राजनीति

हेटौँडा र उदयपुर सिमेन्ट उद्योगलाई सहज रूपमा सञ्चालनमा ल्याउन उपायहरूको खोजी गरिने

इकागज |
चैत ८, २०८० बिहीबार १६:२३ बजे

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले हेटौँडा र उदयपुर सिमेन्ट उद्योगलाई सहज रुपमा सञ्चालनमा ल्याउन आवश्यक उपायहरूको खोजी गरिने बताएका छन् ।

बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्री भण्डारीले अहिले उक्त उद्योगलाई सरकारले सहज रूपमा सञ्चालन गर्ने अवस्था र बन्द गर्ने पनि अवस्थामा नरहेको भन्दै सञ्चालनमा ल्याउन आवश्यक उपायहरूको खोजी गरिने बताएका हुन् । आयातमुखी व्यापार घाटाहरूलाई न्यूनीकरण गर्न पनि उद्योगहरूलाई सहज रूपमा सञ्चालन गर्नुपर्ने अवस्था रहेको उनले बताए ।


मन्त्री भण्डारीले उक्त उद्योगलाई सञ्चालनमा ल्याउन, नाफामुखी बनाउन हरसम्भव प्रयास गर्ने जिकिर गरे । उनले उदयपुर र हेटौँडा सिमेन्टको गुणस्तर तथा बजारीकरणमा कुनै कमी नभए पनि त्यसले बेहोर्नुपरेको घाटाका बारेमा अध्ययन गरेर एउटा निर्णयमा पुग्ने बताए ।

सरकारले सञ्चालन गरेका उद्योगलाई थप बलियो बनाउँदै विदेशिएको जनशक्तिलाई स्वदेशमै रोजगारीको सिर्जना गर्ने मन्त्री भण्डारीको भनाइ छ ।

बैठकमा समिति सदस्यहरूले निजी क्षेत्रले सञ्चालन गरेका सिमेन्ट उद्योग नाफामा जाने तर सरकारले सञ्चालन गरेका सिमेन्ट उद्योग घाटामा जाने अवस्थाको अन्त्य हुनुपर्ने धारणा राखेका थिए । समिति सभापति अब्दुल खानले उदयपुर र हेटौँडा सिमेन्ट उद्योगका सम्बन्धमा उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयबाट समितिमा प्राप्त प्रतिवेदनमा उल्लेख भए अनुसार समयसापेक्ष क्षमता बढाउने र बजारसँग प्रतिष्पर्धी बनाएर सुधार गरेको खण्डमा उक्त उद्योगहरू सहज रूपमा सञ्चालन हुन सक्ने बताए । 


Author

थप समाचार
x