राजनीति

टिप्पणी

सुवास नेम्वाङ : भस्मासुरको नयाँ 'भेरियन्ट'

सन्तोष अधिकारी |
जेठ ११, २०७८ मंगलबार १८:२५ बजे

काठमाडौँ  : पुराणहरूमा वृकासुरबाट शक्तिको उन्मादले भस्मासुर बनेको एउटा राक्षसको कथा उल्लेख छ । शिवबाट अमर हुने वर पाएको वृकासुर शक्तिको उन्मादले यति उग्र हुन्छ कि उसले अमर हुन वर दिने शिवलाई समेत छोड्दैन । शिव पत्नि पार्वतीलाई समेत भोग्ने इच्छा राखेर शिवलाई दुख दिन्छ । आफैँले दिएको वरदान घाँडो भएपछि सहयोगको याचना गर्दै शिव विष्णु भएको ठाउँ पुग्छन् । वृकासुरले दिएको दुखबाट शिवलाई मुक्ति दिन विष्णुले मोहनी रुप धारण गर्छन् र वृकासुरलाई मोहित बनाउँछन् ।  

विष्णुको मोहनी जालमा परेको वृकासुर विष्णुले जेजे गर्छन् सोही-सोही गर्छ र अन्तमा विष्णुको नक्कल गर्ने क्रममा आफ्नै टाउकोमा हात राखेर भस्म हुन्छ । शिवले वृकासुरलाई वरदान दिँदानै यस्तो मान्छेबाट उसको मृत्यु हुने वरदान दिएका थिए जसले उसको शीरमा हात राख्‍नेछ । यसरी शक्तिको उन्मादमा के गरिरहेको छु भन्ने थाहा नपाउँदा भस्मासुरको विनाश भएको थियो । भस्मासुरको यो कथा दुरुस्त मिल्छ पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको जीवनमा । शक्तिको अभ्यासमा उन्मत्त भएका केपी शर्मा ओलीको मतियार बनिरहँदा नेम्वाङ पनि भस्मासुरझैँ विनाशको बाटोमा छन् । 


सभामुख हुँदा निकै भद्र, शालीन, बुझ्झकी व्यक्तित्वको रुपमा वाहवाही कमाएका व्यक्ति हुन्, सुवास नेम्वाङ । अहिलेको घटनाक्रममा उनको मौनता, पक्षधरता र कुटिलताले देखाउँछ उनी भद्र-भलाद्मी होइन, भस्मासुरका नयाँ भेरियन्ट हुन् । नेम्वाङ अहिले नेकपा एमालेको संसदीय दलका उपनेता पनि हुन् । उनी आफू नै सभामुख भएर जारी गरेको संविधान अहिले नेपालमा कार्यान्वयनको चरणमा छ । विश्वकै उत्कृष्ट संविधान भएको व्याख्या गर्ने मध्येका एक यिनै नेम्वाङ अहिले संविधान हत्याराको मतियार बनेका छन् । उखानटुक्का शिरोमणि ओलीका भक्त नेम्वाङलाई थाहै छ, ‘कुपुत्रो जायते क्‍वचिदपी कुमाता नभवति ।’ तर, नेम्वाङको निम्छरोपन देख्दा आमा पनि कुमाता हुनसक्छिन् भन्‍ने खराब उदाहरण उनी स्वयं बनेका छन् ।  

कानुनका विज्ञ भनिने नेम्वाङकै सुझावमा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली अहिले धमाधम संविधानमाथि खड्ग प्रहार गरिरहेका छन् । तर, केपी ओलीलाई यसो गर्न रोक्नुको साटो नेपथ्यमा रहेर गलत कानुनी दाउपेच सिकाइरहेका छन् । गत वर्षको पुस ५ गते ओलीले प्रतिनिधि सभा विघटन गरे । नेम्वाङ मौन रहे । नेम्वाङले आफू सभामुख हुँदा पत्रकारसँग कुरा गर्दै भनेका थिए, ‘रिस उठ्यो भन्दैमा प्रधानमन्त्रीले संसद् भंग गर्ने व्यवस्था हामीले हटायौँ । अब प्रधानमन्त्रीले जति जोर लगाए पनि संसद् विघटन गर्न सक्दैनन् । हामीले संविधानमा त्यो व्यवस्थै राखेनौँ ।’ 

तर, नेम्वाङको आँखै अगाडि केपी ओलीले हठात् संसद् विघटन गरिदिए । सबैको शंका थियो, नेम्वाङले ओलीलाई संसद् विघटन गर्नबाट रोक्न सकेनन् होला । तर, विघटन भइसके पछि आफूले पत्रकारलाई संविधानको धारा पढाएको स्मरण गर्नेछन् र ओलीबाट गल्ती भएको बताउनेछन् । तर, प्रतिनिधि सभा विघटनको मुद्दा अदालतमा विचाराधीन रहेको भन्दै फैसलापछि मात्रै बोल्ने बताए । यसो गर्दा उनले आफूलाई कानुनको विद्यार्थी बताउँदै सर्वोच्चमा विचाराधीन विषयमा संसद्‍मा समेत बहस गर्न नपाइने व्यवस्था भएको पाठ पढाएका थिए । 

तर, यसको केही समय पछि दुनियाँ चकित पार्ने गरी कुतर्क गरे , ‘प्रधानमन्त्रीले संवैधानमा उल्लेख भएअनुसार आफ्नो अधिकार प्रयोग गरेर प्रतिनिधि सभा विघटन गर्नु भएको हो ।’ नेम्वाङको स्खलन यतिमै रोकिएन । गत माघमा एमाले प्रदेश १ को कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा त उनले प्रतिनिधि सभा भंग गरेर राजनीतिक अस्थिरता निम्त्याएका ओलीको खुलेरै समर्थन गरे । उनले भने, ‘संसदीय शासन प्रणाली भनेपछि प्रधानमन्त्रीलाई एक प्रकारको विशेष अधिकार हुन्छ । त्यसलाई संविधानले कहीँ पनि निषेध गरेको छैन ।’

प्रतिनिधि सभा पुनःस्थापनाको फैसला फागुन ११ मा आयो । त्यसपछि नेम्वाङ पानी मुनिको ओभानो बन्ने प्रयत्न गरे । उनले आफूले प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गर्न पाउँदैनन् भनेर सम्झाएको तर प्रधानमन्त्री नमानेको जिकिर गरे । उनले पुस ५ गते प्रतिनिधि सभा विघटन गर्नुअघि प्रधानमन्त्रीलाई विघटन राजनीतिक र कानुनी रुपमा सही नहुने सुझाव दिएको दाबी गरेका थिए ।

‘प्रधानमन्त्रीज्यूले मेरो बाध्यता भयो, मसँग अरू विकल्प भएन भन्नुभयो । विघटन गर्ने काम कानुनी र राजनीतिक रूपमा ठीक हुँदैन है प्रधानमन्त्रीज्यू भनेर मैले भनेको हो, मिडियामा पनि केही कुरा त आएकै हुन्,’ प्रतिनिधि सभा पुनःस्थापनापछि उनले भनेका थिए । यतिबेला फेरि प्रधानमन्त्रीले पुनःस्थापित प्रतिनिधि सभा विघटन गरेका छन् । ओलीले जेठ ७ गते राति प्रतिनिधि सभा विघटनको लागि राष्ट्रपतिलाई सिफारिस गरे र लगत्तै राष्ट्रपतिले विघटनको सिफारिसलाई सदर गरिन् । यो निर्णयको विरुद्धमा बाँकी दल फेरि एकपटक अदालतको ढोका ढकढक्याउन पुगेका छन् ।

यो पटक अदालतले के गर्ला रु त्यो सबैको प्रतीक्षाको विषय छ । तर, संविधान जारी गर्ने संविधान सभाका अध्यक्ष नेम्वाङतिर पनि धेरैले आँखा लगाइरहेका छन् । अघिल्लो पटक संसद् विघटन गर्न नहुने सुझाव दिएको बताएर चोख्खिने प्रयास गरेका नेम्वाङले यो पटक चाहिँ के सुझाव दिए होलान् ? हरकोही जान्‍न चाहान्छन् । के यो पटक पनि उनले प्रधानमन्त्रीलाई विघटन नगर्न सल्लाह दिएका थिए ? कि यो विघटनको मतियार नेम्वाङ पनि हुन् ? जनता यो पटक पनि नेम्वाङको कानुनी ब्याख्या सुन्न उत्सुक छन् ।  किनकि यो संविधान केपी ओलीको गोजीको डायरी होइन, जुन उनले मन लागेको पाना च्यातेर मिल्काउन र वा मनलाग्दी केरकार गरुन् । ओलीलाई यसो गर्नबाट रोक्नु सबैभन्दा ठूलो दायित्व नेम्वाङको हो, किनकि यो संविधानका जन्मदाता नेम्वाङ हुन् र प्रधानमन्त्री ओलीका मुख्य सारथि पनि । 

नेम्वाङ तिनै नेता हुन् जसले एमालेको 'क्याडर' भइकन पनि राष्ट्रिय नेताको पहिचान बनाएका थिए । 'हाइपोथेसिस' नै सही, कुनै दिन जनताले उनलाई राष्ट्रपति र प्रधानमन्त्रीको पनि प्रबल दाबेदार मानेका थिए । तर, आफैं बसेको हाँगो भाँचेर थचारिन उद्यत भएका कालीदास प्रवृतिका केपी ओलीको मतियार बनेर नेम्वाङले भस्मासुरको बाटो अनुसरण गरेका छन् । 

७० वर्ष लडेर ल्याएको संविधानलाई शक्तिको उन्मादमा केपी ओलीले छियाछिया पारेर भस्मासुरको श्रुतिलाई चरितार्थ गरेका छन् । केपीको यही प्रवृतिलाई चुपचाप सघाउने नेम्वाङलाई भस्मासुरको नयाँ भेरिएन्ट किन नभन्ने ?


Author

सन्तोष अधिकारी

अधिकारी राजनीति तथा अन्य समसामयिक विषयमा कलम चलाउँछन् ।


थप समाचार
x