कूटनीति

कतारी अमिर थानी नेपाल आउँदा पनि श्रम सम्झौता किन हुन सकेन ?

अतिन आचार्य |
बैशाख १२, २०८१ बुधबार १४:२० बजे

तस्विरः फाइल फोटो

काठमाडौँ- नेपाल र कतारबीच कला संस्कृति, शिक्षा, सञ्चार, युवा तथा खेलकुद, कानुनी सहायता र उद्योग वाणिज्य क्षेत्रमा सहकार्य गर्ने सम्बन्धी सम्झौता तथा समझदारी भयो । तर श्रम सम्झौताको कुरा भने नेपाल र कतारबीच छुटेको छ ।  खाडी मुलुक मध्ये नेपालीको आकर्षक गन्तव्य कतारलाई पनि मानिन्छ ।

कतारका अमिर शेख तमिम विन हमाद अल थानीको नेपालको राजकीय भ्रमणका अवसरमा आज ती समझदारी भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले कला संस्कृति, शिक्षा, सञ्चार, युवा तथा खेलकुद, कानुनी सहायता र उद्योग वाणिज्य क्षेत्रमा सहकार्य गर्ने सम्बन्धी सम्झौता तथा समझदारी भए पनि श्रम नवीकरण गर्ने सम्झौता नभएको जानकारी दिए ।


श्रम सम्झौता नवीकरण नभएको मात्र समग्र नेपाली श्रमिकको विषयमा व्यापक कुरा उठेको उनले बताए । ‘सम्झौता सबै विषयमा हुँदैन । निश्चित विषयमा मात्र  सम्झौता हुने गरेको छ,’ उनले भने,’ दुवै मुलुक बीच समझदारी भएपछि मात्र सम्झौता हुन्छ ।‘

नेपाली श्रमिकका लागि कतारमा पहिलेको जस्तो धेरै समस्या नभएको राईको ठहर छ । ‘कतारमा नेपालीको धेरै समस्याको समाधान भइसकेको अवस्था छ,’ उनी भन्छन्,’ सम्झौता नहुँदैमा नेपाली श्रमिकको विषयमा कुरा नभएको भन्न मिल्दैन ।‘

नेपाली श्रमिकको विषयमा कुरा भएको राईले दाबी गरे । नेपालको तर्फबाट नेपाली श्रमिकले राम्रो काम, वातावरण, सुरक्षित, तलब र सुविधा पाउन भन्ने हो भनेर कुरा राखिएको उनले जानकारी दिए ।

नेपाल र कतारबीच श्रम सम्झौता भइसकेको तर मात्र नवीकरण नभएको राईको भनाइ छ । कतारीको भनाइ उद्दृत गर्दै उनले भने,’ नेपाली श्रमिकप्रति उनीहरू सकारात्मक छन् । नेपालीहरू पर्यटन, कारखाना तथा निर्माण क्षेत्र लगायतक सबै क्षेत्रमा काम गरिरहेका छन् ।‘

तलब वृद्धिको लागि कुरा नभइ समग्र नेपाली समग्र रुपमा नेपाली श्रमिकको हित होस भनी संवाद भएको राईको भनाइ छ ।

कतारका अमिर थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज सोल्टी होटलमा भएको द्विपक्षीय भेटवार्तापछि उनीहरुको उपस्थितिमा कला र संस्कृतिका क्षेत्रमा सहकार्य, नेपाल र कतारका सरकारी समाचार एजेन्सीबीच समाचार आदानप्रदान तथा शिक्षाका क्षेत्रमा सहयोग आदानप्रदानसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

यसैगरी युवा तथ खेलकुद, दुवै देशका महान्यायाधिवक्ता कार्यालयस्तरीय, कूटनीति, शिक्षा र तालिमसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सरकारीस्तरमा भएका समझदारी पत्रमा नेपालका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले हस्ताक्षर गरेका छन् ।

यसैगरी निजी क्षेत्रका तर्फबाट नेपाल उद्योग वाणिज्य महासङ्घ र कतार चेम्बर अफ कमर्शका बीचमा पनि लगानी आदानप्रदानसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

समझदारीपत्रमा नेपालका तर्फबाट महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल र कतार चेम्बरकातर्फबाट शेख खालिफ विन जसिम अल थानीले हस्ताक्षर गरे ।

मंगलबार काठमाडौँ आएका कतारका अमिर थानीले राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतलनिवासमा भेटवार्ता गरेका थिए । नेपालको दुई दिने राजकीय भ्रमणमा आएका कतारका अमिर तमिम बिन हमाद अल थानी स्वदेश फर्किएका छन् ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x