राजनीति

जब स्थायी कमिटी बैठकमा जनार्दनले प्रचण्डको विरोध गरे...

कमल विष्ट |
भदौ ४, २०७९ शनिबार १३:२६ बजे

काठमाडौँ- सत्तारुढ दल नेकपा माओवादी केन्द्रले महाधिवेशनको ९ महिनासम्म पनि पदाधिकारी चयन गर्न सकेको छैन । पदाधिकारीको टुंगो लगाउने हेतुले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबार बसेको स्थायी कमिटी बैठक पनि बिना निष्कर्ष टुंगियो ।

यो विषयको छिनोफानोका लागि शनिबार पनि स्थायी कमिटी बैठक बस्दैछ । तर, आजको बैठकबाट पनि पदाधिकारी छानिने सम्भावना अत्यन्तै न्यून देखिन्छ ।आजको बैठकले पनि पदाधिकारी चयन गर्नेमा आशंका रहेको एक केन्द्रीय सदस्यले बताए । ‘अध्यक्ष प्रचण्डले हिजोको बैठकमा पार्टीको महासचिवमा देव गुरुङलाई चयन गर्न खोज्नुभयो । तर, महासचिवका अन्य आकांक्षीले विरोध जनाउनुभयो’ नाम नखुलाउने सर्तमा उनले इकागजलाई भने ।


ती नेताका अनुसार आकांक्षीमध्येका एक जनार्दन शर्माले प्रचण्डको निर्णयको विरोध गरेका थिए । शर्माले यसरी कसै एकलाई महासचिव चयन गर्नुभन्दा निर्वाचन नै गरौँ भनेर प्रस्ताव गरेको उनले बताए । ‘अध्यक्ष प्रचण्डले शर्मालाई तपाईं उपमहासचिव हुनुस्‌भन्दा उहाँले मान्नुभएन । उहाँले म निर्वाचनमा जान तयार छु, तर उपमहासचिव बन्दिनँ भन्नुभयो,’ ती नेताले सुनाए । 

महासचिवका अर्का मुख्य आकांक्षी वर्षमान पुन पनि आफ्नो अडानबाट पछाडि हटेका छैनन् । तर, पार्टीले वरिष्ठताका आधारमा पदाधिकारी चुनेमा उनले विरोध जनाउने छैनन् । 

शनिबारको बैठक वरिष्ठताका आधारमा पदाधिकारी चुनिने निष्कर्षसहित सकिएको थियो । तर, पदाधिकारीलाई अन्तिम रुप दिने भन्दै शुक्रबार दिउँसो पार्टी केन्द्रीय कार्यालयमा डाकिएको बैठक सुरु भएकाे छ । 

ती नेताले आजको बैठकले पदाधिकारीको टुंगो लगाउनेमा आशंका व्यक्त गरेका छन् । ‘अरु पदमा टुंगो लागे पनि महासचिवको टुंगो यसै लाग्ने देखिँदैन । आजको बैठकमा पनि सबै आकांक्षीले आ-आफ्नो अडान कायमै राख्ने देखिन्छ,’ उनले संशय व्यक्त गरे । 

अध्यक्ष प्रचण्ड हालका लागि वरिष्ठताका आधारमा पदाधिकारी चयन गर्ने र चुनावपछि विशेष महाधिवेशन गरेर यस विषयमा टुंगो लगाउने पक्षमा रहेको उनले बताए । 

पदाधिकारी, स्थायी कमिटी र पोलिटब्युरोलाई पूर्णता दिन गत असारमा माओवादी केन्द्रको तेस्रो पूर्ण केन्द्रीय कमिटी बैठक बसेको थियो । उक्त बैठकले स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीलाई पूर्णता दिन सके पनि पदाधिकारीलाई दिन सकेको थिएन ।

अध्यक्षपछिको सबैभन्दा महत्वपूर्ण पद मानिने महासचिवका लागि मुख्य गरी तीन नेता आकांक्षी देखिएका छन् । ती हुन्, जनार्दन शर्मा, देव गुरुङ र वर्षमान पुन । 
पार्टीको मुख्य पद मानिने वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षको टुंगो भने लागिसकेको छ । वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्‍ठ र उपाध्यक्षमा कृष्णबहादुर महराबाहेक पदाधिकारी चयन भएका छैनन् ।

पदाधिकारीकै कारण पार्टीभित्र विचलन देखिएर त्यसले आसन्न निर्वाचनमा समस्या नल्याओस् भनेरै अध्यक्ष प्रचण्डले पदाधिकारीको संख्या बढाएका छन् । सुरुमा १५ सदस्यीय पदाधिकारी संख्यालाई २१ सदस्यीय बनाएका छन् । 

वर्षमान पुन र जनार्दन शर्माले महासचिवमा दाबी गरिरहँदा उनीहरूलाई उपमहासचिव बनाउन प्रचण्डले भने अन्तिम तयारी गरेकाे खुमलटार स्रोतले बताएकाे छ । 

प्रचण्डले तयार पारेका पदाधिकारीको सम्भावित सूची

अध्यक्ष- पुष्पकमल दाहाल प्रचण्ड​

वरिष्ठ उपाध्यक्ष- नारायणकाजी श्रेष्ठ
उपाध्यक्ष- कृष्णबहादुर महरा
महासचिव- देव गुरुङ
उपमहासचिव- वर्षमान पुन, जनार्दन शर्मा, पम्फा भुसाल, मात्रिका यादव, शक्ति बस्नेत, हरिबोल गजुरेल र गिरिराजमणि पोखरेल

र, यो पनि


Author

कमल विष्ट

विष्ट रिपोर्टर हुन् ।


थप समाचार
x