राजनीति

समाजका हरेक गतिविधिमा महिला सहभागिता अनिवार्य : प्रधानमन्त्री दाहाल

इकागज |
चैत ११, २०७९ शनिबार १५:१० बजे

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालले समाजका हरेक गतिविधिहरूमा महिलाको सहभागिता अनिवार्य रहेको बताएका छन् ।

शनिबारबाट काठमाडौंमा सुरु भएको ‘अन्तर्राष्ट्रिय महिला नेतृत्व शिखर सम्मेलन–२३’ को उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री दाहालले राजनीतिक क्षेत्रमा मात्र नभइ समाजका हरेक गतिविधिमा महिला सहभागिता पहिलो प्राथमिकता राख्नुपर्ने उल्लेख गरे । उनले महिलालाई प्राथमिकतामा राखेर मात्रै समतामूलक समाज निर्माणतर्फ देशलाई लैजान सकिने बताए ।​


दाहालले समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक रहेको र लैङ्गिक समानताको विषयलाई नेपालले अभ्यास गर्दै गइरहेको पनि जिकिर गरे । उनले संविधानले नै सरकारका विभिन्न निकायमा निश्चित प्रतिशत महिला सहभागिता अनिवार्य गरेको उल्लेख गर्दै महिलाको सशक्तिकरणका लागि पर्याप्त बजेट र स्रोत विनियोजन गरेको दाबी गरे ।

प्रधानमन्त्री दाहालले महिलामा सिर्जनात्मक क्षमता धेरै रहने भन्दै आर्थिक क्षेत्र र उद्यमशीलता विकासमा पनि महिलाको सहभागिता वृद्धि गर्नुपर्नेमा जोड दिए ।


Author

थप समाचार
x