राजनीति

गण्डकी प्रदेश

प्रदेश सभा भंग गरेर ‘अर्ली इलेक्सन’ घोषणाको तयारीमा मुख्यमन्त्री गुरुङ

विश्‍वासको मतको विपक्षमा मतदान गर्न विपक्षी चार दलको ह्वीप

सन्तोष अधिकारी |
जेठ २६, २०७८ बुधबार १९:१२ बजे

काठमाडौँ : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेश सभा भंग गरेर ‘अर्ली इलेक्सन’ (तोकिएकाे पाँच वर्षअघि नै) मा जाने तयारी गरेका छन् । ६० सदस्यीय गण्डकी प्रदेश सभामा नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) मिलेर बनेको नेकपा खारेज भएसँगै एमाले एक्लैको सरकार छ । माओवादी केन्द्रले आफ्ना मन्त्रीलाई सरकारबाट फिर्ता बोलाएपछि एमालेको एकल सरकार बन्‍न पुगेकाे हो ।

संविधान अनुसार जेठ २७ गते (भोलि) मुख्यमन्त्री गुरुङले संसद्‍मा विश्‍वासको मत लिने कार्यसूची छ । यसमा मुख्यमन्त्री गुरुङले विश्‍वासको मत पाउन ३१ प्रदेश सभा सदस्यको समर्थन जुटाउनु पर्ने हुन्‍छ । तर, अहिले देखिएको अंक गणित हेर्दा गुरुङले ३१ जना प्रदेश सभा सदस्यको मत पाउने संभावना छैन । त्यसो त विपक्षी नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादीले ३१ जना पुर्‍याउन सक्ने अवस्था छैन ।  


गण्डकीमा एमालेका २७, नेपाली कांग्रेसका १५, माओवादी केन्द्रका सभामुखसहित १२, राष्ट्रिय जनमोर्चाका ३, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र १ सांसद छन् । यी मध्ये एमालेका २७, जनमोर्चाका १ र स्वतन्त्र १ सांसद मुख्यमन्त्री गुरुङको पक्षमा छन् ।

विश्‍वासको मत प्राप्त गर्न नसक्ने अवस्था भएपछि मुख्यमन्त्री गुरुङले संसद् भंगको तयारी गरेका हुन् । संविधानको धारा १६८ उपधारा (३) अनुसार मुख्यमन्त्री रहेका गुरुङले मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्‍वासको मत लिनुपर्ने व्यवस्था संविधानको धारा १६८ (४) मा छ ।

१६८ (४) अनुसार विश्‍वासको मत प्राप्त गर्न नसकेकोमा प्रदेश प्रमुखले प्रदेश सभामा बहुमतको सरकार गठनको लागि आह्वान गर्ने संवैधानिक व्यवस्था छ । यसरी बहुमतको सरकार गठन गर्न आह्वान गरेको समयभित्र बहुमतको सरकार गठन नभए वा नयाँ मुख्यमन्त्री नियुक्त हुन नसकेमा मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले प्रदेश सभा विघटन गरेर ६ महिनाभित्र निर्वाचन घोषणा गर्न सकिने छ । अहिले मुख्यमन्त्री गुरुङ यही अन्तिम विकल्पलाई प्रयोग गरेर अघि बढ्ने तरखरमा छन् । 

माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमान विश्‍वासको मत नपाउने अवस्था आए, विपक्षीले पनि बहुमत जुटाउन नसक्ने भए मार्ग प्रशस्तको नाममा संसद् भंग हुने सम्भावना रहेको बताउँछन् ।

‘प्रक्रियामा त जानै पर्छ । तर, यहाँ माथि (संघ सरकार) मा प्रधानमन्त्री ओलीले मार्ग प्रशस्तको नाममा संविधानको धारा मिचेर गएझैँ जाने सम्भावना पनि छ,’ चुमानले इकागजसँग भने, ‘मुख्यमन्त्रीले भोलि विश्‍वासको मत लिनुपर्ने छ । विश्‍वासको मत नपाए प्रक्रियामा त जानै पर्‍यो । यो प्रक्रिया भनेको ओलीले भनेजस्तै मार्ग प्रशस्त हो । यसमा संविधानको धारा १६८ (५) अनुसार बहुमतको सरकार गठन गर्न प्रदेश प्रमुखले आह्वान गर्नुपर्छ ।’ 

प्रदेश सभा भंग हुने सम्भावना उच्च रहेको र अन्तिममा अदालतबाटै प्रदेश सभा पुनःस्थापित हुने विश्‍वास रहेको चुमान बताउँछन् ।  ‘मुख्यमन्त्रीले विश्वासको मत पाउन सक्ने अवस्था छैन । बहुमतको दाबीसहित सरकार गठनको आह्वान संविधानको धारा १६८ (५) हुन सक्छ । यसमा कसैको पनि बहुमत पुग्‍ने संभावना छैन ।’ 

कसैको पनि बहुमत नपुगेपछि मुख्यमन्त्री गुरुङले काम चलाउ सरकारको मुख्यमन्त्रीको रूपमा सरकारको नेतृत्व गर्नेछन् । यता कांग्रेसका प्रदेश सभा सदस्य विष्णु लामिछाने पनि संसद् भंगको सम्भावना रहेको बताउँछन् । ‘संसद भंग हुन पनि सक्छ । यस विषयमा हामीले पनि अपुष्ट खबर सुनेका छौँ,’ उनले इकागजसँग भने । 

बिहीबार तय भएको विश्‍वासको मत लिने कार्यसूचीमा विपक्षमा मतदान गर्न प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले ह्वीप जारी गरेका छन् । सबै दलका संसदीय दलका बैठकले ह्वीप जारी गरेका हुन् । 


 


 


Author

सन्तोष अधिकारी

अधिकारी राजनीति तथा अन्य समसामयिक विषयमा कलम चलाउँछन् ।


थप समाचार
x