राजनीति

पूर्वी नवलपरासी–१ मा शशांकलाई विरासत जाेगाउन सकस

इकागज |
कात्तिक २७, २०७९ आइतबार २१:४९ बजे

विरासत जोगाउने भत्काउने
कावासोती- प्रतिनिधिसभातर्फ दुई निर्वाचन क्षेत्र रहेको पूर्वी नवलपरासीमा सत्तागठबन्धनबाट प्रतिनिधिसभा क्षेत्र नं १ मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शशाङ्क कोइराला र नेकपा (एमाले) बाट केन्द्रीय सदस्य कृष्ण पौडेलबीचको प्रतिस्पर्धालाई चासोको रूपमा हेरिएको छ ।    
    
प्रदेशसभातर्फ क्षेत्र नं १ को (१) मा सत्तागठबन्धनबाट कांग्रेस जिल्ला सभापति महेन्द्रध्वज जिसी र एमालेबाट एमाले केन्द्रीय सदस्य रवीन्द्र अधिकारी मैदानमा छन् भने क्षेत्र नं १ को (२) मा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का लोकप्रसाद भूर्तेल र एमालेबाट रोशनबहादुर गाहाले उम्मेदवारी दिएका छन् ।    
    
विसं २०४८ देखि यो क्षेत्रमा निरन्तर नेपाली कांग्रेसले जित्दै आएकाले यसपटक पनि कांग्रेस आफ्नो विरासतलाई निरन्तरता दिने प्रयत्नमा छ । कांग्रेसको विरासत यसपटक भत्काउने प्रयत्नमा एमाले रहेको छ । कांग्रेसका कोइरालाले विसं २०७४ को निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका भविश्वर पराजुलीलाई चार हजार २४ मतान्तरले हराएका थिए।    
    
यो निर्वाचन क्षेत्रमा पर्ने ५२ वटा वडामध्ये गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले २६, एमालेले २५ र माओवादी केन्द्रले एउटा वडाको वडाध्यक्षमा जित निकालेका थिए । यो क्षेत्रमा नेपाली कांगे्रसका वडाध्यक्षका उम्मेदवारले ४० हजार पाँच सय ११, एमालेको ३९ हजार नौ सय ५१, राप्रपाको दुई हजार तीन सय ७३, माओवादीको एक हजार नौ सय २१ र जसपाका उम्मेदवारले एक सय ८८ मत पाएका थिए ।  
    
निर्वाचन क्षेत्र नं १ मा पूर्वी नवलपरासीको सदरमुकाम कावासोतीसहित पूर्वी भाग पर्दछ । आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि कूल दुई लाख ६० हजार चार सय ६१ मतदातामध्ये यहाँ एक लाख ३१ हजार एक सय ८० मतदाता रहेका जिल्ला निर्वाचन प्रमुख लालप्रसाद भुसालले जानकारी दिए । क्षेत्र नं १ प्रदेशसभा (१) मा ६३ हजार पाँच सय ३५ र प्रदेशसभा (२) मा ६७ हजार छ सय ४६ मतदाता छन् ।    
    
गत स्थानीय तहको निर्वाचनमा तीन पालिकामध्ये एकमा नेपाली कांग्रेस र दुईमा एमाले विजयी भएको थियो । गैँडाकोट नगरपालिकाको प्रमुख र उपप्रमुख कांग्रेसले, देवचुली नगरपालिकाको प्रमुख र उपप्रमुख एमाले र बुलिङ्टारको अध्यक्षमा एमाले र उपाध्यक्ष कांग्रेसले जितेको थियो । 
  



Author

थप समाचार
x