राजनीति

प्रचण्डका फेरिएका सत्ता सारथी

दुर्गा आचार्य |
फागुन २२, २०८० मंगलबार १६:२६ बजे

काठमाडौँ- फागुन लागेपछि तापक्रम उकालाे लाग्दै गर्दा मुलुकको राजनीतिक माहोल पनि तातिएको छ । आइतबार साँझ चिसिएको रातमा तातिएको राजनीतिक घटनाक्रमले देशलाई तरंगित बनायो ।

फागुन २० गते साँझ कम्युनिष्ट एकता गर्ने सहमतिसहित एमाले अध्यक्ष केपी ओली र प्रचण्डबीच राजनीतिक सहमति भएको कुरा सार्वजनिक भयो । सोमबार बिहानैदेखि बालकोट र बुढानिलकण्ठका दूत बालुवाटार पुगे । जसको दौडधूप शक्तिमा रहने नै थियो । बुढानिलकण्ठबाट पूर्णबहादुर खड्का र कृष्ण सिटौला पुगे । ओली पनि बिहानै मन्त्रीको नामसहित बालुवाटार पुगेका थिए ।


भेटघाटमा भएका कुराकानी समाचार बने । समाचारले धेरैलाई अनुमान लगाउने बनायो । अब सत्ता गठबन्धन के हुन्छ र सरकारमा को जान्छ र को बाहिरिन्छ ? सबैको जिज्ञासा बन्यो । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले सोमबार मध्यान्ह लागेपछि सत्ताको सारथी फेरे । काँग्रेससँगकाे ११ महिने सहयात्रापछि सहयात्री फेरेनन् मात्रै तीन नयाँ मन्त्रीको शपथसमेत गराए । 

गत वर्ष ०७९ पुस १० गते ओली र प्रचण्डले सत्ता सञ्चालनका लागि सहमति गरेर नयाँ आकार दिएका थिए । त्यो आकारले पनि लामो समयसम्म आयु लिन सकेन । दुई महिना नबित्दै ओलीसँग प्रचण्डले सम्बन्ध विच्छेद गरे । राजनीतिमा खेलाडी बनिसकेका प्रचण्डले मैदानको कोर्ट फेरे । ०७९ चैतमा काँग्रेससँग मिलेर पुनः सरकार विस्तार गरे । एक वर्षसम्म सहकार्य गरेका प्रचण्डले देउवालाई पाखा लगाएर ओलीको काखमा बस्न पुगे ।

एक वर्षअघि पाएको धोका बिर्सेर एकाएक ओली प्रचण्डसँग कुम जोड्न सहमत भए भन्ने कुरा पत्यार गर्नै मुश्किल थियो । तर, राजनीतिमा स्थायी शत्रु र मित्र कोही हुँदैनन् भने झै अहिले प्रचण्ड र ओली सत्ता साझेदारी गर्न तयार भइसकेका छन् । 

नेपाली काँग्रेससँग सत्ता गठबन्धन तोडेर प्रचण्डले नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादीसँग सत्ता सहकार्य गर्ने सहमति गरेका छन् । उनीहरूबीच संघलगायत प्रदेश, राष्ट्रिय सभा अध्यक्ष र आसन्न उपनिर्वाचनमा भागबण्डा मिलाएर जानेलगायत आठ बुँदे सहमति भएको छ । 

सुशासन, विकास र मुलुकको समृद्धिका लागि समान सोच राख्ने दलहरूबीच सहकार्य आवश्यक रहेको महसुस गरी संयुक्त सरकार गठन गर्ने सहमति भएको चार दलबीच भएको सहमति पत्रमा उल्लेख छ । 

सहमति पत्रमा जे उल्लेख भए पनि नयाँ सत्ता गठबन्धनले सत्ताका लागि दलहरू जे पनि गर्न तयार रहेको पुनः पुष्टि गरेको छ । एमाले अध्यक्ष ओली र माओवादी केन्द्र अध्यक्ष प्रचण्डले बृहत् कम्युनिष्ट एकता गरेर सँगै जाने भनेर पुन: सत्तामा सहकार्य गरेको बताएका छन् । तर, उनीहरूसँगै सत्ता साझेदार गरिरहेको रास्वपाको सिद्धान्त कम्युनिष्ट होइन । त्यसैले यो सत्ता गठबन्धन कम्युनिष्ट एकताका लागि मात्रै होइन सत्ता एकताका लागि भन्ने पुष्टि हुन्छ ।

पुरानो सत्ता साझेदार काँग्रेसले भने प्रचण्डको यो कदमलाई धोका भनेको छ । काँग्रेस सभापति शेरबहादुर देउवाले सोमबार पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकमा प्रचण्डले धोका दिएको बताएका थिए । देउवाले आफूसँग कुनै छलफल नगरी सत्ता गठबन्धन फेरबदल गरेको आरोप प्रचण्डलाई लगाए । अन्ततः काँग्रेसबाट सरकारमा सहभागी भएका मन्त्रीहरू बाहिरिए ।

प्रचण्डले जसरी ओलीलाई धोका दिएर देउवासँग काँध मिलाए त्यसैगरी देउवालाई धोका दिएर अहिले ओलीसँग काँध मिलाएका छन् । सत्ता जोगाउन प्रचण्डले खेलेका यस्ता खेलहरूले राजनीतिमा सक्षम खेलाडी भएको पुष्टि गर्छ । प्रचण्डमा उत्साह देखिए पनि जनतामा भने निराशा देखिएको छ । देशमा सधैं राजनीतिक अस्थिरता हुन्छ भन्ने प्रमाणित भएको छ भने दलहरू प्रतिको अविश्वासलाई समेत बढावा दिएको छ । सत्ता स्वार्थका लागि दलहरू जे पनि गर्न तयार हुन्छन् भन्ने पुनः प्रमाणित भएको छ । 

नेपाली काँग्रेसका नेता डाक्टर शेखर कोइरालाले राजनीतिमा गठबन्धनमा तोडिनु सामान्य भएकाे बताए । तर, हिजोको घटना सामान्य नभएको उनकाे भनाइ छ । 'राजनीतिमा गठबन्धन बन्नु, तोडिनु र फेरि बन्नु सामान्य हो तर हिजोको घटना सामान्य होइन,' कोइरालाले भने । उनले नेकपा माओवादी केन्द्रलाई संकेत गर्दै सत्तासँग गठबन्धन गर्नु काँग्रेसलाई महँगो सावित भएको उल्लेख गरे । 

नेपाली काँग्रेसका नेता भुपेन्द्रजंग शाहीले पछिल्लो घटनाक्रमबारे टिप्पणी गर्दै गणतन्त्रका जोकर, राजनीतिक अस्थिरताका पतित पात्र र सत्ताका फोहोरी खेलाडीहरूकाे जति निन्दा गरे पनि कम हुने बताए । काँग्रेसका बहुमत महासमिति सदस्यहरूको भावनाविपरीत गठबन्धनलाई निरन्तरता दिने निर्णय दिनु गलत भएको र पछिल्लो राजनीतिक घटनाक्रमले यसलाई पुष्टि गरेको उनले बताए । ‘प्रचण्डको छेपारो प्रवृत्तिले लाज पनि लजायो,’ उनले भने ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले २ वर्षमा ३ पटक गठबन्धन परिवर्तन हुनु सत्ता केन्द्रित फोहोरी राजनीतिको चरमोत्कर्ष भएको बताएका छन् । ‘यो संघीय लोकतन्त्रको विकृत रूप हो,’ उनले भने, ‘२०६३ पछि अवलम्बन गरिएको मार्गचित्र असफल प्रमाणित भएको छ । नेता र दलहरूप्रति जनतामा चरम वितृष्णा छ ।’ भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट मुक्ति आवश्यक भएको उनले बताए ।   

विवेकशील साझाकी अध्यक्ष समीक्षा बास्कोटाले पनि पछिल्लो राजनीतिक घटनाक्रमबारे टिप्पणी गरेकी छिन् । उनले नयाँ पुराना सबै सरकारकै खेलमा भन्दै टिप्पणी गरेकी हुन् । उनले भनेकी छिन्, ‘काम कुरो एकातिर कुम्लो बोकी बालुवाटारतिर ।’

यता, नेपाली काँग्रेसका नेता मीनेन्द्र रिजालले काँग्रेसलाई माओवादीबाट मुक्ति मिलेको टिप्पणी गरेका छन् । माओवादीसँग गठबन्धन गर्न नहुने विचार राख्दै आएका रिजालले अबको राजनीति अवसरमय हुने बताए । 

पुराना दलहरूबारे आम मानिसलाई थाहा भएपनि सत्तारोहणमा रास्वापाको ‘कमब्याक’ लाई धेरैले सशंकित भएर हेरेका छन् । मिसन ०८४ मा रहेको रास्वपा सत्ता गठबन्धनमा गृह मन्त्रालयको बार्गेनिङमा छ । 

गृह मन्त्रालयसहित चार मन्त्रालय पाउनै पर्ने उसको 'बटमलाइन' छ । रास्वापाका उपसभापति स्वर्णिम वाग्लेले देशलाई समृद्धितर्फ लैजान सरकारमा जानैपर्ने अवस्था आएको बताएका छन् ।   

नयाँ दलप्रति जनताको आशा अथाह छ । जनताले रास्वपालाई काँग्रेस, एमाले र माओवादीको विकल्पको रूपमा हेरेका छन् । पुराना दलहरूले सत्ता स्वार्थका लागि जे पनि गर्ने भएपछि गत वर्षको निर्वाचनमा जनताले रास्वपालाई विश्वासको मत दिएका थिए । पुराना पार्टीको गढ मानिएको ठाउँहरूमा पनि रास्वपाले आफ्नो विजयको झण्डा गाड्न सफल भएको थियो । 

रास्वापाकै केन्द्रीय सदस्य गणेश कार्कीले पनि रास्वपाको सत्तारोहणबारे असन्तुष्टि जनाएका छन् । आफ्नै पार्टीलाई असहमतिपत्र लेख्दै उनले पार्टीले बोकेको सबै सिद्धान्तलाई किनारा लगाएर वर्तमान सरकारमा जानु उचित नभएको बताए । उनले वर्तमान प्रधानमन्त्री प्रचण्डलाई रास्वापाले समर्थन गरेको कुरा सामाजिक सञ्जाल र समाचारबाट थाहा पाएको बताए । 

‘सत्तास्वार्थकै कारण जोसँग पनि मिल्ने र छुट्टिने गरेको देखेर जुन जोगी आए पनि कानै चिरेको भनेर आम नागरिकहरूको निराश मनस्थितिमा हामी अलग छौं अलग रहने छौं भनेर मत मागेका थियौँ,’ उनले भने, ‘आफ्नै कान आफैँले किन चिर्न थाल्यौँ यो प्रश्नको जवाफ मसँग छैन ।’ 

पार्टीले वाचापत्रमा लेखेका मुद्दाहरू अब के हुन्छ उनले प्रश्न गरेका छन् । रास्वपाको वाचापत्रमा ललिता निवास जग्गा किनबेच काण्ड, वाइड बडी विमान खरिद काण्ड, कोभिड भ्याक्सिन काण्ड, यति र ओम्नी काण्ड, प्रिन्टिङ प्रेस खरिदको ७० करोड काण्डलगायत काण्डबारे छानबिन गर्ने उल्लेख छ ।


Author

थप समाचार
x