राजनीति

ओलीले भाग्दैनन् भनेका रायमाझीले किन पठाए संसदमा बिरामी भएको पत्र ?

अतिन आचार्य |
बैशाख ३१, २०८० आइतबार १८:३ बजे

काठमाडौँ- गत बुधबार नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भयो । नक्कली शरणार्थी प्रकरणमा गत बुधबार पक्राउ पुर्जी जारी हुँदा रायमाझी अर्घाखाँचीस्थित महेन्द्र विद्यावोध माध्यमिक विद्यालयको हिरक महोत्सव उद्घाटन कार्यक्रममा थिए ।

पक्राउ पुर्जी जारी भएको जानकारी पाएपछि उनले काठमाडौँ आउने प्लेनको टिकट रद्ध गरे । रायमाझी सोही दिन राति ९ बजे सभामुख देवराज घिमिरेसँगै काठमाडौँ आउने समय तय भएको थियो ।


उनको खोजी व्यापक भएपछि प्रहरीकै स्कर्टिङमा काठमाडौँ आउँदै गरेको समाचार विभिन्न सञ्चारमाध्यममा सार्वजनिक भएका थिए । बुधबार पक्राउ पुर्जी जारी भएपछि बिहीबार बिहान भैरहवा प्रहरीको स्कर्टिङमा काठमाडौँ आउँदै गरेको प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारीले इकागजलाई जानकारी दिएका थिए ।

'उहाँलाई पक्राउ गरिएको छैन । प्रहरीको सहयोगमा रायमाझी गाडीबाट काठमाडौँ आउँदै हुनुहुन्छ' ती अधिकारीले इकागजसँग भनेका थिए ' उहाँ काठमाडौँ आएर जिल्ला प्रहरी परिसर काठमाडौँमा उपस्थित हुनुहुनेछ ।'

कार्यक्रममा सँगै रहेका सभामुख घिमिरे आफ्नो नियमित काममा फर्किएको एक साता बढी भइसकेको छ । पक्राउ पुर्जी जारी भएको एक साताभन्दा बढी भइसक्दा पनि उनी पक्राउ पर्न सकेका छैनन् । प्रहरीको खोजीमा निरन्तर रहे पनि हालसम्म नियन्त्रणमा परेका छैनन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रायमाझीलाई बाटोबाटै पक्राउ गर्न खोज्नु रहस्यपूर्ण भएको बताएका थिए । बिहीबार सिंहदरबारमा प्रधानमन्त्री दाहाललाई भेटेपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष उनले उपप्रधानमन्त्री बनिसकेको मान्छे भागेर कतै जान नसक्ने उल्लेख गरेका थिए ।

उनले उपप्रधानमन्त्री बनिसकेको मानिस नभाग्ने बताए पनि आजसम्म प्रहरीको बुझाइमा भने रायमाझीलाई भागेकै मान्न सकिन्छ । उनले भागेर कतै नजाने भने तर केही दिनमै रायमाझीले बिरामी भएको पत्र संसदमा पठाएका थिए ।

‘षड्यन्त्रपूर्वक बाटोबाट नै समाउनु रहस्यमयी भएको हो । दोषी उम्किन नहुने र निर्दोष फस्नु नहुने भन्दै फसाउने षड्यन्त्र रचिएको भए सह्य हुँदैन,’ उनले भनेका थिए ।

रायमाझीको नाम मुछिएपछि तीन दलका शीर्षस्थ नेताहरूले भेटघाट बढाइहेका छन् । यो क्रम आजसम्म पनि जारी छ । दिन बिराएर वा भनौं दैनिकजसो एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहालबीच छलफल भइरहेको छ ।

यो समाचार तयार पार्दासम्म तीन दलका शीर्षस्थ नेताहरूको भेटघाट केहीबेर अघि सकिएको छ । यद्यपि के विषयमा भेट भयो भनेर बाहिर सार्वजनिक भइसकेको छैन । तीन शीर्षस्थ नेताको भेटको अर्थ र सन्देश सार्वजनिक हुन बाँकी नै छ ।

त्यसैगरी, संसद सचिवालयमा रायमाझी बिरामी भएको पत्र दर्ता भइसकेको छ । उनी नेपाल प्रहरीको सबैभन्दा बढी खोजी र चासोमा रहेका व्यक्ति हुन् ।

रायमाझीविरुद्ध नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाइ तेस्रो मुलुक पठाउने आरोप लागेको छ । पक्राउ पुर्जी जारी भएसँगै नेपाल प्रहरीले उनलाई फरारको सूचीमा राखेको छ ।

उनले आफैँ प्रहरीसमक्ष हाजिर हुने जानकारी गराएका थिए । उनी आजसम्म सार्वजनिक हुन सकेका छैनन् । प्रहरी हिरासतमा रही नक्कली शरणार्थी प्रकरणमा मुसिएका गिरोहले उनको नाम मुछेपछि उनी अनुसन्धानको दायरामा परेका हुन् ।

प्रहरीको खोजीमा रहेका बेला उनको स्वकीय सचिवमार्फत संसद सचिवालयलाई बिरामी भएर उपचार गराइरहेको जानकारी दिएका छन् ।

उनलाई खोज्नका लागि नेपाल प्रहरीका अधिकारीहरू भारततर्फ समेत गएका छन् । प्रहरीले भने अहिलेसम्म फेला पार्न सकेको छैन । इकागजसँगको कुराकानीमा लुम्बिनी प्रदेश प्रहरी प्रमुख उमेश राज जोशीले रायमाझीलाई पक्राउ गर्नका लागि अनुसन्धानमा खटिएको टोली लागिरहेको बताएका छन् । यसमा प्रहरीले छिट्टै रिजल्ट दिने आश्वसान समेत उनले दिएका छन् ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुबेर कडायतले रायमाझीलाई निरन्तर खोजी गरिरहेको बताएका छन् ।

‘कहाँ छन् भनेर हामीले भन्न सक्ने अवस्था छैन,’ उनले इकागजसँग भने,’ उनलाई नियन्त्रणमा लिन विभिन्न उपाय अपनाएर खोजी कार्य भइरहेको छ । सम्पर्क  हुने माध्यम खोजिरहेका  छौं ।‘

रायमाझीले बिरामी परेकाले बिदा जनाइदिन आग्रह गरेर पत्र पठाइसकेका छन् । एमालेका सचिवसमेत रहेका उनलाई पार्टीले पदबाट निलम्बन गरिसकेको छ । उनको गिरोहसँग साठगाँठ भएकाले अनुसन्धानमा रहेकाले उनको नाम पोलेपछि शरणार्थी प्रकरणमा उनलाई प्रहरीले खोजेको हो ।

यतिखेर उनका छोरा सन्दीप रायमाझी भने प्रहरी हिरासतमा छन् । नक्कली भुटानी शरणार्थी बनाएर ठगेको प्रकरणमा काठमाडौँ जिल्ला अदालतले उनीविरूद्ध पक्राउ पुर्जी जारी गरेपछि पक्राउ परेका हुन् ।

यसअघि पक्राउ परेका व्यक्तिहरूले बयान दिने क्रममा टोपबहादुर र सन्दीपको नाम लिएका थिए ।  

हालसम्म पूर्वगृहमन्त्री बालकृष्ण खाण, उनका स्वकीय सचिव नरेन्द्र केसी, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई,  सचिव (तत्कालीन गृहसचिव) टेकनारायण पाण्डे, ललितपुर महानगरपालिका–२३ घर भएका सानु भण्डारी, सन्दीप रायमाझी पक्राउ परिसकेका छन् ।

त्यसैगरी, सोही प्रकरणमा मोरङ पथरी शनिश्चरे नगरपालिका-१० घर भएका केशवप्रसाद दुलाल, पाँचथरको फिदिम नगरपालिका-७ घर भएका टंककुमार गुरुङ, दाङ घर भएका सन्देश शर्मा र मोरङको पथरी शनिश्चरे नगरपालिका-१० का पूर्ववडाध्यक्ष सागर राई, रामशरण केसी र गोविन्द चौधरी पक्राउ परिसकेका छन् ।

यस प्रकरणमा फरार सूचीमा रहेका पूर्व गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतिक र नेपाली कांग्रेसका सांसद आङतावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।  हिरासतमा रहेका इन्द्रजीत राईका छोरा निरजसमेत फरार रहेका छन् ।

नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका लैजाने प्रलोभनमा गिरोहले पीडितसँग १० देखि ५० लाखसम्म रकम उठाएको उजुरी प्रहरीमा परिसकेको छ । एक सय भन्दा बढी पीडितले प्रहरीकामा निवेदन दिएका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा झापा, सुनसरी, मोरङ, कास्की, अर्घाखाँची र दाङ लगायतका मानिसहरू पीडित बनेका छन् ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x