राजनीति

आर्थिक लेनदेनको 'फोन टेप' बाहिरिएपछि रास्वपा सांसद ढाकाकुमार श्रेष्ठ निलम्बित

कमल विष्ट |
चैत २६, २०७९ आइतबार १३:३७ बजे

काठाडौं– मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग आर्थिक लेनदेनको 'फोन टेप' बाहिरिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसद डा. ढाकाकुमार श्रेष्ठलाई निलम्बन गरेको छ । श्रेष्ठलाई निलम्बन गरेर उनीमाथि छानबिन अगाडि बढाउने निर्णय भएको रास्वपा महामन्त्री मुकुल ढकालले इकागजलाई जानकारी दिए ।

उनका अनुसार श्रेष्ठलाई सांसद वा पार्टी सदस्यका रूपमा कुनै पनि काम गर्न नमिल्ने गरी निलम्बन गरिएको छ । ‘हाम्रो पार्टीको अनुशासन आयोगले उहाँमाथि एक साता लगाएर अनुसन्धान गर्छ । उहाँ दोषी देखिए कारबाही गर्छौँ । हाललाई भने उहाँलाई सांसद वा पार्टी सदस्यका रूपमा कुनै पनि काम गर्न नमिल्ने गरी निलम्बन गरेका छौँ,’ महामन्त्री ढकालले भने । 


समानुपातिक सांसद श्रेष्ठले अडियोमा प्रसाईंसँग पार्टीले आफूलाई स्वास्थ्य मन्त्री बनाउन दुई करोड रुपैयाँ मागेको, तर साे रकम आफूसँग नभएको भनिरहेको सुन्न सकिन्छ । ‘स्वास्थ्य हामीले पाउने भयो । पार्टीलाई अलिकति सहयोग गर भनिरहेका छन् उनीहरूले । एउटा कोर टिम छ, दुई/तीन जनाको । मलाई साढे दुई जति चाहियो भनिरहेका थिए हिजो । आज साँझ मैले फिक्स गर्नु छ क्या दाइ । मेरो पक्का चाहिँ पक्का भयो,’ श्रेष्ठले प्रसाईंसँग भनेका छन्, 'मन्त्री पनि बन्नु पर्‍यो । स्वास्थ्य क्षेत्र धोइपखाली सुधार पनि गर्नुपर्‍यो । त्यसमा तपाईंहरूको सहयोग सपोर्ट चाहियो भन्ने कुरा नै हो ।’

प्रसाईंले पैसा जुटाइदिए मन्त्री बनेपछि आफूले सहयोग गर्ने प्रतिबद्धता श्रेष्ठले गरिरहेका छन् । अडियोमा प्रसाईं उनको प्रस्ताव मान्न तयार भएको पनि सुन्न सकिन्छ । 

तर, पार्टीले श्रेष्ठसँग कुनै पनि रकम नमागेको र उक्त कुरा झुटो भएको महामन्त्री ढकालले जिकिर गरे ।

समानुपातिक पद्धतिबाट सांसद बनेका श्रेष्ठले स्वास्थ्य मन्त्री बन्ने चर्चा चलेको थियो ।


Author

कमल विष्ट

विष्ट रिपोर्टर हुन् ।


थप समाचार
x