राजनीति

महन्थसँग ओलीको साँठगाँठ शंकास्पदः भुसाल

इकागज |
बैशाख २, २०७८ बिहीबार १६:१० बजे

बुटवल : नेकपा एमालेका नेता घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओली र जसपा अध्यक्ष महन्थ ठाकुरबीचको साँठगाँंठ शंकास्पद भएको बताएका छन् । आफ्नै पार्टीलाई तहसनहस पारेका ओलीको ठाकुरसँगको सामिप्यता अस्वाभाविक रहेको बताए ।

नेपाल पक्षको प्रेस चौतारीले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता भुसालले प्रधानमन्त्री ओलीले आफ्नै पार्टीका नेतालाई लखेटेर माग र मुद्दाको कुनै साइनो नभएका ठाकुरसँग पुगेर हारगुहार गर्नु कम्युनिष्ट पार्टीकै लज्जाको विषय भएको बताए । उनले संसदमा वामपन्थीको मत हुदाहुँदै पार्टीका नेतालाई लखेटेर महन्थहरूसँग गठबन्धन गर्नुले राजनीतिमा विसंगति आउन थालेको बताए । भुसालले ओलीले कुर्सीको अहंकार त्यागे वाम गठबन्धन अझै सम्भव रहेको बताउँदै ओलीले बिगारेको राजनीति जिम्मेवारी लिने हिम्मत गर्ने र कुर्चीमा बस्ने अहंकार छाडे वाम गठबन्धन सम्भव रहेको दाबी गरे ।


नेता भुसालले ओलीमा सत्तामा रहिरहने चाहनाको तृष्णाले राजनीतिक सहमति कमजोर बनेको ठोकुवा गरे । फरक प्रसंगमा भुसालले आफूहरू एमालेको गरिमा र प्रतिष्ठा बचाउन लागिपरेको बताए । उनले ओलीले बिगारेको राजनीतिको क्षतिपूर्ति भर्नकै लागि ७० जिल्लामा आफूहरूले कमिटी ब्युँताउँदै लगेको तर्क गरे ।
 


Author

थप समाचार
x