राजनीति

लुम्बिनीका चार सांसदलाई हटाउन बाबुराम र उपेन्‍द्रसहित बहुमत सदस्यको हस्ताक्षर (सूचीसहित)

विक्रम खड्का |
बैशाख १७, २०७८ शुक्रबार १४:११ बजे

बुटवल : जनता समाजवादी पार्टीका चारजना सांसदलाई लुम्‍बिनी प्रदेश सभाले गरेको कारबाही प्रकरणले पार्टीमा विवाद बढेका बेला केन्द्रीय कार्यकारिणी समितिको बहुमत सदस्‍यको माईनुट नै सार्वजनिक भएको छ । लुम्बिनी प्रदेशका चार सांसदलाई कारबाहीका लागि जनता समाजवादी पार्टीका २६ जना केन्द्रीय कार्यकारिणी समिति सदस्यले हस्ताक्षर गरेर लुम्‍बिनी प्रदेश सभामा पठाएको पत्र सार्वजनिक भएको हो । 


जसपाका अध्यक्ष उपेन्द्र यादव  र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षधरले बहुमत पुर्‍याएर सांसदलाई कारबाही गरिएको पत्र प्रदेशसभा सचिवालयमा दर्ता गराएका थिए । त्यसलगत्तै प्रदेशसभाले उनीहरू पदमुक्त भएको सूचना बिहीबार दिउँसो प्रकाशित गरेको थियो । 

तर, उक्त कारबाही आधिकारिक नभएको भन्दै अध्यक्ष महन्थ ठाकुरले सभामुखलाई पत्र पठाएपछि यो प्रकरण थप बल्झिएको थियो । ठाकुरले पठाएको पत्रमा लुम्बिनीमा कुनै पनि सांसदलाई कारबाही नगरिएको उल्लेख छ । तर उनकै पार्टीको बहुमत सदस्यको हस्ताक्षरसहितको माइनुटमा कारबाही गरिएको उल्लेख छ ।

जसपाको कार्यकारिणी समिति ५१ सदस्यीय छ । साबिक राजपाका २६ र समाजवादीका २५ जना समेटेर कार्यकारिणी समिति बनाइएको थियो । यसअघि जसपाको केन्द्रीय कार्यकारिणी समितिका बहुमत सदस्यको हस्ताक्षरसहितको पत्रका आधारमा बिहीबार दिउँसो प्रदेशसभाले सांसदहरू सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे पदमुक्त भएको सूचना जारी गरेको थियो । 

कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाका सांसदहरूले ६ वैशाखमा मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । तर, अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको २ घण्टा बित्न नपाउँदै उनीहरू मन्त्री बनेका थिए । मुख्यमन्त्री नेतृत्वको सरकारमा सन्तोषकुमार भौतिक पूर्वाधार विकास, यादव भूमि व्यवस्था तथा कृषि मन्त्री र रायमाझी भौतिक पूर्वाधार विकास राज्यमन्त्री छन् ।

लुम्‍बिनी प्रकरणले जसपनमा कित्ताकाट सुरु
जनता समाजवादी पार्टी नेपालको बैठकले लुम्बिनी प्रदेशका चार जना सांसदलाई गरेको कारबाही प्रकरणले पार्टीमा कित्ताकाट सुरु भएको छ । प्रदेश सांसदहरुलाई कारबाही गर्ने विषयमा पार्टीको कार्यकारिणी समिति विभाजित देखिएको छ । पार्टीको कार्यकारिणी समितिमा रहेका ५१ जनामध्ये २६ जना सदस्यहरुले मात्र कारबाहीको पत्रमा हस्ताक्षर गरेका छन् ।

पार्टी अध्यक्ष उपेन्द्र यादवले कारबाहीका लागि पठाएको पत्रमा पूर्वराजपा पक्षका नेताहरुको समेत हस्ताक्षर रहेको छ भने केही पूर्व समाजवादी पार्टीका नेताहरुले पत्रमा हस्ताक्षर गरेका छैनन् ।

यादवले पठाएको पत्रमा जसपा नेपालका अध्यक्ष महन्थ ठाकुर पक्षका महेन्द्र राय यादव, रमेशप्रसाद यादव र गज्जाधर यादवले समेत हस्ताक्षर गरेका छन् भने यादव पक्षका परशुराम खापुङ र हेमराज राईले हस्ताक्षर गरेका छैनन् ।

यो पनि

आफ्ना सांसदको पद बचाउन ठाकुरको पत्र निर्वाचन आयोगमा

 


Author

विक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x