राजनीति

मतदाताको उपस्थित कम, ७० प्रतिशत मात्रै मतदान हुने अनुमान

इकागज |
मंसिर ४, २०७९ आइतबार १५:४७ बजे

काठमाडौँ- निर्वाचन पर्यवेक्षकहरूले यस पटकको निर्वाचनमा मतदाताहरू उत्साहित नदेखिएको बताएका छन् ।

आइतबार बिहान ७ बजेबाट पर्यवेक्षण गर्दा काठमाडौं उपत्यकाका अधिकांश मतदान केन्द्रहरूमा उत्साजनक रूपमा मतदाताहरूको उपस्थिति नपाएको बताएका हुन् । उनीहरूले विगतका निर्वाचनको तुलनामा यस पटक कमै मात्रामा मतदाताहरू भोट हाल्न पुगेको पाएको बताए ।


आइतबार दिउँसो आम निर्वाचन पर्यवेक्षण समिति, नेपाल (जिओक) ले गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्व प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले निर्वाचन शान्तिपूर्ण रूपमा अघि बढे पनि मतदाताहरूको उपस्थिति कम पाएको बताए । उनले उपस्थित मतादाताहरूमा मतदान उत्साहजनक रहेको बताए ।

त्यस्तै पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले मतदाताहरूको उपस्थिति तुलनात्मक रूपमा कम पाएको बताए । उनले सुरक्षा व्यवस्थामा भने कतै खुकुलो र कतै कडा पारिएको पाएको बताए ।

त्यस्तै पूर्व गृहसचिव खेमराज रेग्मीले शान्त र सौहाद्रपूर्ण वातावरणमा निर्वाचन भएको पाइएको बताए । उनले काठमाडौं उपत्यकाका कोर एरियामा भने मतदाताहरूको उत्साह कम देखिएको उल्लेख गरे ।

त्यस्तै पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले मतदान अधिकृत र मतदान केन्द्रका कर्मचारीहरूले नै मतदाताको उपस्थिति कम रहेको बताएको जानकारी दिए । उनले मतदान केन्द्रमा चाप कम रहेको बताए । मतदान गर्न आएकामध्ये वृद्धवृद्धा, महिला, अपाङ्गको उल्लेख्य उपस्थिति देखिएको र मतदान शान्त रहेको उनकाे भनाइ छ । मतदात स्थलमा कुनै दबाब नरहेको बताए ।

त्यस्तै पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले बितेका निर्वाचनको तुलनामा यस पटकको निर्वाचनमा मतदाताहरूको उपस्थिति कम रहेको बताइन् । उनले यस निर्वाचनमा ७० प्रतिशत मतदान हुने आँकलन गरिन् । उनले विगतका निर्वाचनको जस्तो माहोल नदेखिएको बताइन् । त्यस्तै पूर्व मुख्यसचिव तीर्थमान शाक्यले विगतको जस्तो उत्साह यस पटकको निर्वाचनमा नदेखिएको बताए ।

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन एकैचरणमा देशभर भइरहेको छ । आज साँझ ५ बजेसम्म मतदान गर्न सकिने आयोगले जनाएको छ । 


Author

थप समाचार
x