राजनीति

सुरुङमार्ग निर्माण थाल्न सबैको पहल जरुरी : सभामुख घिमिरे

इकागज |
जेठ १३, २०८० शनिबार २०:० बजे

विदुर- सभामुख देवराज घिमिरेले नुवाकोटलाई राजधानीसँग सहज रूपमा जोड्नका लागि सुरुङमार्गले पूर्णता पाउनुपर्ने बताएका छन् । शनिबार दुप्चेश्वर गाउँपालिका–६ रामतीस्थित दुप्चेश्वर माध्यमिक विद्यालय परिसरमा वामपन्थी नेता गणेश पण्डितको अर्धकदको सालिक अनावरण गर्दै जिल्लाको विकासप्रति सबै दलले चासो दिनुपर्ने बताए ।

 काठमाडौँको टोखा हुँदै नुवाकोट आएका सभामुख घिमिरेले भने, 'टोखा–छहरे सुरुङमार्ग निर्माणको कुरा धेरै सुनिएको छ । सुरुङमार्ग चाँडो निर्माण हुनु आवश्यक छ । सुरुङमार्ग निर्माण भएमा नुवाकोटको कायापलट हुनेछ ।'


सभामुख घिमिरेले इलामका किसानको जीवनस्तर उकास्न अलैँची, अदुवा खेतीको भूमिका भएको जस्तै नुवाकोटका किसानको जीवनस्तर उकास्न पनि सुरुङमार्गको भूमिका हुने बताए । उनले सुरुङमार्ग सुरुमा धेरै खर्च लाग्ने भए पनि यसले दीर्घकालीन फाइदा दिने भएकाले निर्माण आरम्भ गर्नका लागि सबैको ध्यान जानुपर्ने बताए । 

उनले नेपालको वामपन्थी आन्दोलनमा गणेश पण्डितको योगदान उच्च रहेको बताए । शिक्षासेवी, राजनीतिज्ञ, वाम लोकतान्त्रिक आन्दोलनमा अगुवा पण्डितको शैक्षिक तथा भौतिक विकासको सपना पूरा गर्न सकेमात्र उहाँप्रति उचित सम्मान हुने उनले धारणा राखे । 


Author

थप समाचार
x