राजनीति

गृहमन्त्रीकाे निर्देशन : विपद् जुनसुकै बेला आउन सक्छ तयारी अवस्थामा रहनू

इकागज |
साउन २०, २०७९ शुक्रबार २०:२९ बजे

फाइल तस्बिर

काठमाडौँ- गृहमन्त्री बालकृष्ण खाणले विपद्को घटनामा जनधनको क्षति हुन नदिन तयारी अवस्थामा रहन निर्देशन दिएका छन् ।

शुक्रबार गृहमन्त्रालयमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा गृहमन्त्री खाणले विपद् जुनसुकै बेला आउन सक्ने भएकोले पूर्वसूचना प्रणालीलाई चुस्त बनाउँदै तयारी अवस्थामा रहन निर्देशन दिएका हुन् । बैठकमा उपस्थित विषयगत मन्त्रालयका सचिवहरु, सुरक्षा निकायका प्रमुखहरुलाई गृहमन्त्री खाणले जिल्लास्तरीय मातहतका निकायलाई समन्वयात्मक ढंगले काम गर्नेगरी संयन्त्र बनाउन पनि निर्देशन दिए ।


मनसुन जन्य विपद्ले निम्त्याउने जोखिम हरेक वर्ष बढिरहेको अबस्थालाई मध्य नजर गर्दै सबै निकायले आफूसँग भएका पूर्व सूचनालाई बाँडेर काम गर्न पनि गृहमन्त्री खाणले निर्देशन दिए । विपद् जन्य जोखिमविरुद्ध लड्न एक्लै सम्भव नभएकोले स्थानीय सरकार र प्रदेश सरकारसँग मिलेर योजना बनाएर काम गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई निर्देशन दिए ।

मनसुनको सिजनमा सबैभन्दा पहिला बाटो बिग्रने र अवरोध सृजना हुने भएकोले स्थानीय बाटो सडकलाई बिग्रन नदिने बिग्रिहाले समयमा नै मर्मत गर्ने अवरोध हटाउन विशेष ध्यान दिएर काम गर्न सबै निकायलाई निर्देशन दिए ।

यस्तै बैठकले विपद् सम्बन्धी कोष परिचालन गर्ने कार्यविधि पास गरेको छ । विपद् सम्बन्धी कोष परिचालन गर्ने कार्यविधि पास भए पछि सरकारले बनाएको कोषबाट रकम निकालेर राहत उद्धारमा आवश्यक खर्च गर्न अर्थमन्त्रालयको स्वीकृती लिनुपर्ने अवस्था हटेको छ ।


Author

थप समाचार
x