राजनीति

अनुभवी नेता अर्जुननरसिंह केसीको राजनीतिक जीवन

इकागज |
मंसिर १०, २०७९ शनिबार २१:५० बजे

काठमाडौँ- मुलुकको राजनीतिमा अनुभवी एवं पुराना नेता अर्जुननरसिंह केसी ७५ वर्षमाथिको उमेर समूहबाट संसद् प्रवेश गर्नेमा थोरै नेतामध्येका एक हुन् ।

उमेरले ७० कटे पनि राजनीतिमा भने उनी सक्रिय छन् । विसं २००४ असोज ११ गते नुवाकोटको राउतबेँसीमा पिता भगवान्सिंह केसी र माता यशोदादेवीका सुपुत्रका रूपमा जन्मिएका केसी विसं २०१८ देखि राजनीतिमा सक्रिय छन् । स्नातकोत्तर र बिएलसम्मको अध्ययन गरेका उनले छ वर्ष नौ महिना जेल जीवन बिताएका छन् । पार्टी प्रतिबन्ध र आन्दोलनका क्रममा केसी पटक–पटक भूमिगत बसेका छन् । त्रिभुवन विश्वविद्यालयमा राजनीतिशास्त्रको प्राध्यापन र कानुन व्यवसायीका रूपमा समेत काम गरेका केसीले एसिया, युरोप, अमेरिका, अष्ट्रेलिया, ल्याटिन अमेरिका र अफ्रिकालगायतका ३५ भन्दा बढी देशको भ्रमण गरेका छन् । केसीले नेपाली कांग्रेसको सहमहामन्त्री, प्रवक्ताका साथै पार्टीको विभिन्न विभागको प्रमुख एवं केन्द्रीय सदस्य भएर काम गरिसकेका छन् ।


केसीले शिक्षा, स्वास्थ्य, भौतिक योजना तथा निर्माण एवं सहरी विकासमन्त्री भएर कार्यकारी भूमिकामा पनि काम गरेको अनुभव सँगालेका छन् । नेता केसी समसामयिक विषयमा पत्रपत्रिकामा लेख लेखिरहने नेतामध्येमा पर्छन्।

यसपटकको संसदीय निर्वाचनमा नुवाकोट जिल्ला निर्वाचन क्षेत्र नं २ बाट कांग्रेसका तर्फबाट उनी उम्मेदवार बनेका थिए । केसी २८ हजार एक सय सात मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका सुमनविक्रम पाण्डेले १६ हजार चार सय ७७ मत पाए ।

नेकपा (एमाले)का उम्मेदवार नारायणप्रसाद खतिवडाले १५ हजार पाँच सय ६१ मत ल्याए । यसअघि विसं २०७४ को निर्वाचनमा एमालेका उम्मेदवार खतिवडासँग केसी १० हजार मतान्तरले पराजित भएका थिए । केसी यो पटक खतिवडाभन्दा १२ हजार पाँच सय ६४ मतान्तरले निर्वाचित भएका हुन् ।


Author

थप समाचार
x