हुँदा सञ्‍चालनमा आएको सुनाए । 

२५६६ औँ जन्मजयन्तीका अवसरमा उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई गौतम बुद्ध नेपालमा जन्मिएका हुन् भन्‍नेमा रहेको अन्यौलतलाई चिर्ने काम गरेको समेत दाबी गरे । आलेले आफ्नो कार्यकालमा नेपालको सबैभन्दा ठूलो ध्यान केन्द्र तथा सभा हल पनि सम्पन्‍न भएको बताए ।

उनले आफ्नो कार्यकाल सफल बनाउन प्रधानमन्त्री शेरबहादुर देउवा, पार्टी अध्यक्ष माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलगायतले ठूलो भूमिका खेलेको उल्लेख गरे । आलेले आफूलाई सधैँ गलत निर्णय लिनबाट हप्कीदप्की सहँदै निरन्तर साथ र सहयोग गर्ने मन्त्रालयका सम्पूर्ण कर्मचारीहरूलाई पनि धन्यवाद दिए ।

उनले मन्त्रीकै हैसियतमा नभए पनि विकृतिविरुद्ध आफ्नो खबरदारी सदा रहिरहने बताए । ‘समयले मागेको खण्डमा म सुधारका निम्ति पुनः नेतृत्वमा फर्किने नै छु । पछि आउने नेतृत्वले मैले थालेका सुधारका कामलाई निरन्तरता दिनुहुनेछ,’ उनले अन्तिममा भने । 


Author

कमल विष्ट

विष्ट रिपोर्टर हुन् ।


थप समाचार
x